वित्तीय साक्षारता कक्षाको प्रभावः बन्द भएको व्यवसाय पुनः चल्यो

 आइतवार, जेष्ठ २८, २०८० | onlinenews

कलैया उपमहानगरपालिकाका वित्तीय साक्षरता सहजकर्ता कन्हैया ठाकुरको सहयोगमा सागर विक्रम बस्नेत


“काम गर्नका लागि आत्मवल चाहिन्छ, आत्मवल बढाउनका निम्ति सहि मान्छेका सल्लाहको जरुरी हुन्छ” भन्ने बसिरन खातुनको विश्वास छ । त्यसको लागि मानिसको सोचाइ र व्यवहारमा सकारात्मक परिर्वतन ल्याउनु जरुरी हुन्छ । यस्तै भएको छ “कलैया उपमहानगरपालिको नेतृत्व, डिप्रोक्स नेपालको प्राविधिक सहयोग र दलित जनजाति उत्थान केन्द्र कलैया बाराको सहजीकरणमा सञ्चालन भएको सुरक्षित आप्रवासन कार्यक्रमबाट चलेको वित्तीय साक्षरता कार्यक्रमबाट । बसिरन खातुनको जीवनमा कक्षाले नसोचेको परिवर्तन ल्याएको छ ।
कलैया उपमहानगरपालिका–७ की ४२ वर्षीया बसिरन खातुनको २ छोरा, २ बुहारी, नाती÷नातिना र श्रीमान गरी ९ जनाको परिवार छ । उनको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । आफ्नो भएको खेत तथा श्रीमानको ज्यालादारीमा परिवार जसोतसो गुजारा चलिरहेको थियो । कम्जाोर आर्थिक अवस्थाका कारण छोरा छोरीहरुको पालनपोषण, पढाइ लेखाइको खर्च समेत धान्न हम्मे–हम्मे भइरहेको थियो बसिरन खातुनको परिवारलाई ज्याला मजदुरीले घर खर्च धान्न नसकेर जीवनदेखि हार मानिसकेकी उनले तै हुन्छ की ? भन्ने आशामा सानो किराना पसल चलाएकी थिइन् । २०७७÷०७८ मा पसल चलाएको घर नजिकको सडक बिस्तार गर्दा भत्कियो । पसलसँगै उनको गरिखाने सपना टुट्यो । पसलबाट हुने गरेको अलिअलि कमाइ पनि बन्द भएपछि बसिरन खातुन आर्थिक अभावको भुंङ्ग्रोमा परिन् । परिवारको आर्थिक अवस्था झन् कमजोर हुँदै गएपछि बसिरनका २ भाइ छोराले देश छोड्ने सोच बनाए । २ जना छोरालाई परिवारमा व्याप्त गरिबीलेसँगै बस्न दिएन । उनका छोराहरु युएई गए । छोराहरु विदेश गएपछि बसिरनको परिवारमा विदेशबाट पैसा आउन थाल्यो । विदेशबाट पैसा आउन थालेपछि उनलाई घर चलाउन सजिलो भयो ।


