दूध दही खाँदा लम्पी स्किन मानिसमा सर्दैन : थापा

 बिहिबार, असार २१, २०८० | onlinenews

भेटेरीनरी अस्पताल तथा पशु स्वास्थ्य सेवा केन्द्रको सम्पर्क कार्यालय रामेछापका प्रमुख प्रकाश थापासँग पशु चौपायामा फैलिएको लम्पी स्किनको रोगको बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

लम्पी स्किन रोगको लक्षणहरू के के हुन् ?

लम्पी स्किनको मुख्य लक्षणका रुपमा शरीरमा फोका निस्कने, ज्वरो १०५ देखि १०७ सम्म पुग्ने । शरीरमा पैसाजस्तो खटिरा आउने । गर्धन सुन्निने । खुट्टाका भागहरू बस्न उठ्न गाह्रो हुने गरी सुन्निने । र्याल बगाउने जस्ता लक्षणहरु देखा पर्दछन् । पशु व्याउँने छ भने तुहिने साथै बाझोपना हुन सक्ने खतरा पनि हुन्छ ।

यो रोग के कारणले लाग्छ ?

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको हो । यसलाई अफ्रिकी मुलुकको रैथाने रोग भनेर पनि चिनिन्छ । केही समयसम्म सब–सहारन अफ्रिकामा सीमित रह्यो भने विस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो । राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाइमा पहिलो पटक बङ्गलादेश, चीन र भारतमा यो रोग देखिएको थियो । नेपालमा पशु सेवा विभागको अनुसार मोरङ जिल्लामा वि.स. २०७७ साल साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । यो भाइरसको कारण लाग्ने रोग हो ।

रामेछापमा यो रोग नियन्त्रणका लागि के प्रयास भइरहेका छन् ?

भाइरसबाट लाग्ने रोग भएकाले यसको उपचार यही नै हो भन्ने त केही पनि छैन तर लक्षणको आधारमा उपचार भइरहेको छ । विभिन्न प्रकारका एन्टिबायोटिकहरू चलाउनु पर्ने, संक्रमण रोक्ने, चिलाउन रोक्ने, दुखाइ कम गर्नेजस्ता धेरै खालका औषधीहरू चलाउनु पर्ने हुन्छ । हाम्रा भेटेरीनरी अस्पतालहरू तथा पशु स्वास्थ्य विज्ञ केन्द्र, प्रदेश पशुपन्छी मन्त्रालयहरूबाट विभिन्न पहलहरु भइरहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा लम्पी स्किन रोग नियन्त्रण विधेयक ल्याएर रोगको निराकरण गर्नु पर्छ भनेर मन्त्रालय, निर्देशनालय लगायत सबै ठाउँमा प्रक्रिय अघि बढेको छ ।
स्थानीय तहहरुसँग सम्मन्वय गरेर आवश्यकताको आधारमा भ्याक्सिन तथा औषधीहरू उपलब्ध गराउने कुराहरू चलिरहेको छ । यो भ्याक्सिन जोर्डन देशमा बनेको हो । लम्पी स्किनको एन् भन्ने खोप पाइन्छ । यो लाग्नु भन्दा अगाडि नै लगाउदा बेस हुन्छ । यो भ्याक्सिन रोग लागेपछि दिन मिल्दैन । यो छालामा एक एम्एल दिन मिल्छ ।

रामेछापमा रोग नलाग्दै र लागेपछि दिनु पर्ने औषधीको अवस्था के छ ?

रामेछापमा जिल्ला सम्पर्क कार्यालय र विज्ञ केन्द्र सिन्धुली भएको कारणले रोगको अवस्था कस्तो छ र औषधीको अवस्था के छ भनेर सिन्धुलीलाई पत्र लेख्नु भनेर हामीले पालिकाहरुलाई भनेका छौँ । पत्र लेखेर जानकारी गराउनुहोस् हामीसँग भएका औषधीहरू उपलब्ध गराउछौँ भनेर जानकारी गराएका छौँ । तर, पत्र जाने तथा औषधी आउने काम भइसकेको छैन । यो प्रक्रियामा छ ।

लम्पी स्किनको लक्षण देखिएमा किसानले के गर्ने ?

