वित्तीय कक्षाको प्रभावले श्रीमान विदेशबाट फर्किए, छोरा भन्छन्, केक काट्ने पैसाले बिमा गरिदिनु

 शनिबार, भदौ २, २०८० | onlinenews

 

स्याङ्जा– सात वर्ष अघि स्याङ्जा जिल्लाको हरिनासबाट बसाइ सरेर तनहँु जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ लाई कर्मथलो बनाएकी ३९ वर्षीया प्रतीभा भट्टराईले भोटेपानी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेर २१ हप्ता बिताइसकेकी छन् । कक्षामा नियमित सहभागी हुँदै आएकी प्रतीभा कक्षामा आउनु अघि व्यवसायलाई ध्यान नै दिदैन थिइन् ।
प्रतीभाको श्रीमान १३ वर्ष अघि पहिलोचोटी कतार गए । श्रीमान कतार जाँदा प्रतीभालाई दुःखका दिन सकिए झैँ लागेको थियो । उनलाई विदेशमा पैसाको बोट नै हुन्छजस्तो लाग्थ्यो । श्रीमान विदेश गएदेखि नै प्रतीभा कहिले महिना मर्छ र श्रीमान्को तलब हाता लाग्छ भनेर दिन गनेर बस्थिइन् । भनेजति र समयमै पैसा नपठाए रिसाउने अनि श्रीमानसँग झगडा गर्न तम्सिहाल्ने प्रतीभालाई वित्तीय साक्षरता कक्षाका बिषयले मन छोयो । श्रीमानको कमाइले घर र आफ्नो चाहना पूरा गर्दै आएकी उनलाई श्रीमानले पठाएको पैसाले महिना धान्न समेत मुस्किल पथ्र्यो ।
नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, शुक्लागण्डकी नगरपालिकाको नेतृत्व तथा हेल्भेटासको प्राविधिक सहयोगमा नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको थियो । डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा प्रतीभा पनि नियमित आउन थालिन् । कक्षामा नियमित आउन थालेपछि उनले दैनिक रुपमा हुने खर्च र आम्दानीको विवरण छोरालाई टिप्न लगाएर राख्न थालिन् । आफूले टिपेको हिसाबले आफ्नै मन बुझाउनका लागि गरिने खर्च नियन्त्रण गर्न अनि श्रीमानले विदेशबाट पठाएको पैसा के–केमा खर्च भएको छ भन्ने बुझाउन समेत सजिलो भएको प्रतीभाले बताइन् ।


घरमा हुने खर्चको हिसाब राख्न थालेपछि मेरा छोरो पनि खर्च गर्न डराउने भयो, उनले भनिन् “हरेक वर्ष आफ्नो जन्म दिनमा केक काट्ने र साथीभाइ बोलाएर खर्च गर्न जिद्दि गर्ने छोरो मुसा गुरुको कथा पढेपछि साटिएजस्तै भयो । कथामा झैं थोरै–थोरै बचत गरेको पैसाले पनि भविष्यमा आइपर्ने ठुलो खाँचो टार्न सक्ने रहेछ भन्ने थाहा पायो । पैसाको महत्व बुझेपछि छोरो पनि पैसा खर्च गर्न डराउँछ ।” मुसा गुरुको कथापछि किताबमा भएको भविष्य सुरक्षाको लागि बिमाको महत्वको बारेमा लेखेको कुरा पनि पढ्यो र यसपालीको जन्मदिनमा छोराले भने– “जन्मदिन मनाउन खर्च गर्ने पैसाले मेरो बिमा गरिदिनु, म जन्मदिनमा केक काट्दिन बरु साथीहरुलाई चकलेट खुवाउँछु ।” यसरी कक्षाको पाठ पढेर छोराले समेत त्यस्तो कुरा गर्यो । म दंग भएँ । मैले पनि छोराले भनेझैं उसको बिमा गरिदिएको छु । छोरो पनि बिमा गरेको थाहा पाएर खुसी भएको छ, उनले भनिन् ।
श्रीमान घरमा नहुँदा प्रतीभाले गरेका दुःख बयान गरिनसक्नुका छन् । कक्षामा गएपछि विदेशमा गर्ने दुःख घरदेशमा नै गर्यो भने नहँुने भन्ने केहि रहेनछ भन्ने लाग्यो प्रतीभालाई । उनले श्रीमानलाई भनिन् । “विदेश बस्न थालेकै १३ बर्ष भइसक्यो, अब फर्कनुस् यहि बसेर दुःख गरौँला ।” श्रीमानले पनि प्रतीभाका योजना सुनेपछि फर्कने मन गरे ।……..अहिले श्रीमान कतारबाट फर्किएका छन् ।
प्रतीभाले कक्षामा गएपछि गाईपालन व्यवसाय सुरु गरिन् । श्रीमान कतारबाट फर्किएपछि उनले गाई थपिन् । उनले अहिले २ वटा जर्सी गाई, १० वटा बाख्रा र बजारमा स्थानीय जातका कुखुराको राम्रो बजार भएको कारण ६० वटा स्थानीय जातका कुखुरा पालेकी छन् । गाई, बाख्रा र कुखुराको मल खेर जाने भएपछि उनले आफ्नै बारीमा तरकारी खेती समेत सुरु गरेकी छन् । अहिले प्रतीभाको दम्पत्तीलाई गोठ र बारीको कामले भ्याइनभ्याइ छ ।