बसिरनको गाउँमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबिचको द्विपक्षीय सम्मmौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, हेल्भेटास नेपालको प्राविधिक सहयोग, कलैया उपमहानगरपालिकाको नेतृत्व, स्थानीय सेवाप्रदायक संस्था दलित जनजाति उत्थान केन्द्र कलैया बाराको सहजीकरणमा सञ्चालित सुरक्षित अप्रवासन (सामी) कार्यक्रम मार्फत् २०७७ चैत्र महिनादेखि वित्तीय साक्षरता कक्षा सञ्चालन भयो ।
सुरक्षित आप्रवासन सामी कार्यक्रमसँग हातेमालो गर्ने सहयोगी संस्थाले २०७८ साल पौष २२ गते शिव महिला वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा गठन गर्यो । बसिरन खातुन वित्तीय साक्षरता कक्षामा नियमित रुपमा सहभागी भइन् । वित्तीय साक्षरता कक्षामा आएपछि उनले परिवार ब्यवस्थापन, सुरक्षित विप्रेषण, वित्तीय लक्ष्य निर्धारण, बचतको महत्व, विपन्नताबाट सम्पन्नता तिर, लघु उद्यम ब्यवसाय र ब्यवसायिक योजनाजस्ता विभिन्न विषय बारे बुझ्न पाइन् ।
वित्तीय साक्षरता कक्षामा बस्न थालेपछि उनले परिवार व्यवस्थापनका क्रममा कहानेर भ्वाँङ्ग पर्छ भनेर थाहा पाइन् । बसिरन खातुन भन्छिन् –“चाह्यो भने पुरुषले मात्र होइन महिलाले पनि पैसा कमाउन सक्छन् ।” ज्याला मजदुरी, व्यापार, ब्यवसाय हामी महिला र छोरी चेलीले पनि गर्न सक्छांै । मात्र आफूमा भएका पूराना सोचहरु त्याग्नु पर्छ खातुन भन्छिन् ।
बसिरन खातुन वित्तीय साक्षरता कक्षामा व्यवसायको महत्व बारे थाहा भइसकेपछि सडक बिस्तारका कारण बन्द भएको व्यपारलाई व्यूँताउने निर्णयमा पुगिन् । नजानेरै सूरु गरेको व्यापारले पनि घरको गर्जो टार्न सकेन । खान लाउने समस्यालाई व्यापारले पनि हल गर्न नसकेका कारण उनको पसल चलाउने मन मर्यो । यसरी बन्द अवस्थामा रहेको पसलमा केही लगानी थपगरी सुरु गर्ने अठोट गरिन् । छोराहरुले बिदेशमा कमाएको पैसामा छोरा र बुहारीहरुको सपना मिसिएको छ । सपना पूरा गर्न पैसा चाहिन्छ । त्यसैले घर चलाउन विदेशको कमाइमा मात्र भर गर्नु भन्दा व्यापारबाट थप आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने लाग्यो उनलाई । बसिरलाई कक्षाको सहजकर्ताले व्यवसाय दर्ता गरेर चलाउँदा हुने फाइदाका बारेमा पनि बताए । सहजकर्ताले भनेजस्तै उनले आफ्नो व्यवसाय दर्ता गरी प्यान नंम्बर समेत लिइन् ।
बसिरनले छलफलमा सिकेका विषयहरुले आफ्नो जीवन र व्यवहारमा नसोचेको सफलता दियो । वित्तीय साक्षरता कक्षाले बसिरनलाई व्यवसाय संञ्चालन गर्ने आँट दियो । उनको आँटलाई पूरा गरिदिन छोराहरुले पनि भरोसा दिए । उनले बन्द रहेको किराना पसलमा छोराहरुले विदेशबाट पठाएको ३ लाख ५० हजार लागानी थप गरेकी छन् । लगानी थपेर सञ्चालनमा ल्याएको पसलबाट बसिरनलाई मासिक १० देखि १२ हजार आम्दनी हुन्छ । आम्दानीबाट मासिक १ हजार रुपैयाँ बचत गर्छिन् । बाँकी आम्दानीले घरखर्च र बच्चाहरुको पढाइ लेखाइको खर्च टरेको उनी बताउँछिन् । मानिस चेतना र उपयुक्त सल्लाहको अभावमा परिवार नै कति समस्यामा पर्छ र समस्याका कारण कत्ति दुःख झेल्नु पर्नेरहेछ भन्ने समेत मैले महसुस गरेको छु खातुन भन्छिन् । वित्तीय साक्षरता कक्षामा सहभागी भइसकेपछि बल्ल मेरो आँखा खुल्यो । कक्षाले मलाई ज्ञान दिएको छ । जसले मेरो दिन फिर्दै गएको छ । यो सब वित्तीय साक्षरता काक्षाको देन हो । म र मेरो परिवार एकदमै खुसी र उत्साहित छौँ, खातुनले भनिन् ।

प्रतिकृया

Add