सिद्धेश्वर आधारभूत विद्यालय बर्खामा पनि सञ्चालन

 बुधबार, असार २७, २०८० | onlinenews

 

२७ असार, रामेछाप । सामुदायिक विद्यालयले वर्षमा ५५ दिन विदा पाउने व्यवस्था छ । ५५ दिन मध्य ५ दिन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विदा दिन सक्ने छ भने बाँकी विदा विभिन्न चाडपर्व र बर्खामा दिने चलन छ ।
दशैँ, तिहार, छठ लगायतका पर्वहरुमा विदा दिएर बाँकी रहेका विदा असार/साउन महिना पारेर बर्खे विदा दिने चलन छ । यस वर्ष पनि प्रायजसो विद्यालयहरुले बर्खे विदा दिइसकेका छन् ।

तर रामेछापको मन्थली नगरपालिका–६ हात्तीटारमा रहेको सिद्धेश्वर आधाभूत विद्यालयले भने बर्खे विदाको समयमा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।

अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको छलफलबाट बर्खामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक भिम नेपालीले जानकारी दिए ।


चालू शैक्षिक सत्रमा २/३ महिना मात्र पढाइ भएको र एक महिना बर्खे विदा दिंदा विद्यार्थीहरुले २/३ महिना पढेका कुरा समेत विर्सने भएकाले मन्थली नगरपालिकासँग सहमति लिएर विद्यालय सञ्चालन गरिएको प्रअ नेपालीले बताए ।
विद्यालयका शिक्षक र अभिभावको प्रेरणाबाट बर्खामा पनि विद्यालय सञ्चालन गरिएको नेपालीको भनाइ छ ।

उनले भने– एक महिना विदा हुँदा बच्चाहरुले पढेका कुराहरु पनि सबै विर्सिन्छन्, बर्खामा पनि विद्यालय सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने अभिभावको सुझाव आएपछि विद्यालयका शिक्षक र विव्यसले छलफल गरी नगरपालिकासँग सहमति लिएर विद्यालय सञ्चालन गरिएको हो ।

माझी समुदायका मात्र विद्यार्थी रहेको सिद्धेश्वर आधारभूत विद्यालय हात्तीटारमा ९२ जना विद्यार्थी अध्ययनरत छन् ।

शनिवार बाहेकका अन्य सार्वजनिक विदाका दिनमा समेत विद्यालय सञ्चालन गरिदै आएको पनि प्रअ नेपालीले जानकारी दिए । शैक्षिण गुणस्तर कायम गर्न आपूmहरु लागिपरेको उनको भनाइ छ ।
सिद्धेश्वर आधारभूत विद्यालयले बर्खे विदा नदिएपछि अन्य सामुदायिक विद्यालयहरुलाई समेत जनदवाव परेको छ ।

सिद्धेश्वर आधारभूत विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निर्णयको आधारमा बर्खामा पनि विद्यालय सञ्चालन गर्न सहमति दिइएको मन्थली नगरपालिका उपसचिव, सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीले जानकारी दिए ।

विव्यसले निर्णय सहित बर्खामा पनि विद्यालय सञ्चालनको लागि सहमति माग्न आएपछि अन्य समयमा विदा कटौती गर्न नपाइने सर्तमा सहमति दिएको बुढाथोकीले बताए ।

 

प्रतिकृया

Add