वित्तीय साक्षरताले ‘पैसाले, पैसा कसरी कमाउँछ’ भन्ने सिकायो

 शनिबार, जेष्ठ २०, २०८० | onlinenews

चौतारा साँगाचेकगढी नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सविता पाख्रिनको सहयोगमा सागर बिक्रम बस्नेत


सिन्धुपाल्चोक– बिमला श्रेष्ठ उमेरले ३१ बर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी उनको १ छोरा, १ छोरी सहित ४ जनाको परिवार छ । बिमलाको घर धान्ने मुख्य आधार बिदेशको कमाइ नै थियो, केहि समय अघिसम्म । तर आजभोली बिमलालाई पनि ‘दुःख गर्नुपर्छ, दुःख गरे सुख मिल्छ’ भनेझै लाग्न थालेको छ ।
सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलो सिरुवारीको गैरीटोलमा बिमलाले पक्की घर बनाएकी छन् । घरका करेसामा लटरम्मै फूल फुलेका छन् । सडकसँगै जोडेर बनाएको बिमलाको घरमा श्रीमान श्रीमतीको पसिना मिसिएको छ । त्यहि घरमा बिमला र २ छोराछोरी बस्छन् । सासु सुसुरा उनको घरभन्दा अलि पर बस्छन् ।
बिमलाका ससुरा पनि बिदेशमा काम गरेरै फर्किका हुन् । अहिले श्रीमान् गएका छन् । उनी हुर्कदै गरेका छोरालाई विदेश पठाउन नपरोस् भनेर  छोराछोरीलाई राम्रो शिक्षा दिने र कुशल अभिभावक बनेर बस्नु भएको छ ।
बिमलाको श्रीमान साउदीमा छन् । उनको श्रीमान विदेश गएको १० वर्ष पूरा भयो । श्रीमानलाई बिदेश पठाउने मन थिएन । कमाउने बाटो नपाएपछि विदेशिनु परेको उनले दःखेसो पोखिन् । श्रीमानले पैसा पठाउनु भएन भने घरखर्च समेत चल्ने अवस्था थिएन, उनले भनिन् । छोराछोरीको शिक्षा दिक्षा, खेतीपाती, दैनिक घरखर्च सबैमा श्रीमानको परिश्रम खर्च हुन्थ्यो ।


बिमलाको गाउँमा सामी हेल्भेटास तथा डिप्रोक्स नेपालको प्राविधिक सहयोग, स्थानीय सरकारको नेतृत्व र जनहित ग्रामिण सेवा समितिको सहजीकरणमा जिल्लामा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको थियो । कार्यक्रमले कमाउन विदेश गएकाले विदेशबाट पठाएको पैसा बुझिलिने व्यक्तिको सहभागीतामा वित्तीय साक्षरता कक्षा चलाउने भयो । श्रीमान विदेश भएका कारण बिमलाले पनि कक्षामा सहभागी हुने अवसर पाइन् । सुरुमा त कक्षामा गएर पनि के सिकिएला र ? भन्ने नलागेको होइन उनलाई । तर सहजकर्ताले कक्षाको बारेमा बुझाएपछि दैनिक रुपमा कक्षामा जान लागेको बताउछिन् उनी । कक्षामा सहभागि भएपछि आम्दानी र खर्चको लेखाजोखा र विदेशमा भएका आफन्तको कागजपत्र किन आफ्नो साथमा पनि राख्नुपर्छ भन्ने कुरा बल्ल बुँझे उनले भनिन् ।
बिमला गाउँकी पढेलेखेकी शिक्षित बुहारी हुन् । उनले गाउँकै बचत समूहको नेतृत्व गरेकी छन् । उनको समूहको १४ लाख ७५ हजार कारोबार रहेको छ । तर बचत समूहले उद्यमी पहिचान गरी सहि तरिकाले पूँजी परिचालन गर्न सकेको छैन । आफू कक्षामा जान थालेपछि आफैंले पनि त सक्ने किसिमको व्यवसाय गर्नुपर्ने रहेछ भन्ने कुरा बुँझे उनले भनिन् । विदेशको कमाइ वर्षे भेल समान हुने रहेछ भन्ने कुरा महसुस गरेपछि व्यवसायमा आकर्षित भएको बताउछिन् उनी ।
बिमलाको खोरमा अहिले सानाठूला गरी १६ वटा खसी बाख्रा छन् । यस वर्षसम्म बिमलाले खसी बाख्रा बिक्री गरेर ४ लाख २५ हजार आम्दानी गरिन् । खसी बाख्रा बिक्रीबाट प्राप्त भएको आम्दानीले घर चलेको छ उनको । उनलाई दैनिक घरमा कति खर्च हुन्छ ? महिनाभरीको लागि कति खर्च आवश्यक पर्छ भन्ने कुरा प्रष्ट जानकारी छ । आफूले गरेको अनुभव उनी गाउँका अरु महिलाहरुलाई पनि सिकाउछिन् अहिले । उनले भविष्यका लागि आफूले देखेका सपना पुरा गर्ने गरी अनियमित रुपमा हुने फजुल खर्च घटाइ विदेशबाट श्रीमानले पठाएको पैसा र बाख्रापालनबाट भएको आम्दानीको केहि हिस्सा बित्तीय संस्थामा बचत गर्दै गरेकी छन् । उनले छोराछोरीको नाममा समेत बचत गरेकी छन् । छोराछोरीको नाममा गरिएको बचत ७ लाख रुपैयाँ भइसकेको छ ।
यसरी बित्तीय साक्षरता कक्षामा सहभागी भएर धेरै कुरा सिक्न र जान्न पाएकोमा उनी निकै खुसी छिन् । लेखपढ गरेको भएपनि रुपैयाँ पैसालाई राम्रोसँग चलाउन जानेको थिइन उनी भन्छिन् । कक्षामा आएर पैसाले पैसा कसरी कमाउने रहेछ भनेर जान्ने मौका पाँए बिमलाले भनिन् । मैले कक्षामा सिकेका सबै कुरा श्रीमानलाई पनि सुनाएको छु । श्रीमान पनि मेरो फेरिएको बानीले दंग हुनुहुन्छ । बाख्राको लागि आफ्नै बारी प्रसस्त घाँस रहेकाले यहि व्यवसायलाई बढाउँदै लैजाने सोच बनाउनु भएकी छन् बिमलाले ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Basanta shrestha

    सुरु देखि अन्त्य सम्म पढे खुसि लाग्यो पड्न पाउदा