लिखु तामाकोशीको नीति तथा कार्यक्रम : दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउनेदेखि रोजगार लक्षित कार्यक्रमसम्म

 सोमवार, असार ११, २०८० | onlinenews

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरणदेखि पशुपालन व्यवसायको प्रद्र्धन गरी पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने सम्मको नीति तथा कार्यक्रम ल्याएको छ ।
लिखु तामाकोशी गाउँपालिका अध्यक्षक केशव महले ११ औँ गाउँसभामा आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०÷८१ का लागि गाउँपालिको ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ आय विवरण प्रस्तुत गरेका छन् ।
अध्यक्ष महातले कृत्रिम गर्भाधानको माध्यमबाट पशुपालन व्यवसायको प्रवद्र्धन गरी गाउँपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति लिएको बताए ।
कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरण गरी एक वडा एक उत्पादनको नीति अनुरूप पकेट क्षेत्रमार्फत व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने, सुख्खाग्रस्त भू–भागलाई सिंचाइ प्रणालीमा जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि थोपा सिँचाइ र लिफटिङ् सिँचाइको नीति लिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि रोजगारी लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै पशुपालन व्यवसायमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साँझेदारी र सहकार्य गर्ने बताइएको छ ।
वित्तीय संस्थाहरुको सहकार्यमा लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सहुलियत ऋण उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । भैसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता र डेरीमा दूध बेच्ने किसानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
त्यसैगरी कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधिमैत्री बनाउँने साथै एक वडा एक इ–लाइब्रेरी कार्यक्रम मार्फत वडाको पायक पार्ने ठाउँमा विद्युतीय पुस्तकालय सञ्चालन गर्ने कार्यक्रम रहेको छ । विद्यालय समायोजनबाट अपायक भएका विद्यालयका लागि स्कुल बसको ब्यवस्था गर्ने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा रहेको छ । प्रत्येक वर्ष एसइइमा उत्कृष्ट अङ्क ल्याउने ७ जनालाई सतप्रतिश छात्रावृत्तीमा प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।
शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक तालिमका माध्यमबाट आधारभूत तहका शिक्षकहरूको कार्य सम्पादनमा निखारता ल्याइने, स्थानीय विषयवस्तु अनुसारको शिक्षा प्रदान गर्न आधारभूत तह कक्षा ६–८ को पाठ्यक्रम निर्माण गर्ने, विद्यालय शिक्षण सिकाइलाई प्रभावकारी बनाउन प्रत्येक विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण गर्ने साथै विद्यार्थीहरूलाई व्यवहारिक सीप विकास गर्न दैनिक जीवनमा नभइनहुने सीपहरू सिकाउने कार्यक्रम पालिकाले अघि सारेको छ । अतिरिक्त सिकाइलाई जोड दिंदै कक्षा ८, १० र १२ मा कोचिङ कक्षा मार्फत सिकाई उपलब्धी हासिल गराउने पालिकाको उद्देश्य छ ।
खेल क्षेत्रको विकास गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने नीति पनि पालिकाले लिएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयमा पठनपाठन नीतिलाई प्रभावकारी बनाउन अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरुको सुदृढीकरण गरी अत्यवश्यक सूचीका औषधी सहितको गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा सञ्चालन गरिएको १५ शैयाको अस्पतालमा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुको लागत साझेदारीमा दातँ र आँखाको सेवा विस्तार र खिम्ती सामुदायिक अस्पतालमा फार्मेसी सेवा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । महिला स्वास्थ्य स्वयमसेविकहरुलाई जिम्मेवारीप्रति उत्साहित गराउन मासिक बैठक बापत दिइदै आएको यातायात खर्चलाई निरन्तरता दिदै खोप कार्यमा संलग्न भए वापत थप प्रोत्साहन भत्ता र खाजा खर्चको व्यस्था समेत गर्ने बताइएको छ । महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई स्वास्थ्य बिमाको ५० प्रतिशत खर्च पालिकाले दिने साथै सुत्केरी र नवशिशुहरूको सुरक्षित स्वास्थ सुनुश्चित गर्न उपाध्यक्ष घरभेट कोशेली कार्यक्रमलाई निरन्तरता दिएको छ ।
लक्षित वर्ग (दलित, जनजाति, अपाङ्ग, महिला, बालबालिका) लाई राज्यको मुल प्रवाहमा ल्याउन आय तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न जेष्ठ नागरिक क्लव गठन गर्ने साथै ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा व्यवस्थापनमा लगानी साझेदारी सहभागिता सुनिश्चित गर्ने, बालबालिकाहरुको क्षमता विकास गर्न बाल क्लब स्थापना तथा सञ्चालन गरिने पनि कार्यक्रममा समेटिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
जलवायु परिवर्तनसँगै सुक्दै गएका स्थानीय स्तरमा उपलब्ध खानेपानीका स्रोत, मूल तथा मुहानलाई संरक्षण गर्ने नीति गाउँपालिकाले अघि सारेको छ ।
सडकतर्फ दारिमबोट– गिदानचौर– मानेडाँडा– ऐरमबास– चिलाउने (भीरगाऊँ– कोटगाऊँ– कल्लेरी हुँदै खाल्टे गामनाङटार जाने सडक, खिम्ती–धोबी सडक, सैपु–ढाँडे सडक, हिलेडाँडा–वेशीखानी–रातमाटा– दारेगौँडा सडक, ताप्के– त्रिपाशे– गहते– कृष्णभीर सडक, छाँगा–घुम्ती–चाउखर्क–गैरी–धोबी सडक, दिलौरी–कान्ले मैदाने र नामाडी सडक, दिलौरी–चण्डिस्थान–वडा कार्यालय–ढाडे सडक, नागी–ज्येति–डाँडाखर्क–सेराखु–बेलौरी डाँडासम्मको सडकलाई स्तरोन्नति गर्ने बताइएको छ ।
पालिका स्तरीय रिङरोडको अवधारणालाई मूर्तरूप दिनका लागि तिल्पुङ– गिदानचौर– ऐरमबास– काङ्बा– खोल्मागाऊँ– चिलाउने– कोटगाऊँ– रातमाटा–सिरिसे– ढाँडे– पिङ्गे– पाला–भिरखर्क– होपिना–खापिङ हुँदै तिल्पुङ सम्मको बाँसे– नोप्रा– गिद्दे– दिलौरी– धोबी– गैरी– केउरेनी– नागथली– झाँक्रीडाँडा– खिम्ती सडक विस्तार कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । हाल गाउँपालिका भित्रका सडकहरु १२ ह्रै महिना सञ्चालनमा हुँदै आएको पनि अध्यक्ष महतले बताए ।

प्रतिकृया

Add