वित्तीय साक्षरताले समयको सदुपयोग गर्न मात्र हैन; कमाउन पनि सिकायो 

 शनिबार, साउन ६, २०८० | onlinenews
Share this

 

वित्तीय सारक्षरता कक्षा आउन थालेपछि समयको महत्व बुझेकी ३६ वर्षीया कल्पना चापागाई समयको सदुपयोग गर्न थालेकी छन् । समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढेको छ । कल्पना यतिबेला समय र कामसँग रमाउनु रमाएकी छन् । उनी काम र कमाइमा रमाएकी मात्र छैन । कमाएर आफ्नै खुट्टामा उभिन सकेकोमा दङ्ग छिन् ।
सुनवल नगरपालिका–११ जर्गाहा घर भएकी कल्पनाका श्रीमान मूक्तिप्रसाद चापागाई १५—२० वर्ष देखिख साउदीमा काम गर्छन् । एक छोरा र एक छोरी भएकी कल्पना सासु र ससुरासँग बस्दै आएकी छन् । विदेशबाट श्रीमानले कमाएर पठाएको पैसाले घर खर्च चलाउन र छोराछोरीको पढाइ लेखाइमा मात्र ठिक्क हुन्थ्यो । खेतमा फलेको धान, दाल र सिजनअनुसारको खाद्यन्न भित्राउँदा समेत त्यही विदेशबाट आएको पैसा खर्च हुन्थ्यो । यसरी उदयदेखि अस्तयसम्म विदेशबाट आएको पैसा खर्च हुन्थ्यो तर समय बित्दै जाँदा कहिले ? कहाँ ? र कति ? खर्च भयो भन्ने कुराको लेखाजोखा नै हुँदैन थियो भन्छिन् कल्पना ।
कल्पना चापागाई सुनुवल नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा २०७८ साल मंसिर महिनादेखि सहभागिको रुपमा आउन थालिन् । हरेक हप्ताको १ दिन चल्ने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा आउन थालेपछि कक्षामा छलफल हुने बिषयबस्तुले उनको मन जित्दै जान थाल्यो । आफूले गरिरहेको पैसा खेलाउने व्यहार धनी बनाउने खालको नरहेको थाहा पाएपछि उनी आफ्ना व्यवहार फेर्दै जान थालिन् ।
कक्षामा जानुअघि पनि कल्पनालाई बचत गर्नुपर्छ भन्ने थाहा थियो तर बचत गर्नका लागि उनीसँग पैसा हुदैनथ्यो । बचत गर्न साथमा पैसा नहुँदा बचत गर्नका लागि कसरी पैसाको जोहो गर्ने ? भन्ने उनलाई खर्च गर्ने पैसा नै बचत गरेपछि घर खर्च धान्न पनि गाह्रो हुन्छ होला भन्ने लाग्थ्यो तर आजभोली उनलाई आफूले पैसा चिन्न नसकेको रहेछु भन्ने लागेको छ । कक्षामा आएपछि समय र पैसाको महत्व बुझेको बताउछिन् कल्पना ।

