पीडितमाथि हाइड्रोपावरको दादागिरी

 शुक्रबार, जेष्ठ १९, २०८० | onlinenews
Share this

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा रहेको लिखु–२ जलविद्युत् आयोजनाले स्थानीयमाथि दमन गर्दै आएको छ । परीक्षणको क्रममा रहेको लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएर उमाकुण्ड गाउँपालिका–१ पेकनासका ४२ घर परिवार पहिरोको उच्च जोखिममा परेको छ । तर हाइड्रोपावर भने स्थानीयको सुरक्षाको बारेमा सोच्नु त कता हो कता उल्टै स्थानीयमाथि दादागिरी देखाइरहेको छ । हाइड्रोपावरले सुरुङमा पानी हालेदेखि कहिल्यै पानी नउम्रिने ठाउँबाट पानी निस्किएर गाउँबस्ती नै जलमग्न भएपछि त्रासले स्थानीयको रातिमा निद्रा न दिनमा भोक भएको छ । तर हाइड्रोपावर भने मूल फुटेको भनि पञ्छिदै आएको छ । खानेपानीको समेत हाहाकार भएको त्यस ठाउँमा एक्कासी जताततै पानी निस्किएपछि राति बास बस्न लिखु नदी तरेर सोलुखुम्बु जिल्लाको किङ्जा जाने गरिएको स्थानीय यमबहादुर घिमिरेले बताए । उनले भने “घरभित्र समेत पानी उम्रिएर गाउँ नै जलमग्न भएको छ, कतिखेर गाउँ उम्लिएर लिखु नदिमा मिल्ने हो थाहाँ छैन, १९ दिनदेखि सोलुखुम्बु जिल्ला तरेर ग्वालीमा रात काट्दै आएका छौँ ।” हाइड्रोपावरले स्थानीयमाथि बलमिचाइँ गरेको उनको भनाइ छ । सुरुङबाट चुहिएको पानीले ठाउँ–ठाउँमा जमिन बग्नुका साथै घरको कुलेसो र आगनमा समेत पानी उम्रिएको छ । बिहान खाना पकाएर खान घरमा आउने र राति सुत्न सोलुखुम्बु जाने गरेको मिठु कार्कीले बताइन । उनले भनिन् ‘घरमाथिबाट जमिन भासिएको छ, डरले राति सुत्न अन्तै जाने गरेका छौँ, हाइड्रोपावरले हामीलाई गाँस न बास बनायो ।’


गाउँनै जलमग्न हुँदा पनि हाइड्रोका कर्मचारीले सुरुङको पानी होइन, पानीको मूल फुटेको हो भनेर पञ्छिदै आएको अर्की स्थानीय बिमला कार्कीले गुनासो गरिन् । ‘खानेपानीको लागि २० एमएमको पाइप त नदिने हाइड्रोपावरले सुरुङबाट निस्किएको पानी नभएको भए रातारात ट्यांकी बनाएर पाइपबाट पानी कटाउँथ्यो ? हामी सोझासिधा मान्छेलाई हेपेको हो’ उनले भनिन् । हाइड्रोपावरले कतिपय मान्छेलाई घरबारविहीन समेत बनाएको उनको भनाइ छ । त्यस्तै रीता नेपालीले भनिन् ‘यहाँ खानेपानीको समेत हाहाकार छ, गाउँलेहरुले २२ दिन श्रमदान गरेर बल्लबल्ल २० एमएमको पाइपमा खानेपानी ल्याएका छौँ, अहिले पनि सबै घरमा खानेपानी पुगेको छैन, यसरी मूल फुट्ने भए हामीले अन्तबाट खानेपानी ल्याउनु पर्ने नै थिएन नि । सुरुङको पानी चुहिएको होइन भन्ने पार्नलाई हाइड्रोपावरका कर्मचारीहरुले नाटक गरिरहेका छन् ।’
जताततै पानी उम्रिएपछि खन्ने बेला भएको आलु सबै बारीमै कुहिएर गएको अलैची नेपालीले बताइन । उनले भनिन् पानी धेरै भएर आलू, अलैची र मकै सबै नष्ट भयो ।’ ‘पानीले गाउँ बगाएर कतिबेला लिखुमा मिलाउने हो पत्तो छैन, अन्त जाने ठाउँ छैन, अब त बाँचिएला भन्ने आश नै मरिसक्यो, पहिरोबाट बाँचिए छ भने पनि खान नपाएर मरिन्छ होला उनले भनिन् ।’
रातारात ठाउँ–ठाउँमा रिर्जभ ट्यांकी निर्माण गरी पाइपको माध्यमबाट सुरुङबाट निस्किएको पानीलाई बस्ती छलाउन खोजिए पनि बस्ती पहिरोको उच्च जोखिममा छ ।


