शिक्षकहरु नयाँ शिक्षा ऐन विरुद्ध आन्दोलनमा

 शनिबार, साउन २०, २०८० | onlinenews

 

रामेछाप - मन्त्री परिषदबाट स्वीकृत भएर संसदमा लैजाने तयारीमा रहेको शिक्षा ऐन २०८० विरुद्ध २०७५ साल चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ आउन लागेको शिक्षा ऐनमा २०७५ चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरुलाई योगदानका आधारमा पेन्सन दिने नीति ल्याएको भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षा ऐन २०२८ अनुसार नियुक्त भएका सबै शिक्षकहरुको निवृत्तिभरण (पेन्सन)को दायित्व नेपाल सरकारले लिएको तर जारी हुन लागेको शिक्षा ऐनमा योगदानमा आधारित पेसन्न दिने नीति आउन लागेपछि पुरानै शिक्षा ऐनअनुसार पेन्सन पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
२०७५ साल चैत्रपछि स्थायी भएका रामेछाप जिल्लाका शिक्षकहरुको अन्तरक्रिया तथा भेलाले जिल्ला सङ्घर्ष समन्वय समिति समेत गठन गरेको छ । शनिवार सम्पन्न भेलाले सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारका प्रधानाध्यापक भीम नेपालीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सङ्घर्ष समन्वय समिति गठन गरेको हो ।


भेलाले पालिका स्तरीय सङ्घर्ष समन्वय समितिका संयोजकहरु समेत तोकेको छ । जसमा देविका पौडेल मन्थली नगरपालिका, सन्तोष कार्की खाँडादेवी गाउँपालिका, बिक्रम विसुङ्खे सुनापती गाउँपालिका, प्रेमबहादुर थापा मागर दोरम्बा शैलुङ गाउँपालिका, स्वतन्त्र मोक्तान लिखु तामाकोसी गाउँपालिका, जितबहादुर तामाङ गोकुलगङ्गा गाउँपालिका र सरिता आचार्यलाई उमाकुण्ड गाउँपालिको सङ्घर्ष समन्वय समितिको संयोजक तोकिएको छ ।
पालिका सङ्घर्ष समितिका संयोजकहरु र २०७५ चैत्र ४ गतेपछि स्थानीय भएका जिल्लाका सबै शिक्षकहरु जिल्ला सङ्घर्ष समन्वय समितिका सदस्य हुने छन् ।
नेपाल शिक्षक महासंघ रामेछापका अध्यक्ष शङ्कर ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाका अतिथिहरुमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रामेछापका अध्यक्ष चक्रलाल श्रेष्ठ, नेपाल शिक्षक संघका उपाध्यक्ष लक्ष्मी बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष केशर श्रेष्ठलगायत रहेका थिए । भेला तथा अन्तक्र्रिया कार्यक्रममा २०७५ चैत्र ४ गतेपछि स्थायी भएका ५४ जना शिक्षकको उपस्थिति रहेको थियो ।
भेलाले शिक्षा ऐन २०२८ अनुसार नियुक्ति भएका सबै शिक्षकहरुको निवृत्तिभरण (पेन्सन)को दायित्व नेपाल सरकारले लिएको तर जारी हुन लागको शिक्षा ऐनमा योगदाको आधार पेसन्न भन्ने आएकाले पुरानै पेन्सन पाउनको लागि राज्यसँग जोडदार माग गरिएको सङ्घर्ष समितिका संयोजक भीम नेपालीले जानकारी दिए ।
त्यसै गरी भेलाको अनुरोध अनुसार नेपाल शिक्षक महासंघ रामेछापले विज्ञप्ति प्रकाशित गरी केन्द्रमा जानकारी गराउने निर्णय भएको पनि नेपालीले बताए । त्यसैगरी माग पूरा गराउनका लागि आफूहरु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको नेपालीको भनाइ छ ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Narayan

    good