जुन दिनदेखि कल्पना कक्षामा जान थालिन्, त्यसबेलादेखि नै उनले माटोको भुड्की लिएकी थिइन् । आफ्नो परिवारमा हुने दैनिक आम्दानी र खर्चको विवरण पासबुकमा लेख्न थालेपछि आम्दानी वापत आफूले बुझेको पैसा कहाँ गइरहेको छ भनी थाहा पाउन थालिन् । आम्दानी खर्चको विवरणबाट आफ्नो ऐच्छिक चाहानाको लागि हुने खर्च धेरै भएको थाहा पाएपछि ऐच्छिक रुपमा हुने खर्च घटाएर माटोको भुड्कीमा बचत गर्न थालिन् ।
२४ हप्तासम्म कक्षामा सहभागी भएर छलफल गर्दा उनले वैदेशिक रोजगारमा जाँदा तयार गरिने कागजपत्रको महत्व बुझिन् । उनले आफूले बुझे झैं विदेश जाँदा श्रीमानले तयार गरेका सबै कागजपत्रहरु बिदेशबाट मगाएर सुरक्षित तरिकाले राखेकी छन् । श्रीमानको श्रम अवधि कति बाँकी छ ? रोजगारदातासँगको करार हेरेर श्रीमानलाई समयमा नै श्रम नविकरण गर्नको लागि समेत सल्लाह दिन्छिन् ।
वित्तीय साक्षरता कक्षामा व्यवसायिक योजनाको छनोट कसरी गरिन्छ भनि छलफल भयो । व्यवसायिक योजनाको निर्माणले कल्पनालाई पैसा कमाउने बाटो समात्न हौसला मिल्यो । व्यवसायिक योजना निर्माणले कल्पनालाई आफ्ना सपना पूरा गर्नका लागि थप बल दियो । कल्पनाले आम्दानीका लागि सानो भए पनि व्यवसाय गर्ने निधो गरिन् । उनले गर्न सक्ने धेरै व्यवसाय मध्यबाट चटपटे व्यापार गर्ने योजना रोजीन् । आफूले गर्न सक्ने अरु व्यवसाय चटपटे पसलको भन्दा अलि बढी लगानी लाग्ने खालका थिए । कल्पना आफ्नो अनुभव सुनाउछिन् । कल्पनाले चटपटे व्यवसाय खोल्नका लागि वित्तीय लक्ष्य तयार पारिन् । व्यवसायका लागि चहिने पैसा पनि भुड्कीमा जम्मा पार्न थालिन् । २०७९ सालको जेठ महिनामा कक्षाको २४ वटै सत्रहरु छलफल भयो । कक्षा पनि सक्कियो, उनले कक्षामा बनाएको वित्तीय लक्ष्य अनुसारको चटपटे पसल खोलेर आफ्नो आम्दानी बढाउने लक्ष्य पनि पूरा गरिन् ।
विदेशमा कमाउने श्रीमान, खेती गरेर खानलाई पुग्ने जमिन, सम्पन्न परिवारकी कल्पनालाई ठेलामा चटपट लिएर हिँड्दा कसैले केही भन्छन् की भन्ने लाज फाल्न वित्तीय साक्षरता कक्षाले निकै ठुलो बल दियो । भुड्किमा बचत गरेको ३ हजार रुपैयाँ लगानी गरी सुरुवात गरेको कल्पनाको चटपटे व्यवसायको अहिलेको लगानी १५ हजार पुगेको छ । बिहान घरगोठको कामधन्दा सकेर छोराछोरीलाई स्कुल पठाएपछि उनी ठेलामा चटपटे बनाउने सामान लिएर संगमचोक जान्छिन् । दिनभरी घरमा मोवाइल चलाएर बस्ने अनि अल्छि लागे सुतिदिने कल्पनालाई वित्तीय साक्षरता कक्षाले पैसा कमाउने बाटो दिएको छ भने समयको महत्व पनि प्रष्ट बनाइदिएको छ । यसरी कक्षाले आफूलाई चीर निन्द्राबाट व्यूताइ दिएकोमा कल्पना खुसी छिन् ।
कल्पना दिनभरीको चटपटे व्यापारबाट ५ सयसम्म नाफा हुने बताउछिन् । सुरुमा चटपटे मात्र बनाएर बेच्ने कल्पनाले आजभोली ठेलामा फुल्की चाट, बिस्कुट, चाउचाउ, मिठाइसहित चटपटेको व्यापार गर्छिन् । दैनिक व्यापार गर्न थालेदेखि उनको हातमा पैसा टुटेको छैन । आफैले कमाएको पैसा आफ्नै हातले खेलाउन पाउँदा मिल्ने सन्तुष्टि शायदै शब्दमा भन्न सकिन्न, उनी भन्छिन् ।
कल्पनाले व्यापार गरेर कमाएको पैसाको केहि अंश छोरीको नाममा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थामा ऐच्छिक बचत गरिदिन थालेकी छन् ।
त्यही सहकारी संस्थामा आफ्नो अनि श्रीमानको नाममा महिनाको ५र५ सय रुपैंया बचत गरेकी कल्पनाले श्रीमान र आफ्नो नामबाट गर्ने मासिक बचत बढाएर २ हजार रुपैंया पुर्याकी छ ।
कक्षामा जानु अघि मलाई पैसा भए त जे पनि गर्न सकिन्छ । किन त्यो कक्षामा जानुप¥र्यो भन्ने मेरो गलत सोचलाई पखाल्न सँके । कक्षामा जानेको कुरा जीवन बदल्ने सुत्रको रुपमा लिएँ । आफ्नो सपना पूरा गर्ने दृढ संकल्प र प्रतिवद्ध भएर लाग्यो भने एकदिन अवश्य सफल हुन सकिँदो रहेछ भन्ने महसुस गरेकी छु, कल्पनाले भनिन् । आफ्नो जीवन बदल्नका लागि वित्तीय साक्षरता कक्षा निकै नै महत्वपूर्ण र प्रभावकारी भएको हुँदा पहिले नै हाम्रो गाउँमा आइदिएको भए यतिबेलासम्म लखपती भइसक्ने रहेछु भन्छिन्, कल्पना ।
आजभोली कल्पनालाई घरधन्दा सकेर कतिखेर संगम चोकमा पुँगौं झैं हुन्छ । कमाउनका लागि १ मिनेटको समयले पनि धेरै फरक पार्नेरहेछ भन्ने अनुभव छ उनीसँग । संगम चोकमा पुगिसकेपछि कल्पनालाई न त मोवाइल हेर्ने फुर्सद हुन्छ न त कसैसँग कुराकानी गर्न । मात्र व्यवस्त हुन्छिन्, चटपटे बनाउन र बेच्नमा ।

सुनवल नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ताकाे सहयाेगमा सागर विक्रम बस्नेत 

Share this

प्रतिकृया

Add