एक वर्षमा ३० दुर्घटना, १३ जनाको मृत्यु

 मङ्लबार, साउन ९, २०८० | onlinenews

रामेछाप- रामेछाप जिल्लामा एक वर्षकोबिचमा ३० वटा सवारी दुर्घटना भएको छ भने सो दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापकाअनुसार २०७९ साउन १ गतेदेखि २०८० साउन ७ गतेसम्म जिल्लामा ३० वटा सवारी दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाएका हुन् ।

ट्राफिक प्रहरीकाअनुसार दुर्घटनामा परी ९४ जना घाइते भएका छन । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटना केही कमी आएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३३ वटा सवारी दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए भने ९८ जना घाइते भएका थिए । पछिल्लो समय सवारी दुर्घटना घटेसँगै मृत्यु हुनेको संख्या पनि घट्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक दिपक चौलागाईले जानकारी दिए ।

सवारी जाँचमा कडाइ गर्नुका साथै नियम विपरीत चल्ने सवारीलाई कारबाहीको प्रक्रियामा ल्याइएपछि सवारी दुर्घटना पनि न्यूनीकरण हुँदै गएको उनको भनाइ छ ।

तथ्यांक अनुसार रामेछाप जिल्लामा मोटरसाइकल दुर्घटना सबै भन्दै धेरै हुने गरेको छ । दुर्घटनाका मुख्य कारण ट्राफिक नियम उल्लंघन, गर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिले चलाउने रहेको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी यान्त्रिक गडवडी, सडकको अवस्था लगायत पनि दुर्घटनाको कारण रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानी जस्ता मानवीय त्रुटि नहुने हो भने सवारी दुर्घटना न्यूनीकरण हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख चौलागाइको भनाइ छ ।

प्रतिकृया

Add