मन्थलीको पूँजिगत खर्च ७० प्रतिशत

 शुक्रबार, असार २९, २०८० | onlinenews

 

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा कुल बजेटको ७९ प्रतिशत मात्र खर्च गरेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाको चालु तर्फ ८४ दशमलव १ प्रतिशत र विकास बजेट पुँजीगततर्फ जम्मा ७० दशमलव ७६ प्रतिशत मात्रै बजेट खर्च भएको मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले जानकारी दिए ।

चालुतर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा चालू आवमा ६६ करोड १८ लाख ७३ हजार ८८३ रुपैयाँ खर्च भएको छ । यो वर्ष नगरपालिकाले आर्थिक विकासमा ४ करोड ५९ लाख ४२ हजार ९ सय ९९ रुपैयाँ, सामाजिक विकासमा ५० करोड ८६ लाख ९९ हजार ४ सय ५६, पूर्वाधार विकासमा २१ करोड ५७ लाख ३४ हजार ६ सय ७७ रुपैयाँ बजेट खर्च गर्दा सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ४ करोड ३६ लाख २३ हजार ४ सय ५३ र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ११ करोड ४१ लाख ३७ हजार बजेट खर्च गरेको छ ।

शुक्रवार मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गरेको विकास निर्माणका योजना तथा सेवा प्रवाहका बारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा मन्थली नगरपालिकाले विकास बजेट पुँजीगततर्फ ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपैयाँ विनियोजन गरेकोमा असार २८ गतेसम्म २६ करोड ६२ लाख ६३ हजार ७ सय १० रुपैयाँ खर्च गरेको छ । त्यसैगरी चालुतर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा यो अवधिमा ६६ करोड १८ लाख ७३ हजार ८ सय ८३ रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षमा साना ठुला गरी नगर सभाबाट ५ सय ६२ वटा योजना स्वीकृत भएकोमा ५ सय ४५ वटा योजना सम्पन्न भई भुक्तानी भएको, ४ वटा योजना सम्झौता नै हुन नसकेको र ५ वटा योजना सम्झौता भएर पनि काम हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले जानकारी दिए ।

उनका अनुसार ५ सय ६२ वटा योजना मध्येबाट ८ वटा योजनाहरू क्रमगत रूपमा ठेक्कामा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत चापागाईँका अनुसार यो आर्थिक वर्षमा नगरपालिकाले ३ करोड १३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा असार २८ गतेसम्म लक्ष्यको ८४ दशमलव ९३ प्रतिशत अर्थात् २ करोड ८३ लाख ७८ हजार ९ सय १७ रुपैयाँ आम्दानी भएको छ ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नागरिकले उठाएका प्रश्नको नवाफ दिँदै नगरको सुदृढ अर्थतन्त्र र सक्षम जनशक्ति निर्माण, व्यवस्थित, दिगो, सन्तुलित, समावेशी जनमुखी र सामाजिक न्यायमा आधारित प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गरी समृद्ध मन्थली नगर बनाउने गरी काम गरिएको बताए ।

प्रतिकृया

Add