चुरोट खाने पैसा बचाएर खुत्रुकेमा

 शुक्रबार, जेष्ठ १२, २०८० | onlinenews

निलकण्ठ नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्साल थापाको सहयोगमा: सागर बिक्रम बस्नेत


धादिङ-टिकाकुमारी थापाले गएको फागुन २९ गते खुत्रुके फुटाइन् । एक महिनामा खत्रुके फुटाउँदा ४ हजार ५ सय जम्मा भएको थियो । खुत्रुके फुटाएर हेर्दा जम्मा भएको सबै पैसा टिकाकुमारीले तिन पटकसम्म गनिन् । पैसा गन्दा टिकाकुमारीको अनुहारको चमक जम्मा भएको भन्दा धेरै मुल्यको थियो । किनकी त्यो पैसा टिकाकुमारीले चुरोट किनेर खाने खर्च वापतको थियो ।
धादिङ जिल्ला निलकण्ठ नगरपालिका–२ कि टिकाकुमारी थापा तिनघरे काफ्ले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि चुरोट खान छोडेर चुरोटमा हुने दैनिक खर्च खुत्रुकेमा बचत गर्न थालिन् । उनी दैनिक १ सय ५ रुपैँयाँको चुरोट खान्थिइन् । जब उनले रातो खर्चको बारेमा थाहा पाइन् । रातो खर्चले आजका लागि पैसामात्र होइन भविष्यका लागि स्वास्थ्यमा समेत समस्या ल्याउँछ भन्ने बुझिइन् अनि चुरोटमा हुने खर्चलाई बचाउन थालिन् । आजभोली उनले पहँेलो खर्चलाई पनि घटाउन थालिन् । उनलाई आजकल परिवारलाई धनी बनाउन परिवारमा हुने स(साना खर्चलाई नियन्त्रण गर्न सक्नु पर्ने रहेछ भन्ने लाग्छ ।
वित्तीय साक्षरता कक्षामा जान थालेपछि टिकाकुमारीले रातो खर्च घटाएकी मात्र छैन उनले आफ्नो स्वास्थ्य समेत बिग्रन दिएकी छैन । जुन कुराले मेरो आर्थिक अवस्था अनि स्वास्थ्य समेतलाई असर गर्छ भने म किन त्यसको लतलाई नभुल्ने त्यही भएर मैले मेरो नराम्रो बानीलाई त्यागेकी हुँ टिकामायाले भनिन् ।


उमेरले ४८ बर्ष पुगे पनि वित्तीय साक्षरता कक्षामा जान थालेपछि उनले घरमा सानो किराना पसल राखेकी छन् । वित्तीय साक्षरता कक्षामा बिदेशबाट आउने पैसाको मात्र भर पर्न हुन्न भन्ने थाहा पाएपछि पसल सुरु गरेकी हुँ टिकाकुमारीले भनिन् । हामीले पनि घरमा बसेर पैसा आउने काम गर्न सक्छौं भनेपछि हौसला मिलेको बताइन । घरमै भएको पसलबाट दैनिक ५ सय भन्दा बढीको सामान बिक्री हुने र १ सय ५० रुपैँयासम्म नाफा हुने गरेको बताउछिन् । उनको पसलमा दैनिक घरमा खपत हुने, साबुन, नुन, विस्कुट, चाउचाउ लगायतका सामाग्रीहरु बिक्रीका लागि राखिएको छ । भर्खरै ११ सत्रसम्म छलफल भएको तिनघरे काफ्ले वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा टिकाकुमारी जस्तै अन्य सहभागीहरुले पनि पारिवारिक बजेट बनाउन र आम्दानीको श्रोतहरु खोज्न थालेका छन् ।
साप्ताहिक रुपमा नविराई वित्तीय साक्षरता कक्षामा जाने टिकाकुमारीलाई भविष्यको लागि बचत गर्नुपर्ने रहेछ भन्ने सोच आएको छ । तर बचत गर्नका लागि आफ्ना गलत खालका बानीहरु त्याग्न जरुरी छ भनिछन् उनी । आजको कमाई भोली नहुन सक्छ । आजको जस्तो सुख भोली नहुन सक्छ त्यसैले कमाएकै समयमा बचत गर्न सकिएन भने कमाउनु मात्रै ठूलो कुरा नहुने उनकोे अनुभव छ । परिवारमा पैसा आउने एउटै श्रोतको भर गरियो भने आफूले देखेको सपना पूरा नहुने रहेछ भन्ने महसुस गरेकी छन् टिकाकुमारीले । त्यही भएर उनलाई घरमा बाख्रापालन गर्न मन लागेको छ । घरमा चलाएको किराना पसलसँगै बाख्रा पालन गरेर आफ्नो खर्चको लागि छोरीहरुको मुख नताक्ने उनको बिचार छ ।
टिकाकुमारीको एउटी छोरी जापानमा काम छिन् । अर्की छोरी युएइमा जाने प्रक्रियामा छिन् । जापान बस्ने छोरीको कमाई पनि राम्रै छ; भन्ने थाहा छ उनलाई । विदेशमा कमाउन दुःख हुन्छ भन्ने कुरा उनले कक्षामा आएर थाहा पाएकी छन् । विदेशमा कमाउनेलाई दुःख हुन्छ भन्ने जानेपछि आजभोली जापानमा काम गर्ने छोरीलाई गर्ने व्यवहार पनि फेरिएको छ उनको ।


सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाले टिकाकुमारी जस्ता विदेशको कमाइमा भर पर्ने धेरैले पैसाको महत्व बुझेका छन् । कक्षामा आउनेहरुले विदेशको कमाइलाई जीविका चलाउने स्रोतको रुपमा नभइ आम्दानीको विकल्पको रुपमा लिन थालेका छन् । घरमा बस्नेले पनि घरखर्च चलाउन केही पेशा गर्नसके विदेशमा कमाएको पैसा बचत हुने कुरा महसुस समेत गरेकी छन् । कमाउनका लागि जुन देश गएपनि कमाउन भने त्यति सजिलो छैन भन्ने समेत बुझेका छन् कक्षाका सहभागीहरुले ।

प्रतिकृया

Add