कृषकले समान्य अवस्थामा सबै भन्दा पहिला खोर/गोठ सफा राख्नु पर्यो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाइबाट यो रोग सर्ने भएकाले गोठ/खोर सफा राख्नु जरुरी छ । रोग देखापरेको पशुलाई छोएर अर्को पशुलाई छुने तथा लसपस नगर्ने । रोग लागेका बस्तुहरूलाई छुट्टै क्वारेन्टाइनमा राख्नु पर्दछ । यो रोग फैलिने समय २१ दिनसम्म भएकाले २१ दिनसम्म छुट्टै राख्नु पर्दछ । रोग देखापरेर घाउँहरू फुटेको छ भने पोटासले सफा गर्ने, खोर गोठमा छर्ने, फिनेल लगायतका औषधीहरूले खोर/गोठ सफा गर्ने तथा छर्कने गर्नुपर्छ । पानी जम्न दिनु भएन । ज्वरो आउने लगायत अरु समस्या देखापरेमा एन्टिवायोटिक औषधीहरू दिनु पर्ने भएकाले पशु प्राविधिकसँग सल्लाह लिन म अनुरोध गर्न चाहन्छु ।

औषधीहरू कहाँबाट प्राप्त हुन्छ ?

संघीय संरचना अनुसार विभिन्न पालिकाहरूमा पशु विकास शाखाहरू छन् । पशु विकास शाखामा औषधीहरू उपलब्ध हुन्छन् । सबैतिर माहामारीको रुपमा यो रोग फैलिरहेको हुँदा औषधी पर्याप्त नहुन सक्छ । तर केही औषधी पालिका तथा शाखाले उपलब्ध गराउन सक्दैन । त्यस्ता औषधीहरु किसान आफैले किन्नु पर्ने हुन्छ ।

रामेछापमा संक्रमित पशु चौपायाको सङ्ख्या कति छन् ?

यतिनै हो भन्ने त हाम्रो सम्पर्क कार्यालयमा जानकारी आएको छैन । लम्पी स्किन रोग सम्बन्धी हेर्ने गरी विज्ञ केन्द्रमै एक समिति बनेको छ । समितिले हामीहरूलाई जानकारी गराएको छैन । उहाँहरुले डाटाहरु सिधै सिन्धुलीमा पठाउनु हुन्छ । हामी मन्थली नगरपालिकामा बसेको र सँगै सेवा गरिरहेका कारण मन्थली नगरपालिकाभित्र चाहीँ लभगभ १ हजार २ सयदेखि १ हजार ५ सयसम्म गाई गोरुहरू बिरामी अवस्थामा छन् भने १२/१३ वटा मरिसकेका छन् ।

डाटाको लागि छुट्टै सिस्टम बनाइएका छ कि के छ ?

रोग लाग्ने संख्या र मरे पछिको डाटाको छुट्टै सिस्टम त छैन । तर पालिकाहरूको पशु विकास शाखाहरूले भेटेरीनरी अस्पतालमा डाटाहरूको बारेमा सम्पूर्ण जानकारी इमेल गरिदिनु हुन्छ । रोग लागेका र मरेका पशुको एकिन संख्या निकालिएको हुन्छ । आवश्यक परेमा मगाएर उपलब्ध गराउन सकिन्छ ।

दुहुना पशुमा यो लाग्यो भने दूधमा घटबढ हुन्छ ?

यो रोग लागिसकेपछि दूध उत्पादनमा ७० देखि ८० प्रतिशत घट्ने अवस्था छ ।

बिरामी भएको पशु स्वस्थ हुन कति समय लाग्छ ?

सामान्यतया यो रोग २१ दिनमा देखा पर्ने र चाडै निको नहुने अवस्था छ । रोग निको हुन पशुको इम्युनिटी पावर क्षमताको आधारमा कम्तीमा पनि २१ दिनदेखि डेढ महिना भन्दा बढी नै लाग्छ । रोग कति छिटो निको हुने भन्नेमा पशुको इम्युनिटी पावर क्षमता साथै औषधी उपचार र हेरचाहमा भर पर्दछ । यति दिनमै निको हुन्छ भन्ने एकिन आधार छैन ।

यो रोग लागेका पशुको दूध खान मिल्छ कि मिल्दैन ?

