रामेछापको जनसङ्ख्या घट्दो क्रममा, साक्षरता दर पनि घट्दै

 शुक्रबार, असार १५, २०८० | onlinenews

 

रामेछाप– राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले रामेछाप जिल्लाको जनसंख्या ऋणात्मक देखाएको छ । जनगणना २०६८ मा रामेछापको जनसंख्या २ लाख २ हजार ६ सय ४६ रहेकोमा २०७८ को जनगणनामा जनसंख्या घटेर १ लाख ७० हजार ३ सय २ मा झरेको छ । यो जनसंख्या २०६८ को भन्दा ३२ हजार ३ सय ४४ ले कम हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछाप जिल्लाको जनसंख्या १ लाख ७० हजार ३ सय २ मध्ये पुरुष ८० हजार ८ सय २४ (४७.५ प्रतिशत) र महिला ८९ हजार ४ सय ७८ (५२.५ प्रतिशत) रहेको छ । जसको लैङ्गिक अनुपात १०० जना महिलामा पुरुष संख्या ९०.३३ हुन आउछ ।
रामेछापको सदरमुकाम मन्थलीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनगणाना २०७८ को तथ्यांक सार्वजनिक गरिएको हो । तथ्याङ्क कार्यालय सिन्धुलीका प्रमुख राजेश दासले रामेछाप जिल्लाको जनसंख्याको तथ्याङ्क बारेमा जानकारी गराएका हुन् ।
जनगणना तथ्यांक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले जिल्लाको जनसंख्या घट्नु चिन्ताको विषय भएको बताए ।
कार्यक्रमको अध्यक्ष तथा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जिल्लाको जनसंख्या घट्नुमा बसाइसराइ मुख्य कारण हुनसक्ने बताइन् । जनसंख्यालाई ख्याल गरे कार्यक्रम तथा बजेट निर्माण गर्न पनि प्रजिअ निरौलाले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिइन् । जिल्लाको नागरिकलाई यहीँ रोक्ने र बाहिर रहेका नागरिकलाई समेत जिल्ला ल्याउन सके जिल्लाको विकासमा सकारात्मक प्रभाव पर्ने प्रजिअ निरौलाको भनाइ छ ।
कार्यक्रमको विशेष अतिथिका रुपमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

७ सय ७६ घरले चर्पी प्रयोग गर्दैनन्

रामेछाप जिल्लालाई २०७५ साल जेठमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तत्कालीन अवस्थामा रामेछाप जिल्लामा रहेका ४८ हजार १ सय घरपरिवार सबैमा शौचालय निर्माण भएर प्रयोगमा आएपछि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको बताइएको थियो । तर, २०७८ को जनगणना अनुसार अहिले पनि ७ सय ७६ घर परिवारले शौचालय प्रयोग नगरेको तथ्यांक सार्वजनिक भएको छ । खुला दिसामुक्त जिल्ला घोषणा गर्दा ८ वटा पालिका अन्तर्गत ६४ वटै वडाका हरेक घरधुरीमा चर्पी भएको उल्लेख गरिए पनि जनगणना २०७८ को तथ्यांकमा ७ सय ७६ घरधुरीमा चर्पी नभएको उल्लेख छ । पालिकागत रुपमा कुन पालिकामा कति घरमा चर्पी छैन भन्ने तथ्याङ्क तयार भइरहेको तथ्यांक कार्यालय सिन्धुलीका प्रमुख राजेश दासले बताए । जिल्लाको ४६ हजार ४ सय ६६ घरधुरी मध्ये सार्वजनिक ढलमा जोडिने चर्पी १ हजार ५ सय ४४ वटा रहेको बताइएको छ । दासका अनुसार सेप्टीट्याङ्की मात्रै भएका चर्पीहरुको संख्या ३६ हजार ७ सय ८३ रहेका छन् भने साधारण खाल्टो मात्रै रहेका चर्पीहरुको संख्या ७ हजार २ सय ७८ रहेका छन् । जिल्लाका विभिन्न स्थानमा ८५ वटा सार्वजनिक शौचालयहरु रहेको विवरणमा उल्लेख छ ।

