जिल्ला अस्पताल रामेछापले पायो शववाहन

 सोमवार, साउन १५, २०८० | onlinenews

 

रामेछाप- बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत जिल्ला अस्पताल रामेछापले शववाहन प्राप्त गरेको छ । उक्त शववाहन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सोमवार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई हस्तान्तरण गरेको हो । शववाहन बुधवारसम्म अस्पतालमा आइपुग्ने जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।
जिल्ला अस्पतालमा शववाहन नहुँदा शव बोक्नु पर्ने अवस्थामा समस्या हुँदै आएको थियो । शववाहन कै अभावमा भवितव्य ज्यान गुमाएका मानिसको शव अस्पतालबाट र अन्य ठाउँबाट गन्तव्यमा पु¥याउन साधन नहुँदा सर्वसाधारणले समस्या व्यहोर्दै आएका थिए ।

जिल्लाको विभिन्न ठाउँबाट शव पोष्टमार्टम गर्न अस्पतालसम्म ल्याउन र अस्पतालबाट शव दाहसंस्कारका लागि लैजानसमेत समस्या थियो । डेढ वर्षको प्रयासबाट जिल्ला अस्पताल रामेछापले शववाहन प्राप्त गरेको अस्पताल विकास समितिका अध्यक्ष पाख्रिनले बताए । जिल्ला अस्पतालमा शववाहन नहुँदा विभिन्न समस्या भोग्नु परेको भन्दै अब त्यो समस्या हटेको बताए ।
सोमवार प्रदेश मन्त्रालयले जिल्ला अस्पताललाई हस्तान्तरण गरेको शववाहन मंगलवार यातायात कार्यालयमा दर्ता प्रक्रिया पूरागरी बुधवार जिल्ला अस्पतालमा आइपुग्ने अध्यक्ष पाख्रिनले जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त शववाहन सञ्चानलको लागि जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर अघि बढ्ने पाख्रिनको भनाइ छ ।

प्रतिकृया

Add