संघद्धारा आगलागि पीडितलाई सहयोग

 सोमवार, असार १८, २०८० | onlinenews

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघले, संघको सदस्य समेत रहेका आगलागि पीडित इमान सिं तामाङलाई ४१ हजार ७ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघले संस्थागत तथा संघका पदाधिकारी र कर्मचारीहरुबाट आर्थिक संकलन गरी पीडित तामाङलाई सहयोग गरिएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव एवम् प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए ।
तामाङ रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ ढाँडेमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आएका थिए । तामाङको इम्रण इसन इलेक्ट्रोनिक्स सर्भिस नामको पसलमा २०८० वैशाख ५ गते विद्युत् सर्ट भइ आगलागि हुँदा ३१ लाख ८५ हजार रुपैयाँ बरावरको क्षति भएको थियो । आगलागिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले आर्थिक सहयोग गरेको हो ।
त्यसैगरी संघका अर्का सदस्य ५४ वर्षकी दोलखा जिरीस्वरी कोल्ड स्टोर्स एण्ड सप्लायर्सका प्रोप्राइटर फुलकुमारी तामाङ कार्कीलाई संस्थागत, पदाधिकारी तथा कार्यसमिति र कर्मचारीको तर्फ १२ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरिएको संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए । तामाङको निमोनिया विग्रिएर फोक्सोको अपरेशन गर्नुपर्ने भएको छ ।
रामेछाप उद्योग वाणिज्य संघले विगतदेखि नै आपत् विपद्मा परेका आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । आगामी वर्षदेखि सदस्यहरुको दुर्घटना विमा गर्नुका साथै स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पताल मन्थली रामेछापमा औषधी खरिद, अपरेशन, र अस्पताल बेडमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने गरी सम्झौता भइसकेको संघका अध्यक्ष नवीकुमार थापामगरले जानकारी दिए । रामेछाप उद्योग वाणिज्य संघमा आजीवन, साधारण, एसोसियट्स, र वस्तुगत सदस्य गरी १ हजार ४ सय २५ जना सदस्य रहेका छन् ।

प्रतिकृया

Add