८७ प्रतिशतले अझै दाउरा प्रयोग गर्छन्

जिल्लामा अक्सर खाना पकाउन काठ दाउरा प्रयोग गर्नेहरुको संख्या अझै अधिक रहेको पाइएको छ । जनगणना तथ्यांक अनुसार ४६ हजार ४ सय ६६ घरधुरी मध्ये ४० हजार ६ सय ५० घरधुरीले खाना पकाउन काठ दाउरा प्रयोग गर्छन् । यो जम्मा घरधुरी संख्याको ८७ प्रतिशत हो ।
एलपी ग्याँस प्रयोग गर्ने घरधुरी ५ हजार ५ सय ५५ रहेको छ । बिजुलीबाट खाना पकाउनेको सख्या ४० मात्रै छ । गुइठा गोबर प्रयोग गर्नेहरुको संख्या ३ छ भने बायो ग्याँस प्रयोग गर्ने घरधुरी संख्या १ सय ७१ रहेका छन् । मट्टितेल प्रयोग गर्ने परिवार ३७ रहेका छन् भने विभिन्न माध्यमबाट खाना पकाउने परिवार संख्या १० रहेका छन् । जिल्लामा बिजुली प्रयोग गर्नेहरुको संख्या ४५ हजार ७ सय १४ घरपरिवार छन् । सोलार सौर्य उर्जा प्रयोग गर्ने परिवार ५ सय ४२ रहेको छ भने मट्टितेल बाल्ने घर परिवार संख्या ९७, बायोग्याँस प्रयोग गर्ने परिवार संख्या ६ रहेका छन् । त्यस्तै अन्य १ सय ७ घरपरिवार रहेका छन् ।
९ हजार भन्दा बढी वैदेशिक रोजगारीमा
जनगणना २०७८ को तथ्याङ्कले जिल्लाका ९ हजार ८ सय ५३ जना वैदेशिक रोजगारीमा रहेको देखाएको छ । विदेशिएका मध्ये ७ हजार ८ सय ७५ जना पुरुष र १ हजार ९ सय ७८ जना महिला छन् । विदेशमा बस्ने अनुमति लिइसकेका नागरिकहरुलाई जनगणनामा समावेश नगरिएको तथ्यांक कार्यालयले जनाएको छ । जनगणना तथ्यांक अनुसार रामेछापमा कुल घरधुरी संख्या ४६ हजार ४ सय ६६ रहेको छ ।

रामेछापमा साक्षरता प्रति ६८.१२

रामेछाप २०७३ साल असोज ५ गते साक्षर घोषणा गरिएको जिल्ला हो । तत्कालिन अवस्थामा जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहभित्र कुल १ लाख ११ हजार १ सय ८८ जनसंख्या रहेकोमा औपचारिक र अनौपचारिक शिक्षा कार्यक्रममार्फत् १ लाख ७ हजार १ सय ८५ जना अर्थात् ९६ दशमलव ४० प्रतिशत साक्षर भएको तथ्यांकका आधारमा रामेछापलाई साक्षर जिल्ला घोषणा गरिएको थियो । रामेछापलाई साक्षर जिल्ला घोषणा गर्दै तत्कालिन शिक्षामन्त्री धनीराम पौडेलले साक्षर हुन बाँकी ३ दशमलव ६० प्रतिशत नागरिकलाई यथाशक्य चाँडो साक्षर बनाउने प्रतिबद्धता समेत गरेका थिए ।
तर साक्षर जिल्ला घोषणा गरिएको ५ वर्षपछि गरिएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले रामेछाप जिल्लामा निरक्षर प्रतिशत ३१ दशमलव ८८ देखाएको छ । तथ्यांक अनुसार रामेछापमा साक्षरता संख्या समेत घट्दो क्रममा रहेको छ ।
साक्षर रामेछाप जिल्ला घोषणा भएको ५ वर्षपछि भएको जनगणनामा रामेछाप जिल्लाको तथ्याङ्क ६८.१२ प्रतिशत मात्रै देखिनुले राज्यले शैक्षिक क्षेत्रमा गरेको लगानीप्रति समेत प्रश्न उठेको छ । साक्षर जिल्ला घोषणा गर्दा १५–६० उमेर समूहका ब्यक्तिहरुलाई मात्रै समेटेर सामान्य लेखपढ तथा अक्षर चिन्न सक्ने भएको अवस्थालाई साक्षर मानिएको थियो ।
जनगणनामा सबै उमेर समूहका नागरिकहरुको साक्षरता गणना गर्दा प्रतिशतमा कम भएको हुन सक्ने स्थानीय तहका प्रतिनिधिहरुको भनाइ छ । जिल्लाको उमाकुण्ड गाउँपालिका सबै भन्दा धेरै ७४.२ प्रतिशत नागरिकहरु साक्षर देखिएका छन् भने सबै भन्दा कम दोरम्बा शैलुङ्ग गाउँपालिकामा ५८.६ प्रतिशत मात्रै साक्षर देखिएका छन् । मन्थली नगरपालिकामा ७१.५ प्रतिशत साक्षर देखिएका छन् भने रामेछाप नगरपालिका ६८.४ प्रतिशत साक्षर देखिएका छन् । गोकुलगंगामा ७१.६ प्रतिशत, लिखु तामाकोशी गाउँपालिकामा ७०.२ प्रतिशत, खाँडादेवीमा ६२.२ प्रतिशत र सुनापति गाउँपालिकामा ६१.९ प्रतिशत साक्षर रहेको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया

Add