लम्पी स्किन रोग एक प्रकारको भाइरस हो । भाइरसकै कारण पशुहरूमा यो रोग लाग्ने गर्छ । यो रोग लागेको पशुको दूध खानै हुँदैन भन्ने हुँदैन तर राम्ररी उमालेर तताएर खानुपर्छ ।

रोग लागेका पशुको दुध, दही, मही खान हुँदैन भन्ने हल्ला सुनिन्छ बजरमा यसको बारेमा अलि प्रष्ट पारिदिनुस् न ?

यो रोग गाई भैसीमा भाइरसका कारण लाग्ने गर्दछ । लम्पी स्किन “जेनेटिक डिजिट” अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन । मान्छेमा नसर्ने रोग भएका कारण दूध खान मिल्छ । साठीदेखि ७० डिग्रीमा उमालेपछि यो भाइरस मर्छ भन्ने छ । धेरै मात्रामा यो गाइमा देखिएको छ भने थोरै मात्र भैसीमा देखिएको छ । तपाईंहरू ढुक्क हुनुस्, दूध उमालेर मज्जाले खान मिल्छ । कसैको लहैलहैमा लागेर दूध खान मिल्दैन भन्ने कुरा फगत् झुठ हो । तर अर्को कुरा के छ भने लम्पी स्किन रोग ठ्याक्कै निको त पार्न सकिदैन । उपचारमा हामीले विभिन्न प्रकारका एन्टिबायोटिक औषधीहरू दिइने भएकाले एन्टिबायोटिक औषधी दिएको कम्तीमा ७ दिनसम्म चाहिँ दूध नखानुहोस् । हामीले पनि ७ दिनसम्म दूध नखानुस् भनेका छौँ । त्यही भएर हल्ला फैलिएको हुन सक्छ तर एन्टिबायोटिक औषधी प्रयोग गरेको ७ दिनपछि दूध खान मिल्छ । एन्टिबायोटिक दिएको ६ दिनपछि र उपचार नभएका तर रोग लागेका पशुको दूध उपमालेर खादा केही फरक पर्दैन ।

रामेछाप जिल्लाका कति पशुमा यो रोग फैलिएको छ ?

रामेछाप जिल्लाका ८ वटा पालिकामा लम्पी स्किन रोगबाट ६ हजार सात सय ३८ पशु सङ्क्रमित भएका छन् । हालसम्म ९७ पशुको मृत्यु भइसकेको जानकारी छ ।

कुन पालिकामा कति संक्रमित छन् र कति मरे ?

सबैभन्दा बढी लिखु तामाकोशी गाउँपालिकामा ४ हजार ९ सय ८९ पशु संक्रमित भएका छन भने १०२ वटा पशु मरेका छन् । मन्थली नगरपालिकामा २ हजार ६ सय ४८ संक्रमित हुँदा १८ वटा मरेका छन् । रामेछाप नगरपालिकामा २ हजार २ सय ६० संक्रमित भएका छन् भने ५४ वटा मरेका छन् । खाँडादेवी गाउँपालिकामा ९ सय १५ संक्रमित र ११ वटा मरेका छन् । गोकुलगंगा गाउँपालिकामा ९ सय ८७ पशु संक्रमित भएका छन् भने १६ वटा मरेका छन् । सुनापति गाउँपालिका ४ सय ८५ संक्रमित भएका छन् भने ९ वटा मरेका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा १ सय ५० संक्रमित भएका मध्ये ४ वटा मरेका छन् । त्यसैगरी उमाकुण्ड गाउँपालिकामा ३ सय ८३ वटा पशु संक्रमित भएका छन् भने १८ वटा मरेका छन् ।

यो रोग लागेका पशुमा कस्तो प्रभाव पार्छ ?

यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने गरेको छ । लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत समस्याहरु देखापर्न सक्छ ।

प्रतिकृया

Add