काँग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाउने

 शनिबार, साउन १३, २०८० | onlinenews

रामेछाप– नेपाली काँग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको काँग्रेसले जनाएको छ । केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्देश्यका छन् । पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र देशव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको हो । साङ्गठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्ने छन् ।

 

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । ‘अपूर्ण रहेको कार्यसमिति छ भने सबै संरचनामा पूर्णता दिने कार्य हुन्छ,’ महामन्त्री गगन थापाले भने, ‘बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नुहुन्छ ।’
केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेन्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुने छ । ‘भ्रातृ संस्था, शुभेच्छुक संस्था, विभाग सबैलाई पूर्णता दिन लगाउने काम गर्नुहुन्छ । नयाँ क्रियाशील सदस्य वितरण, नवीकरण, अनलाइन प्रणाली जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ,’ महामन्त्री थापाले भने ।

 

केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यसअनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्ने छन् ।

 

पार्टी भित्र विवादका कारणले आन्तरिक संरचनामा परेको समस्या समाधान गर्न केन्द्रीय सदस्यले भूमिका खेल्ने छन् । जिल्ला कार्यसमितिले अनुशासन सिफारिस गरेकै आधारमा कारबाही भएको भनि बोलचालको अवस्थासमेत नभएको कतिपय स्थानका उदाहरण छन् । ‘अनुशासनको सिफारिस गर्न पाए पनि अन्तिम निर्णायक तलको समिति हुँदैन,’ महामन्त्री थापा भन्छन्, ‘प्रतिनिधि भएर खटिएको केन्द्रीय सदस्यले समाधान गर्न सकिनेलाई मिलाउँछन् । आफूले टुङ्ग्याउन नसक्ने अवस्था भए केन्द्रमा रिपोर्ट ल्याउने छन् ।’

 

दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई समुदायमा आधारित ‘देशव्यापी अभियान’ भनिएको छ । ‘केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ,’ महामन्त्री थापाले जानकारी दिए ।

प्रतिकृया

Add