लम्पी स्किनबाट रामेछापमा ३८१ चौपायाको मत्यु

 बिहिबार, साउन ११, २०८० | onlinenews

 

 रामेछाप –लम्पी स्किन संक्रमणबाट रामेछाप जिल्लामा ३ सय ८१ चौपायाको मृत्यु भएको छ भने २१ हजार बढी पशु चौपाया संक्रमित भएका छन् । लम्पी स्किनबाट जिल्लाभरीका २१ हजार २५ पशु चौपाया संक्रमित भएका छन् ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा ५, लिखु तामाकोसी गाउँपालिकामा १ सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० वटा गाईगोरु मरेको सम्बन्धित पालिकाका पशु सेवा शाखाले जनाएको छ ।

रामेछाप नगरपालिकामा हालसम्म २ हजार १ सय ९०, मन्थली नगरपालिमा ४ हजार, लिखु तामाकोसी गाउँपालिकामा ५ हजार २ सय, गोकुलगंगा गाउँपालिकामा ४ हजार, खाँडादेवी गाउँपालिकामा २ हजार, उमाकुण्ड गाउँपालिकामा २ हजार र सुनापती गाउँपालिकामा १ हजार ६ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पालिकाहरुले जनाएको छ ।
जिल्लाको दोरम्बा सैलुङ्ग गाउँपालिकासँग भने लम्पी स्किन रोगका कारण के कति पशु प्रभावित भए भन्नेबारे कुनै तथ्याङ्क नै छैन । हालसम्म लम्पी स्किन रोगबाट के कति पशु प्रभावित भए भन्ने कुराको तथ्याङ्क आफूहरूसँग नरहेको दोरम्बा सैलुङ्ग गाउँपालिका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले बताए । ‘दोरम्बा सैलुङ्ग गाउँपालिकामा लम्पी स्किन रोगबाट भएको क्षतिबारे केही तथ्याङ्क छैन, अब केही समयपछि तथ्याङ्क सङ्कलनको काम गर्ने तयारी छ, उनले भने ।

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाहरूले निःशुल्क भ्याक्सिन प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधी पनि वितरण गरिएको स्थानीय तहहरूले जनाएका छन् ।
लम्पी स्किन रोगबाट संक्रमित एउटा पशुको कूल उपचार खर्च ७ देखि १० हजार रुपैयाँसम्म लाग्ने भएकोले सम्पूर्ण उपचार खर्च पालिकाले बेहोर्न सक्ने स्थिति नरहेको अधिकारीहरूको भनाइ छ । लम्पी स्किन रोगका कारण जिल्लाका किसानहरूले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको गोकुलगंगा गाउँपालिका पशु पन्छी विकास शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुयाँलले बताए । ‘लम्पी स्किन रोग सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको र गोरु बिरामी पर्दा रोपाइँमा समस्या हुनुका साथै पशु उपचारमा किसानले आर्थिक व्ययभार बेहोर्नु परेको उनको भनाइ छ ।

प्रतिकृया

Add