खाँडादेवीमा ३ महिने कुक तथा टेलरिङ तालिम

 सोमवार, साउन १, २०८० | onlinenews

 

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा प्राविधिक शिक्षालय सिटिइभीटी अन्तर्गत तह एक को ३ महिने कुक तथा टेलरिङ तालिम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका–४ पकरबासको भिमसेनथानमा टेलरिङ तालिम र वडा नं. ६ माकादुममा कुक तालिम सञ्चालन गरिएको हो ।

खाँडादेवी गाउँपालिकासँगको सहकार्यमा बिएम जेट जर्मन, चाइल्ड एड नेटवर्क फोउण्डेसन नेपाल (क्यान) को आर्थिक सहयोग र सामुदायिक विकास समाज सिडिएस मन्थलीको आयोजना तथा स्किल नेपालको प्राविधिक सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

प्राविधिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना र उद्यमशिलता प्रवर्धन परियोजना अन्तर्गत टेलरिङ तालिम २०८० वैशाख १० गते र कुक तालिम वैशाख ११ गते सुरु भइ २०८० असार ३१ गते सम्पन्न भएको सामुदायिक विकास समाजका फिल्ड संयोजक सुकराम घिसिङले जानकारी दिए । घिसिङका अनुसार टेलरिङ तालिममा १५ जना र कुक तालिममा १७ जना सहभागि थिए ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले तालिम लिएका सहभागीहरुलाई सीप अनुसारको रोजगारीका लागि सहयोग गर्न गाउँपालिका सधैँ तयार रहेको बताइन् । साथै तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न पनि उनले आग्रह गरिन् ।


तालिम आयोज संस्था सामुदायिक विकास समाजका फिल्ड संयोजक सुकराम घिसिङले व्यवसाय गर्न चाहने युवाहरुले व्यवसाय सुरु गरेपछि सामुदायिक विकास समाजले व्यवसाय प्रवर्द्धन तथा प्रोत्साहन स्वरुप आवश्यक औजारहरु सहयोग गर्ने बताए ।

खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाका १६ देखि ३९ वर्षका युवाहरुलाई प्राविधिक सीप सिकाइ, रोजगारी सिर्जना तथा उद्यमशिलता प्रवर्धन गरी स्वरोजगार बनाउने साथै वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी देश विकासमा टेवा पुर्याउने लक्ष्यका साथ तालिम आयोजना गरिएको संयोजक घिसिङको भनाइ छ । परियोजना २०२५ डिसेम्बरसम्म सञ्चालनमा रहने पनि घिसिङले जानकारी दिए ।
३ महिने टेलरिङ तालिम लिएकी कुमारी तामाङले दातृ निकाय र सामुदायिक विकास समाजले गाउँ–गाउँमा सीपमूलक तालिम ल्याएर सीप सिकेपछि केही काम गर्ने इच्छा चाहाना भएका महिलाहरुमा व्यवसाय गरी आफ्नै खुट्टामा उभिन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताइन् । सीप अनुसार गाउँ घरमै व्यवसाय गरी जीवन निर्वाह गर्ने आत्मवल बढेको पनि उनले बताइन् ।

तालिमका अर्की सहभागि फुलमाया मानन्धरले भनिन् पहिला अरुको टेलरमा लगेर कपडा सिलाउनु पर्थो, अब आफैले सीप सिकेपछि पैसाको बचत हुने साथै अरुको समेत कपडा सिलाएर आम्दानी लिन सकिन्छ भन्ने आत्मवल बढेको छ ।

प्रतिकृया

Add