सुनापतिका ७५ घरलाई हिलटेक

 शुक्रबार, असार १, २०८० | onlinenews

रामेछाप– सुनापति गाउँपालिका–२ दिमीपोखरीका ७५ घरधुरीलाई ५ सय लिटरको हिलटेक वितरण गरिएको छ । करेसाबारी प्रवद्र्धन गर्ने उद्देश्यले ठूलो छाँगा–सिम्पानी–चाँपश्वरा लिफ्ट सामुदायिक खानेपानी आयोजनका उपभोक्तालाई हिलटेक वितरण गरिएको हो । सामुदायिक विकास समाज (सिडिएस)द्वारा संचालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना र उपभोक्ताको लगानीमा ट्यांकी वितरण गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।
ठूलो छाँगा–सिम्पानी–चाँपश्वरा लिफ्ट सामुदायिक खानेपानीका उपभोक्ताहरुको पोषण तथा आयआर्जनमा सहयोग पुर्याउन समुदायको माग बमोजिम हिलटेक वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए । ट्यांकी पाएपछि घरकरेसाबारी तयार गरी खेर गएको पानी तरकारी, फलफूल एवं पशुचौपायाका लागि संकलन गर्न सजितो भएको उपभोक्ता मानकाजी मगरले बताए ।

यसबाट हुने आम्दानबाट पानीको महसुल बुझाउन समेत सहयोग हुने उनको भनाइ छ । हिलटेक वितरण कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले घरघरमा पानीको सुविधासँगै ट्यांकी समेत पाएकाले आम्दानी बढाउन नगदे बाली लगाउन स्थानीयलाई आग्रह गरे । परम्परागत खेती सुधार गर्दै बारीको वरिपरी फलफूल र बिचमा खुर्सानी, अदुवा, बेसारको पकेट क्षेत्र बनाए माग बमोजिमको रकम विनियोजन गर्ने समेत अध्यक्ष तामाङले बताए । अध्यक्ष तामाङले खानेपानी र ट्यांकीको अधिकतम् उपयोग गर्न समेत आग्रह गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष गीता विष्टले हिलटेक पाएपछि महिलाहरुका लागि थप सहज भएको भन्दै, यसको प्रयोगबाट आयआर्जनका काम गर्न आग्रह गरिन् । घरघरमा पानी आएर संकलन भएपछि पानीका लागि छुट्याउनु पर्ने समयको सहि सदुपयोग गर्न सुझाव दिइन् । साथै सरसफाई, पशुपालन तथा करेसाबारी मार्फत आयआर्जन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

प्रतिकृया

Add