दोस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिताको उपाधी सुनसरीलाई

 शुक्रबार, असार १, २०८० | onlinenews

 रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल नजिकै आयोजना गरिएको दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) प्रतियोगिताको उपाधी सुनसरी ‘के’ ले जितेको छ । डबलतर्फ सुनसरी जिल्ला ‘के’ ले २ मिनेट ३२ सेकेण्डमा दुरी पूरा गर्दै उपाधी जितेको हो । त्यसैगरी डबलतर्फ रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथबे २ मिनेट ३६ सेकेण्डमा दुरी पूरा गरी द्धितीय भएको छ भने सुनसरी ‘बि’ ले २ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी सिङ्गलतर्फ सुनसरी ‘ए’ ले ३ मिनेट १४ सेकेण्डमा दुरी पूरा गरी प्रथम भएको छ भने सुनसरी ‘सि’ ३ मिनेट ३२ सेकेण्डमा दुरी पूरा गरी द्धितीय र रामेछापको त्रिवेणी क्लवले ३ मिनेट ३३ सेकेण्डमा निर्धारीत दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएको बालकृषण माझीले जानकारी दिए ।
डबलतर्फ ४ जना र सिङ्गलतर्फ २ जनाको समूह रहेको थियो । डबलतर्फ प्रथम हुने समूहले ४० हजार नगद र प्रमाण–पत्र प्राप्त गरेका छन् भने द्धितीयले ३० हजार र तृतीयले २० हजार र प्रमाण–पत्र पाएका छन् ।
त्यसैगरी सिङ्गलतर्फ प्रथम पुरस्कार नगद ३० हजार र प्रमाण–पत्र रहेको थियो भने द्धितीय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँ र प्रमाण–पत्र रहेको थियो । राष्ट्रिय खेलकुद परिषद र मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल माझी उत्थान संघ रामेछाप र न्यू स्टार युवा क्लव मन्थली–६ कुनौरीद्धारा आयोजित १ दिने प्रतियोगितामा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, सर्लाही र सुनसरी जिल्लाका गरी डबलतर्फ ३५ र सिङ्गलतर्फ ३१ गरी ६६ टिम खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदसय सचिव टंकलाल घिसिङले गरेका थिए भने समापन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष चिनीमाया माझी रहेकी थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा शुक्र माझी र सदस्यमा गोपाल माझी रहेका थिए ।

प्रतिकृया

Add