गाई पाल्ुन अघिसम्म दूध किनेर खाने प्रतीभा अहिले गाईको दूध घर–घरमा पुर्याइदिन जान्छिन् । दूध लैजादा तरकारी समेत लिएर जाने उनी घरघर पुगेर तरकारी समेत बिक्री गर्छिन् । उनी कक्षामा सिकेझैं गरी दूध र तरकारीबाट भएको आम्दानी खर्चको हिसाब पासबुकमा लेख्ने गरेकी छन् । पहिले छोरालाई हिसाब टिपाउने प्रतीभाको श्रीमान फर्किएपछि श्रीमानले टिप्न थाल्नु भएको छ प्रतीभाले भनिन् । मासिक आम्दानी खर्चको हिसाबले महिनामा ४५ हजारदेखि ५० हजारसम्म कमाइ हुने कुरा बोलेको छ, उनी मुस्कुराइन् । प्रतीभाको घर खर्च अनि ९ र १० कक्षामा पढ्ने छोराछोरीको पढाइ खर्च दूध र तरकारी व्यवसायले सजिलै धानेपछि उनले सहकारी संस्थामा महिनाको ५ हजार बचत गर्न थालेकी छन् । प्रतीभालाई अरुको कुरा काटेर र दिनभरी बातमारेर बस्ने फुर्सद नरहेको बताउछिन् । घरमा बसेरै दुःख गर्यो भने विदेशमा कमाएजति पैसा यही कमाउन सकिन्छ भन्ने उनी गाउँका साथीहरुलाई पनि भन्छिन् । कमाउनु भन्दा पनि भएको पैसालाई बचत गर्न र खर्चको वर्गिकरण गरेर खर्च गर्न जान्यो भने मात्र लक्ष्मीले घरमा बास गर्छिन्, भन्छिन् प्रतीभा ।
प्रतिभाको श्रीमानलाई आजभोली झन् फुर्सद नै छैन । घर, गोठ र बारीको काम सकेर मोबाइलमा अनलाइन पढ्छन् । आजभोलीका युवा पिंढीसमेत ज्योतिष विद्यामा चासो राख्ने भएको र यहि विद्या राम्रो जान्यो भने कमाई पनि राम्रो हुने भएको हुँदा आफूले ज्योतिष विद्या पढ्न थालेको बताए प्रतीभाका श्रीमान् । अब हामीले गरेको दुःख र ज्योतिष विद्या पढेर मेरो पनि कमाइ हुन थालेपछि खेत किन्ने र कुखुरापालन व्यवसाय बढाउने योजना छ, उनले भने । प्रतीभालाई वित्तीय साक्षरता शिक्षा गृहिणी र पैसा चलाउनेहरुले मात्र नभएर बिद्यालयमा पढ्दै गरेका आफ्ना छोराछोरीहरुलाई समेत सिकाउनु पर्छ भन्ने लागेको छ ।

शुक्लागण्डकी नगरपालिका, तनहुँको वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर बिक्रम बस्नेत

प्रतिकृया

Add