गोकुलगंगाले लगायो ठूला सवारीमा रोक

 शुक्रबार, असार २९, २०८० | onlinenews

 

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले फर्पुदेखि ठोसेसम्मको करिब ३५ किलोमिटर लामो सडकमा ६ चक्केभन्दा माथिका सवारी साधनलाई बिहीवारदेखि रोक लगाएको छ ।

वर्षायाममा ठूला सवारी साधन सञ्चालन गर्दा सडक जर्जर बनेपछि सडकको संरक्षण तथा दुर्घटना कम गराउनका पालिकाले वर्षा अवधिभर ठूला भार बोकेर गुड्ने साधनलाई रोक लगाएको हो । गाउँपालिकाभित्र कालोपत्र भएको सडकसमेत क्षति हुन थालेपछि यस्तो निर्णय लिइएको गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले बताए ।

आगामी असोज ३० गतेसम्म गोकुलगंगा गाउँपालिकाको मुख्य सडक हुँदै ठूला भारवाहन साधन सञ्चालनमा रोक लगाउने निर्णयले उमाकुण्ड गाउँपालिकामा सञ्चालनमा रहेका केहि जलविद्युत् आयोजनाका गह्रौं उपकरण ढुवानीमा कठिनाइ हुने भएको छ । पालिकाले नागरिकका दैनिक उपभोग्य सामग्री बोकेका ८ टनसम्म क्षमता भएका ढुवानीका साधनलाई भने सञ्चालन गर्न दिने भएको छ ।

खिम्तीबाट फर्पु हुँदै ठोसेसम्म पुग्ने सडकखण्डमध्ये बेतालीसम्म कालोपत्र भइसकेको छ । रस्नालुको केहि भागमा पनि कालोपत्र भइसकेको छ । तर जलविद्युत् आयोजनाका १० चक्केभन्दा ठूला साधनमा गह्रौ उपकरण बोक्ने ढुवानीका साधनका कारण सडक १ वर्ष नबित्दै भत्किएको छ । सडकका विभिन्न स्थानमा ठूलठूला खाडल परेकाले कच्चीभन्दा पनि उक्त सडकमा यात्रा गर्न कठिन हुन थालेको स्थानीय दीपक खड्काले बताए ।

प्रतिकृया

Add