गोकुलगंगा गाउँपालिकाको बजेट करिब ५६ प्रतिशत खर्च

 सोमवार, जेष्ठ १, २०८० | onlinenews

रामेछाप–चालु आर्थिक वर्षको लागि ६५ करोड, २९ लाख ४६ हजार बजेट विनियोजना गरेको गोकुलगंगा गाउँपालिकाले ९ महिनामा करिब ५६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले चालुतर्फ २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ र पूँजिगततर्फत १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ बजेट खर्च भएको जानकारी दिए । गाउँपालिकाले चालु र पूँजिगत दुबैतर्फ गरी ३६ करोड ५२ लाख ९० हजार ४ सय रुपैयाँ खर्च गरेको छ । यो रकम कुल बजेटको ५५.९४ प्रतिशत हो ।
गोकलुगंगा गाउँपालिकाले ससर्तसहित शिक्षामा १ करोड ८८ लाख बजेट ल्याएकोमा १ करोड १४ लाख ३१ हजार ६ सउ ६१ रुपैयाँ खर्च गरेको छ । सर्सतसहित पूर्वाधारमा २२ करोड ४९ लाख ५ सय ६६ रुपैयाँ बजेट विनियोजना भएकोमा ९ महिनामा ११ करोड ५५ लाख ९९ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । त्यसैगरी कृषिमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ लाख ३९ हजार ३ सय ६० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रतिनिधिहरु वडा–वडामै गएर योजना सम्झौता गरी समयमै कार्यान्वय गरेकाले ठूला र क्रमागत बाहेकका योजनाहरु जेष्ठ महिनाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको पनि थापाले बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार, सुन्दर समुन्नत र समृद्ध गोकुलगंगा निर्माण भन्ने नारालाई साकार पार्न गाउँपालिका लागिपरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले, मिनरलवाटर, चाउचाउ फ्याक्ट्री, प्रेस लगायतका उद्योग स्थपना गर्ने भनि बजेट विनियोजन गरे पनि योजनामै सीमित सेवाग्राहीले गुनासो गरेका छन् । गाउँपालिकाका कर्मचारी समयमै कार्यालय नआउने, कार्यालय समयमा कर्मचारी कार्यालयमा नभेटिदा सेवाग्राहीले सास्ती खेप्नु परेको पनि गुनासो गरेका छन् ।
गोगुकलगंगा गाउँपालिकामा रहेका सिद्धार्थ बैँकले उपभोक्तलाई दुःख दिने काम गरेको स्थानीयले गुनासो गरेका छन् । एउटा खाता खोल्न पनि बैँकले १ हप्ता लगाइदिंदा उपभोक्ता मारमा परेको गुनासो आएको छ । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले आफूहरू पालिकालाई समृद्ध बनाउने यात्रामा रहेको बताए । कर्मचारीहरु समयमै कार्यालय नआउने र कार्यालय समयमै बाहिर हिड्ने गरेको स्वीरकार गर्दै कर्मचारीलाई सचेत गराइसकिएको बताए । अनुदानका कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै अध्यक्ष खड्काले आगामी दिनमा पुनर्विचार गरेर योजना तय गर्ने बताए । अध्यक्ष खड्काले स्थानीय कला, धर्म, धार्मिक स्थल, सडक, शिक्षा, पर्यटन, खानेपानी, कृषि लगायतमा गाउँपालिकाले प्रथामिकता दिएर काम गरिरहेको बताए ।

प्रतिकृया

Add