रामेछापमा आत्महत्याका घटना बढ्दो, एक वर्षमा ५१ जनाले गुमाए ज्यान

 शुक्रबार, साउन १२, २०८० | onlinenews

 

 रामेछाप- रामेछाप जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढेको छ । आर्थिक वर्ष २०७९/०८० एक वर्षको अवधिमा ५१ वटा आत्महत्याका घटना घटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएको विभिन्न १ सय ८८ वटा घटना मध्य ५१ वटा आत्महत्याका घटना रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापकाअनुसार गत आर्थिक वर्ष रामेछापमा ४३ जनाले झुण्डिएर र ८ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् ।

शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले एक वर्षमा प्रहरीले सञ्चालन गरेको गतिविधि, जिल्लाको शान्ति सुरक्षाको अवस्था साथै जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।

जिल्लामा आत्महत्याको घटना बढ्नु चिन्ताको विषय भएको डिएसपी पराजुलीले बताए । आत्महत्या न्यूनीकरणका लागि प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि न्यूनीकरण हुन नसकेको भन्दै यसका लागि सरकार साथै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा २६ जनाले झुण्डिएर र १४ जनाले विष सेवन गरी आत्महत्या गरेको घटना प्रहरी कार्यालयमा दर्ता भएको थियो । डिएसपी पराजुलीले भने– अघिल्लो वर्ष भन्दा आर्थिक वर्ष २०७९/८० मा आत्महत्याका घटना बढेको छ ।

गएको एक वर्षको अवधिमा भवितव्य ज्यानका ३७, अभद्र व्यवहार कसुरका २६, फुटकर ज्यान १५, जबजस्ती करणी १२, सवारी ज्यान ५, लिखत सम्बन्धी कसुर ५, ज्यान मार्ने उद्योगका ४, कर्तव्य ज्यानका ४ र जबरजस्ती करणी उद्योगका ३ वटा घटना जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएको डिएसपी पराजुलीले जानकारी दिए ।

डिएसपी पराजुलीकाअनुसार आर्थिक वर्ष २०७८/०७९ मा भवितव्य ज्यानका ३६, अभद्र व्यवहार कसुरका २९, फुटकर ज्यानका ११, जबरजस्ती करणीका १७, सवारी ज्यानका ४, लिखत सम्बन्धी कसुरका २, ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान १ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना दर्ता भएका थिए ।
गत आर्थिक वर्षमा अपराध सम्बन्धी १ सय ८८ वटा उजुरी दर्ता भएको तथा अपराधमा सम्लग्न मध्य १ सय ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर असुन्धान गरेको र १७ जना अझै फरार रहेको पराजुलीले बताए । फरार रहेकाहरुको खोजीकार्य भइरहेको पनि उनले बताए ।

त्यसैगरी विभिन्न कसुरमा अदालतबाट सजाय फैसला भएपछि फरार भएका ४३ जना प्रतिवादीलाई पक्राउन गरी अदालतमा हाजिर गराएको प्रहरीले जनाएको छ । जसबाट २९ वर्ष १० महिना कैद सजाय र २ करोड १ लाख ८० हजार १ सय ७५ रुपैयाँ जरिवाना असुलउपर भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा अदालतबाट सजाय फैसला भएका ३० जना अभियुक्तहरू पक्राउ परेका थिए । गत आर्थिक वर्षमा जातीय छुवाछुत र बोक्सी आरोपजस्ता सामाजिक अपराधका घटना भने एउटा पनि नआएको प्रहरीले जनाएको । जनचेतनामूलक कार्यक्रमहरुको प्रभावले जातीय छुवाछुत र बोक्सी आरोपजस्ता घटना नघटेको प्रहरीको भनाइ छ ।

त्यसैगरी गत आर्थिक वर्षमा सदरमुकाम मन्थली, खाँडादेवी गाउँपालिकाको सित्खा र लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा सहित ७२ थान सिसि क्यामेरा जडान गरेकोे छ । जनचेतनामूलक कार्यक्रम अन्तर्गत विभिन्नि विद्यालयहरुमा ३ सय ४२ वटा कार्यक्रमहरु सञ्चालन गर्नुका साथै पालिकाहरुमा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको डिएसपी पराजुलीले बताए । यात्रुहरुको सुरक्षाका लागि यात्रुसँग ५ मिनेट कार्यक्रम, सवारी चालकहरुसँग अन्तक्र्रिया, सवारी यन्त्र जाँच लगायका कार्यक्रमहरु पनि सञ्चालन गरिएको उनले जानकारी दिए । साथै दुर्घटना हुनसक्ने सम्भावित मोडहरुमा ऐना राखिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add