बाँकीमैरी–रिठ्ठाबोट–चण्डीडाँडा सडक गुणस्तरहीन

 शनिबार, असार ९, २०८० | onlinenews

 रामेछाप- रामेछाप नगरपालिका–३ साँघुटारको बाँकीमैरी– रिठ्ठाबोट–चण्डीडाँडा सडक स्तरोन्नतिको काम गुणस्तरहीन भएको पाइएको छ । अनुगमनका क्रममा सडकको काम गुणस्तरहीन पाइएको रामेछाप नगरपालिका योजना शाखाका इन्जिनियर प्रवीण गिरीले जानकारी दिए । उपभोक्ता समिति मार्फत गरिएको सडक स्तरोन्नतिको काम गुणस्तरहीन भएको भनि सोही वडाका निवर्तमान वडा अध्यक्ष भुपालराज श्रेष्ठ लगायतका व्यक्तिले छानविनको माग गर्दै रामेछाप नगरपालिकामा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुगमन गर्न फिल्डमा पुग्दा काम गुणस्तरहीन पाइएको इन्जिनियर गिरीले बताए ।
नगरपालिकाको ४० लाख रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत सो सडक स्तरोन्नतिको काम भएको थियो । सडकको प्लम कङ्क्रिट (पर्खाल) र ढलान लगायतको काम गुणस्तरहीन पाइएको निवर्तमान वडा अध्यक्ष श्रेष्ठले बताए । सडक स्तरोन्नतिको नाममा प्राविधिक स्टिमेट विपरीत उपभोक्ता समितिले झारो टार्नेमात्र काम गरी भुक्तानी लिने तयारी गरेपछि छानविन गर्न माग गर्दै आपूmहरुले नगरपालिकामा उजरी दिएको श्रेष्ठले बताए ।
‘सडकको पर्खाल, ढलान लगायतका काम गुणस्तरहीन भएको पाइएको हो । ८ इन्च बाक्लो ढलान गर्नुपर्ने प्राविधिक स्टिमेट रहेकोमा ३ इन्च मात्रै ढलान गरेको पाइएको उनले बताए । हरेक योजनाको अनिवार्य सार्वजनिक परीक्षण गर्नु पर्ने व्यवस्था रहे पनि बाँकीमैरी–रिठ्ठाबोट–चण्डीडाँडा सडक स्तरोन्नति उपभोक्ता समितिले सार्वजनिक परीक्षणको रिपोर्ट समेत किर्ते बनाएर भुक्तानी लिन खोजेको उनको भनाइ छ ।
सडक स्तरोन्नतिको काममा अनिवार्य प्रशोधित गिट्टी, बालुवा प्रयोग गर्नुपर्ने प्राविधिक स्टिमेट रहेको भए पनि उपभोक्ता समितिका अध्यक्ष ज्ञानप्रसाद सुवेदीले कस्ले के गर्नसक्छ भन्दै स्थानीय खानीको गुणस्तरहीन बालुवा र गाउँमै कुटिएको गिट्टी प्रयोग गरिएको स्थानीय समेत रहेको नेकपा एमाले रामेछापका उपसचिव होतराज ढकालले बताए ।
उपभोक्ता समितिले गुणस्तरहीन काम गरेर बजेट सक्ने मात्रै काम गरेको देखियो, यसका बारेमा गुनासो आएपछि नगरपालिकाले फिल्ड अनुगमन समेत गरिसकेको छ, स्थानीय विकास बजेटको दुरुपयोग हुन दुःखद कुरा हो, उनले भने ।
गुणस्तरहीन काम भएको भनि स्थानीयबाट गुनासो आएपछि हामीले थप फिल्ड अनुगमन गरेका छौँ, अनुगमनका क्रममा सडकको पर्खाल र ढलान लगायतका काम प्राविधिक स्टिमेट विपरीत भएको पाइयो, ढकालले नगरपालिकाका इन्जिनियर गिरीलाई उद्धृत गर्दै भने ।
सडकमा गरिएको ढलान तथा पर्खाल फुटाएर हेर्दा प्राविधिक स्टिमेट अनुसारको प्रशोधित गिट्टी, बालुवा प्रयोग नगरिएको र मापदण्ड अनुसारको परिणाम समेत कम पाइएकाले सोही अनुसारको रिपोर्ट पेश गरिने इन्जिनियर गिरीले बताए ।

प्रतिकृया

Add