रामेछापमा १८ प्रतिशत धान रोपाइँ

 शुक्रबार, असार १५, २०८० | onlinenews
Share this

रामेछाप- २० औँ राष्ट्रिय धान दिवस रामेछाप जिल्लामा पनि विभिन्न स्थानहरुमा रोपाइ गरेर मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ जिल्लाका सबै पालिकाहरुले रोपाइ गरेर धान दिवस मनाएका छन् । मन्थली नगरपालिकाले वडा नं ७ भटौलीको अमारे फाँटमा रोपाइँ गरी राष्ट्रिय धान दिवस मनाएको छ ।
धान दिवसको अवसरमा मन्थली नगरपालिका र कृषि ज्ञान केन्द्र रामेछापले संयुक्त रुपमा आयोजनामा रोपाइँ महोत्सवमा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेत, मन्थली नगरपालिका अन्तर्गत विभिन्न वडाका अध्यक्षहरू लगायत सरकारकी कर्मचारी, सामाजिक अभियन्ता, तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो ।
धान रोप्न किसानको खेतमा जम्मा भएका जनप्रतिनिधि, कर्मचारी तथा किसानहरूले हिलो छ्यापाछ्याप गरी रमाइलो समेत गरेका थिए । रोपाइँ महोत्सवमा नगरप्रमुख श्रेष्ठले प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्व रहेको बताए । पर्याप्त सिँचाइ सुविधा रहेका नगरका उर्वर फाँटहरूमा हुने धान खेतीलाई ध्यानमा राखेर नगरको कृषि प्रणालीमा यान्त्रिकीकरण गर्नु आवश्यक रहेकोब बताए ।
असारलाई ‘मानो रोपेर मुठी फलाउ’ने महिलाको रुपमा लिइन्छ । तर असार १५ वितिसक्दा पनि रामेछाप जिल्लामा धान रोपाइ भने १८ प्रतिशत मात्रै भएको छ ।
अहिलेसम्म जिल्ला भारी जम्मा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र रामेछापकी सूचना अधिकारी कृषि अर्थ विज्ञ शर्मिला फुयाँलले जानकारी दिइन् ।
जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुन्छ, अहिलेसम्म लेकाली क्षेत्रका पालिका गोकुलगंगा, उमाकुण्ड, दोरम्बा शैलुङ्ग गाउँपालिकाका १ हजार ४ सय १४ दशमलव ६२ हेक्टर खेतमा रोपाइँ भइसकेको छ’, उनले भनिन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार गत वर्ष धान रोपाइँ हुने ७ हजार ८ सय ५९ हेक्टर खेत मध्ये यो अवधिसम्म २६ प्रतिशत अर्थात दुई हजार ४३ दशमलव ३४ हेक्टर खेतमा रोपाइँ भएको थियो ।

Share this

प्रतिकृया

Add