चौँरीमा फैलियो लम्पी स्किन सङ्क्रमण, २० को मृत्यु ११४ बिरामी

 शनिबार, साउन १३, २०८० | onlinenews

दोलखा- देशभर गाई भैँसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको प्रकोप चौँरी गाईमा पनि फैलिएको छ । दोलखाको उत्तरी हिमाली क्षेत्र कालिञ्चोक, बिगु, भीमेश्वर र शैलुङ क्षेत्रमा पालिएका चौँरीमा लम्पी स्किनको प्रकोप फैलिएको हो । सङ्क्रमणबाट २० ओटा चौँरी मरिसकेका छन् भने १ सय १४ ओटामा सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमणबाट धमाधम चौँरी मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । उनीहरुले सङ्क्रमित चौँरीको उपचारका लागि औषधीसहित पशु चिकित्सकको टोली खटाइदिन आग्रहसमेत गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका अनुसार भीमेश्वर र कालिञ्चोकमा ६/६ ओटा तथा बिगु गाउँपालिकामा ८ ओटा चौँरी मरेका छन् । भीमेश्वरमा ४५, बिगुमा ४०, कालिञ्चोकमा २३ र शैलुङमा ६ वटा चौँरीमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।
अन्य पशुको संसर्गबाट टाढा रहेका तथा उच्च हिमाली क्षेत्रमा रहेका चौँरीमा समेत लम्पी स्किनको सङ्क्रमण देखिएपछि महामारी नियन्त्रण झन् चुनौतीपूर्ण बन्दै गएको छ । रोगका कारण चौँरी मरेपछि चौँरी पालक किसानहरुले लाखौंको क्षति व्यहोर्नु परेको छ । एउटा चौँरी मर्दा कम्तिमा एक लाख रुपैयाँ क्षति हुने किसानहरुको भनाइ छ ।

कालिञ्चोकको कुरी र घ्याङ्डाँडा क्षेत्रमा रहेका चौँरी धमाधम मर्न थालेपछि चौँरी पालक किसानहरु चिन्तित बनेको कालिञ्चोक गाउँपालिका–१ का वडा अध्यक्ष पदमबहादुर थामीले बताए । रोगको सङ्क्रमणलाई नियन्त्रणमा लिएर चौँरीको मृत्यु दरलाई कम गर्न नसकिए चौँरीको अस्तित्व नै खतरामा पर्ने सम्भावना रहेको वडा अध्यक्ष थामीको भनाइ छ ।

कालिञ्चोकको घ्याङ्डाँडा र कुरी खर्कमा रहेका चौँरीहरु लम्पी स्किन सङ्क्रमणबाट मरेको चौँरी पालक किसान तीर्थबहादुर मगर र पासाङ शेर्पाले बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका निमित्त प्रमुख पलट चौधरीले चौँरीमा लम्पी स्किनको प्रकोप तीव्र रुपमा फैलिरहेको र मृत्यु दरसमेत बढ्न थालेको जानकारी दिए ।

मृत चौँरी गाडेको स्थानमा समेत भालु आएर खाएका कारण रोगको सङ्क्रमण अझ तीव्र हुन सक्ने किसानहरुको भनाइ छ । केही दिनअघि कालिञ्चोकको कुरीमा पुगेका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई चौँरी पालक किसानहरुले चौँरी गाईलाई बचाउन औषधीसहितको विज्ञ टोली खटाइदिन आग्रह गरेका थिए ।

 

प्रकोप नियन्त्रणका लागि चौँरी खर्कमा खटिन जनशक्तिको अभाव रहेको र मौजुदा पशु स्वास्थ्यकर्मी समेत अपर्याप्त रहेको भेटेरिनरी अस्पताल चरिकोटले जनाएको छ । गौरीशङ्कर गाउँपालिकामा सङ्क्रमित चौँरीहरुलाई भ्याक्सिन लगाउन टोली पुगे पनि किसानहरुले भ्याक्सिन लगाउन आनाकानी गरेको पशु सेवा विज्ञ केन्द्र दोलखाको भनाइ छ ।

 

साउन २ गतेसम्मको तथ्याङ्कअनुसार दोलखामा २ सय ६० पशु चौपाया लम्पी स्किन सङ्क्रमणबाट मरिसकेका छन् भने ७ हजार ८ सय ३३ चौपाया सङ्क्रमित छन् ।

प्रतिकृया

Add