व्यवस्थापन गर्न जाने ठूलो परिवारलाई पनि सुखी बनाउन सकिन्छ : रत्ना राजवंशी

 शनिबार, असार ३०, २०८० | onlinenews

राम्रो सोचेर निरन्तर मेहनत गरे एकदिन अवश्य सफलता मिल्ने बताउछिन् रत्ना राजवंशी । २६ बर्षकी उनी झापा जिल्ला मेची नगरपालिका वडा नं १५ मा बस्छिन् । ९ जनाको संयुक्त परिवारमा बस्ने रत्नाको १ छोरा छन् । ठूलो परिवार भएको कारण घर चलाउन मुस्किल थियो पहिले, रत्नालाई । पेट भर्नकै लागि अनेकन संघर्ष गर्ने रत्नाको आजभोलीको दैनिकी फेरिएको छ । १ बर्ष अघि श्रीमान कुवेत पसेपछि रत्ना माइतीघरमा बस्न थालेकी छन् । घरपरिवारले उनको भावना नबुझिदिँदा माइतीघरमा बस्न बाध्य भएकी हुँ उनी भन्छिन् ।

श्रीमान विदेश गएपछि एउटी महिलाले बाँच्नका लागि कति संघर्ष गर्नुपर्छ भन्ने अनुभव छ रत्नासँग । श्रीमान बिदेश गएपछि एक्लो भएकी रत्ना श्रीमान विदेश जाँदा लागेको ऋणका कारण चिन्तामा छिन् । विदेश जाने भनेपछि साहुमहाजनले समेत चर्को व्याजमा तिर्नेगरी ऋण दिन्छन् उनी भन्छिन् । खाइनखाइ गरेर भएपनि साहुबाट लिएको ऋण तिरिहाल्नु पर्छ भन्ने उन श्रीमान विदेश जाँदा ऋण लिएको पैसा मध्य १ लाख तिर्न बाँकी रहेको बताउछिन् उनी ।

श्रीमानले कुवेतको बाटो तताएपछि माइती बस्न थालेकी रत्नाको आम्दानीको बाटो केहि पनि थिएन । थियो त केवल श्रीमानको कमाइ । श्रीमानले कुवेतबाट पैसा पठाएपछि मात्र घरखर्च गर्न सक्ने अवस्था थियो उनको ।

उनको गाउँमा विदेश जानेका परिवारलाई समेटेर मेची नगरपालिकाले वित्तीय साक्षरता कक्षा चलाउने भयो । सुरक्षित आप्रवासन सामी कार्यक्रम कार्यान्वयन गरिरहेको नगरपालिकाले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा कक्षा चलाउने भन्ने कुरा उनले पनि थाहा पाइन् । श्रीमान विदेशमा काम गर्ने भएको हुँदा उनलाई पनि कक्षामा जाउँ–जाउँ जस्तो लाग्यो ।

गाउँमै चलेको पारिजात वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा गएपछि उनलाई विदेशको कमाइ दीगो होइन भन्ने लाग्यो । कमाइ त दीगो होइन नै ती माथि विदेशमा गर्ने काम पनि दुःख हुने रहेछ भन्ने थाहा भयो उनलाई कक्षामा बसेपछि ।
कक्षामा जान थालेदेखि रत्नालाई विदेशमा जति दुःख गाउँमा गर्ने हो भने यहाँ त्यो भन्दा बढि पैसा कमाउन सकिने रहेछ भन्ने लाग्छ । गाउँबाट विदेश जानेहरु रित्तो हात फर्किएको समेत देखेकी रत्नालाई श्रीमानको कुवेतको बसाइ राम्रो भएकोमा खसी छिन् रत्ना ।

