अचार बेचेरै महिनाको १० हजार कमाइ

 शनिबार, साउन २७, २०८० | onlinenews

 

इलाम- मायाको श्रीमान कमाउन मलेसिया गएको ६ वर्ष भयो । उनको परिवार श्रीमान/श्रीमती, सासु, ससुरा, १ छोरा र १ छोरी गरी ६ जनाको छ । श्रीमान विदेश गएपछि ६ जनाको परिवार धानेर बसेकी माया उमेरले अहिले ३५ वर्षकी भइन् । घरको कमाइले ५ महिना पनि धान्दैन । उनको १२ वर्षका छोरा कक्षा ७ मा र १८ वर्षकी छोरी कक्षा १२ मा सरकारी विद्यालयमा पढ्छन् । ससुरा दम, यूरिकएसिडको बिरामी छन् । ससुरालाई दवाई किन्न महिनामा १ हजार ४ सय चाहिन्छ । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नं १३, लक्ष्मीपुर घर भएकी मायाको श्रीमान परेदश लागेपछि परिवारका अनेकन् जिम्मेवारी आइलागे । मायाले सासु सुसुराको लागि छोरा बन्नु पथ्र्यो भने छोराछोरीको लागि बुबा पनि । घरधन्दा, चुलोचौकादेखि घाँस, दाउराको जोहो गर्न समेत आफै खटिनुपथ्र्यो । घरको कामले फूर्सदै नपाउने माया आजभोली अचार बनाउने काममा व्यस्त छिन् । तर उनको गाउँमा वित्तीय साक्षरता कक्षा चल्नु अघिसम्म उनी घरधन्दामा मात्रै सीमित थिइन् ।


आर्थिक वर्ष २०७८/०७९ मा सूर्योदय नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्यो । श्रीमान विदेशमा भएको र श्रीमानले पठाएको पैसा आफैले व्यवस्थापन गर्ने भएको हुँदा माया वित्तीय साक्षरता कक्षामा जान थालिन् । कक्षामा जान थालेपछि मायाले विदेशको अफ्ट्यारो र सारोगाह्रोका बारेमा जानकारी पाइन् । अनि बल्ल परदेशमा श्रीमानले बगाएको श्रमको पनि मूल्य बुझ्न थालिन् मायाले । २४ हप्तासम्म चल्ने कक्षामा जान थालेपछि मायालाई आफूले पनि पैसा कमाउने काम गर्न सकिने रहेछ भन्ने लाग्यो । तर के काम गरेर पैसा कमाउने भन्ने कुराको निर्णय भने लिन गाह्रो भयो उनलाई ।
सुर्योदय नगरपालिकाले उद्यम विकास कार्यक्रमबाट गाउँकै कच्चपदार्थ प्रयोगबाट बनाउन सकिने पाँच किसिमको अचार उत्पादन र प्याकेजिङ गर्ने तालिम आयोजना गर्यो । सो तालिममा माया पनि सहभागि भइन् । तालिमले मायालाई पनि उद्यमी बन्न सक्ने सपना देखायो । माया तालिममा सहभागी हुँदाका बखत पनि अचार बनाउन अरुभन्दा माहिर थिइन् । आफूले अचार बनाउने सीप पाएपछि माया घरमै अचार बनाएर बिक्री गर्दै आएकी छन् ।

माया अकबरे खुर्सानी, मेथी, मूला, गाँजर, बन्दागोवी र मिक्स प्रजातिको अचार बनाएर बिक्री गर्दै आएकी छन् । मायाले बनाएको अचार नजिकैको लक्ष्मीपुर बजार, फिक्कल र इलाम लगायतका बजारमा बिक्री हुने गरको छ । उनी हरेक महिना विभिन्न तौल र फरक फरक स्वादका ४० देखि ५० वट्टा अचार तयार गरी बिक्री गर्छिन् । सुरुमा श्रीमानले अचार बनाएर बेच्नको लागि मलेसियाबाट १० हजार रुपैया पठाइदिएका थिए । अहिले माया अचार बेचेर नै महिनाको १० हजार कमाउछिन् । आफूले कमाएको पैसाबाट उनले बिरामी ससुराको खर्च, छोराछोरीको पढाइ खर्च र घरखर्च समेत धानेर महिनाको १ हजार रुपैयाँ आफू सदस्य रहेको आप्रवासी बहुउदेश्य सहकारी संस्थामा बचत समेत गर्छिन् ।
उनले आफ्नै हातले बनाएको अचार सुर्योदय नगरपालिकाले फिक्कलमा आयोजना गरेको कृषि प्रर्दशनी मेलामा समेत लगेर बिक्री गरिन् । मायाले मेलामा अचार बेचेर पैसा मात्र कमाइनन् आफूले बनाएको अचारको बारेमा जिल्लाभरी प्रचार समेत गरिन् । अहिले जिल्लाबाट पनि अचारको माग आउन थालेको माया बताउछिन् ।

वैदेशिक रोजगारीमा जानेहरुको परिवारलाई राखेर चलाएको कक्षाले मलाई उद्यमी बनायो । श्रीमान त काम र दामकै लागि विदेश जानुभएको थियो । म समेत श्रीमान विदेश गएकै कारणले उद्यमी बन्ने अवसर पाएँ मायाले भनिन् । माया आफैले कमाउन थालेपछि समाजले हेर्ने दृष्टिकोण नै बदलिएको बताउछिन् । आफू धेरै समय घर र अचार बनाउने धन्दामा व्यवस्त हुँदा अरुले कुरा काट्ने बाटोसमेत बन्द भएको छ माया भन्छिन् । अचार बनाउने कामले मायाको परिवारमा आम्दानीको स्रोत थपिएको छ भने समाजमा मान प्रतिष्ठा समेत प्राप्त भएको छ, उनी भन्छिन् । कक्षाको कारणले पहिले र अहिलेको अवस्थामा आकाश र जमिन जत्तिकै भिन्नता आएको मायाले बताइन् । अहिले माया उद्यमी बन्छु भन्नेहरुलाई निःशुल्क रुपमा अचार बनाउने सीप समेत सिकाउदै आएकी छन् ।

सूर्योदय नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर बिक्रम बस्नेत

प्रतिकृया

Add