लक्ष्मी आयल स्टोरलाई २ लाख जरिवाना

 सोमवार, जेष्ठ ८, २०८० | onlinenews

रामेछाप– पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मनलाग्दी मूल्यमा बिक्री वितरण गर्ने लक्ष्मी आयल स्टोस मन्थलीलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले आयल स्टोरले मनलाग्दी मूल्य लिनुका साथै लापरबाही रुपमा बिजक जारी गरेको फेला पारेपछि कारबाही गरेको हो ।

आयल स्टोरका सञ्चालकले कृत्रिम अभाव सृजना गरी मनलाग्दी मूल्य लिएर गैरकानुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुन अनुसार २ लाख रुपैयाँ जरिवाना गरिएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए । गैरकानुनी रुपमा बढी मूल्य लिएर बिक्री वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि अनुगमन गरिएको पनि सहायक प्रजिअ घिमिरेले बताए ।

यस आयल स्टोरको बरेमा सूक्ष्म अध्ययन भइरहेको थियो । अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुष्टी भएपछि जरिवाना गरिएको हो, सहायक प्रजिअ घिमिरेले भने । जिल्ला सदरमुकाम मन्थलीमा रहेका तीन वटा पेट्रोल पम्पले ३÷४ दिनदेखि पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरिरहेको र लक्ष्मी आयल स्टोरले गैरकानुनी रुपमा बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएको प्रशासनले जनाएको छ । देशभरी कहिपनि पेट्रालियम पदार्थ अभाव नभएको पनि सहायक प्रजिअ घिमिरेले बताए । लक्ष्मी आयल स्टोर्सका सञ्चालक केशब घिमिरेले भने आफूले आयल निगमले निर्धारण गरेकै मूल्यमा बिक्री गरेको बताए । पेट्रोलियम पदार्थमा मिसावट गरेको पाइएपछि सो आयल स्टोर्स २ वर्ष पहिले पनि कारबाहीमा परेको थियो ।

प्रतिकृया

Add