तरुणदल लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सँधै अग्रस्थानमा रहने छ : बुढाथोकी

 बिहिबार, साउन १८, २०८० | onlinenews

 

रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुको सामान्य परिवारमा जन्मिएका सुशील सानै उमेरदेखि केही गर्नु पर्छ भन्ने स्वभावका थिए । विद्यालय सम्मको अध्ययन गाउँमा नै सकेर राजधानी प्रवेश गरेका उनले आफ्नै व्यवसाय संचालन गर्दै समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाए । केही लाभको पद नलिएका सुशील बुढाथोकी तरुण दलको केन्द्रिय सदस्य मनोनित भएपछि हाम्रो अनलाइन न्यूजले बुढाथोकीसँग गरेको कुराकानीको सम्पादित अंश ।

 

तरुणदलको केन्द्रिय सदस्य हुनु भयो कस्तो अनुभव गर्नु भएको छ ?

अनुभव भन्दा पनि पार्टीले उचित मूल्यांकन गरेको भन्ने लाग्छ । लामो समय नेपाली काँग्रेसमा लागेर कुनै पद लिएको र दावि गरेको पनि थिइँन । त्यसैले पनि पार्टीले मलाई उपयुक्त मानेर मनोनित गरेको हो ।

तरुणदल भनेको त पार्टीको लडाकु संगठन हो भन्छन् नि हो ?

देशमा प्रजातन्त्र स्थापनार्थ पार्टीले लडाकु संगठनको रुपमा खडा गरेको भएपनि पछिल्लो समय वैचारिक संगठनको रुपमा परिस्कृत र परिमार्जित हुँदै गएको संगठन हो । वैचारिक संगठन भएकै कारण आम युवाहरूको आकर्षणको केन्द्र बनेको छ । देशमा संकट आइपर्यो र लोकतन्त्र, गणतन्त्र र देशको स्वाभिमानमा ठेस लाग्ने अवस्था आए लडाकु संगठनको रुपमा पनि उत्रन तयार छौँ ।

अब तरुण दल कसरी अगाडि बड्छ ? नयाँ कि पुरानै शैलीमा ?
अबको तरुण दल भनेको युगले खोजेको युवाले रोजेको र समय साथै परिवर्तित समय अनुसार चल्ने छ । यसलाई अझ सशक्त र चलायामन बनाएर लगिने छ । अझ भन्ने हो भने पार्टीलाई पनि हरेक निर्वाचनमा पहिलो बनाउन आम तरुण युवालाई एकै ठाउँमा समहित गर्दै अगाडि बढ्ने छ ।

लामो समयसम्म जिल्ला तथा केन्द्रको अधिवेशन हुन सकेको छैन नि ?
स्वाभाविक प्रश्न गर्नुभयो । अब हाम्रो नेतृत्वले समयमै अधिवेशन गराएर नयाँ नेतृत्व हस्तान्तरण गर्ने छ । अब चिठी लिने र दिने काम पनि बन्द हुनेछ ।

तपाइँको नाम केन्द्रिय सदस्यमा एकैपटक आउँदा विरोध गर्ने पनि भए होलान् नि ?
राजनीतिमा स्वाभाविक हुन्छ यस्ता कुराहरू । केही कारण नै चाहिँदैन अकारण सत्रु हुन्छन् । तर मेरो नामको विषयमा कसैले पनि विरोध गरेको पाएको छैन । सबैलाई सहि पात्र छनोट भएको छ अगाडि बढ्नु भन्ने हौसला पाएको छु ।

गुटबन्दीले चरम सिमा नाघेको छ भन्छन् नि ? तपाईंकोको गुट चाहिँ कुन हो नि ?

लोकतान्त्रिक पार्टीमा स्वाभाविक हो । कम्युनिष्टहरूमा त देखिन थालिसक्यो । नेपाली काँग्रेस लोकतान्त्रिक र वाक स्वतन्त्रताको लागि लडेको पार्टी भएकै कारण फरक मत राख्नु र विचार मिल्नेहरूको समूह बन्नु लोकतन्त्रको सुनौलो अभ्यास हो भन्ने लाग्छ ।

तपाईंले केन्द्रिय सदस्य भएर त्यहाँ कस्तो परिवर्तन गराउने लक्ष्य लिनु भएको छ ?

मेरो लक्ष्य भनेको आधुनिक र वैज्ञानिक तरिकाले संगठन चलाउने हो । आम युवाहरूलाई नेपालमा नै रोजगारीको अवसर सृजना गराएर विदेशीनबाट रोक्ने हो । युवाको तनमनमा तरुण दल हो भन्ने आभास दिलाउने लक्ष्य लिएको छु । म व्यवसाय र समाजसेवा मार्फत राजनीतिमा आएको हुँ । मैले व्यक्तिगत लगानिमा संचालन गरेको व्यवसायबाट मात्रै तीन दर्जन युवाहरूलाई रोजगार दिएको छु । राज्यलाई घच्घच्याएर रोजगारीको अवस्था सृजना गर्न प्रयत्न गर्ने छौ ।

अन्त्यमा आम तरुण युवालाई के भन्नु हुन्छ ?
सम्पूर्ण तरुण युवालाई आह्वान गर्न चाहन्छु तपाईं सबै तरुणदलमा आवद्ध हुनुहोस् सबै मिलेर सहकार्य गरेर अगाडि बढौँ । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि हामी सधै तयार हुनुपर्छ । सम्पूर्ण युवा तरुण साथीहरू आउनुहोस् हातमाहात काँधमा काँध मिलाएर अगाडि बढ्ने छौ भन्न चाहन्छु ।

प्रतिकृया

Add