स्थानीयले सुरुङको पानी खोल्नु पर्ने र बस्ती सुरक्षित ठाउँमा सार्नु पर्ने माग गर्दै १९ दिनदेखि आन्दोलन गर्दै आएका छन् । तर पनि हाइड्रोपावरका कर्मचारी सुने–नसुने झै गरिरहेको छ । स्थानीयलाई परेको समस्याका बारेमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रतिनिसभाका सांसद कान्छाराम तामाङ समेत घटनास्थलमा पुगेर छलफल गरेका छन् भने उमाकुण्ड गाउँपालिका प्रमुख, उपप्रमुख लगायतका प्रतिनिधिहरु पटक–पटक त्यस ठाउँमा पुगेर स्थानीयको माग सम्बोधन गर्न हाइड्रोपावरलाई आग्रह गर्दै आएका छन् । बुधवार प्रतिनिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का लगायतका जिल्ला स्तरीय टोली घटनास्थल पुगेर छलफल गरेको छ । प्रतिनिधिसभा सदस्य सहितको टोली घटनास्थल पुग्दा पनि हाइड्रोपावरका प्रतिनिधि हाइड्रोपावरद्धारा सिर्जित समस्या समाधान गर्न अनुदार देखिए । उत्पन्न समस्या, जिल्ला प्रशासन कार्यालय, हाइड्रोपावर र विद्युत् विकास विभाग बसेर समाधान गर्नु पर्ने भन्दै हाइड्रोपावरका प्रतिनिधि इन्द्रजित कार्की पञ्छिए । कार्कीले सुरुङको पानी बस्तीमा निस्किएको स्वीकार गरेपनि स्थानीयको समस्या समाधान गर्न नसक्ने भन्दै पञ्छिएका छन् ।


सुरुङबाट पानी चुहिएको विषयमा ९ दिनदेखि अध्ययन गरिरहेका विज्ञ समेत दोधारे कुरा गरिरहेका छन् । बस्ती जलमग्न भएर कतिबेला बग्ने हो भन्ने स्थानीयमा त्राहि त्राहि छ तर विज्ञ बस्तीको जोखिमताबारे केहि बोल्नै चाहँदैन् ।
सुरुङबाट निस्किएको पानीको कारण बस्ती क्षति भएमा र स्थानीय विपदमा परेमा हाइड्रोपावरले सम्पूर्ण जिम्मेवारी लिनु पर्ने प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले चेतावनी दिए । सुरुङको पानी सुकाएर सुरुङबाट पानी चुहिए, नचुहिएको एकीन गर्न पनि हाइड्रोपावरका प्रतिनिधिलाई आग्रह गरेका छन् । बुधवारको छलफलमा के निर्णय भयो भन्ने पत्रकारको जिज्ञासामा– सांसद तामाङले भने ‘हाइड्रोपावर स्थानीयको समस्या समाधान गर्न तयार नभएपछि कुनै पनि निर्णय हुन सकेन्, तत्कालै हाइड्रोपावरका प्रमुखलाई जिल्ला प्रशासन कार्यालय रामेछापमा झिकाएर छलफल गर्ने कुरा भएको छ ।’ यस विषयमा जिल्ला प्रशासन कार्यालयमै छलफल हुन्छ उनले भने ।

Share this

प्रतिकृया

Add