रत्नालाई उनको श्रीमानले महिनैपिच्छे पैसा पठाइदिन्छन् । पठाएको पैसाले सबैतिर टार्नु बुझाउनु पर्ने हुन्छ रत्नालाई । खर्च गर्दै जाँदा पठाएको पैसाको हिसाव नै नमिलेको अनुभव सुनाउछिन् उनी । वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा गएपछि भने उनको खर्च गर्ने बानीमा सुधार आएको छ । दैनिक रुपमा आफूले गरेको खर्च डिप्रोक्स(नेपालबाट पाएको पासबुकमा भर्न थालेकी छन् उनले । त्यो सँगै पासबुकमा आफूसँग कति ऋण छ ? कति तिर्न बाँकी छ सबै हिसाब प्रष्टसँग लेखेर राखेकी छन् रत्नाले । सुरुमा हिसाब टिप्दा आफूले गरेको खर्च देख्दा आँतेस लाग्थ्यो, अहिले आफ्नो कमाइ अनुसारको पैसाले खर्च टार्ने गरेको छु, उनी मुस्कुराउँदै भनिन् ।

वित्तीय साक्षरता कक्षामा जान थालेपछि रत्नाको बानी मात्र फेरिएन । उनको परिवार गाउँकै नमूना परिवार भएको छ । पहिले उनीहरुको ठूलो परिवारमा पेट भर्ने चिन्ता थियो तर त्यही परिवारलाई व्यवस्थापन गर्दा अहिले सबैलाई काम गर्न सजिलो भएको छ भने कमाई पनि बढेको छ । जानेदेखि ठूलो परिवारलाई पनि सुखी परिवार बनाउन सकिन्छ रत्ना भन्छिन् । अहिले परिवारका सबै सदस्य घरमा सल्लाह गरेर कामका लागि निस्कन्छन् । रत्नाको बुवा अटो चालाउँछन् । आमा चिया बगानमा काम गर्छिन् । बहिनी प्लाई उद्योगमा जागिर खान्छिन् । नानीहरु स्कुल जान्छन् । रत्नाले आफ्नै घरमा सानो होटल चलाएकी छन् । घर सडकसँगै जोडिएको छ ।

परिवारका सबैजनाले काम गर्दा रत्नाको परिवारको कमाइ पनि राम्रै छ तर परिवार ठूलो भएको कारण खर्च पनि धेरै हुने गरेको उनको भनाइ छ । सबैजनाले काम गरेर श्रीमान विदेश जाँदा लिएको ऋण ४ महिनाभित्र तिरिसक्ने उनको अल्पकालिन वित्तीय लक्ष्य छ । भविष्यका सपनाहरु पूरा गर्न उनले मध्यकालिन लक्ष्यमा छोरीहरुको शिक्षा र दिर्घकालिन लक्ष्यभित्र घर(घडेरी जोड्ने कुरा समावेश गरेकी छन् ।

उनले चलाएको होटलको कमाइ पनि चित्त बुझ्दो छ । लगानी गरे अनुसारको कमाइबाट सन्तुष्ट छिन् रत्ना । आफूले कमाएको पैसाबाट दैनिक १ हजार ५ सय सहकारी संस्थामा बचत गर्छिन् । आमा र बहिनीले पनि आफैले कमाएको पैसाबाट महिनाको १ हजार ५ सय रुपैयाँ बचत गर्छन् भने बुबाले पनि दिनको ३ सय रुपैयाँ बचत गर्छन् । यसरी आफैंले कमाएको पैसाले घर चलाउँदै आएकी रत्नाको आजभोली श्रीमानले पठाएको पैसा बचत हुन थालेको छ ।

खानका लागि चिन्ता बोकिरहने रत्नाको परिवार आजभोली फेरिएको छ । रत्नाले वित्तीय साक्षरता कक्षामा जानेको कुरा घरमा सुनाउछिन् । घरका सबैजनाले रत्नाले भने झैं गर्छन् । श्रीमान कुवेतमा काठको फर्निचर बनाउने मिस्त्रीको रुपमा काम गर्छन् । श्रीमानसँग खानेकुरा बनाउने सीप पनि छ । रत्नाको श्रीमान झापामा होटलमा कुकको काम गर्थे । पछि कुवेत गए । म यता जानी नजानी पकाउँछु । अव श्रीमान २ वर्षपछि विदेशबाट फर्कनुहुन्छ, अनि हामी दुवैजना मिलेर बजारमा राम्रो होटल चलाउने योजना छ, रत्नाले भविष्यको योजना सुनाइन् ।

(मेची नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत)

प्रतिकृया

Add