योजना समृद्धिको, कार्यान्वयन फितलो

 शुक्रबार, भदौ ८, २०८० | onlinenews

 

रामेछाप– रामेछापको मन्थली नगरपालिकाले आगामी २०८१ जेठ मसान्तसम्म मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ । सोही अनुसार नगरपालिकाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । अहिले बालमैत्री स्थानीय शासन घोषणाको तयारी अन्तर्गत सूचकहरुमा भएको प्रगतिबारे प्रारम्भिक छलफल गरिरहेको छ ।
जस अन्तर्गत शुक्रवार बालमैत्री स्थानीय शासनयुक्त वडा, नगरपालिका, घोषणा तथा दीगोपनामा सञ्चारकर्मी तथा सङ्घ संस्थाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । अन्तक्र्रिया कार्यक्रममा बालसंरक्षण सूचकको हालको अवस्था बारे छलफल भएको थियो । बालमैत्री स्थानीय शासन लागू गर्न पालिका अन्तर्गतका वडाहरु महत्वपूर्ण पक्ष हो । वडा कार्यालयहरुले सूचकहरु कार्यान्वय गरेमा नगर स्वतः बालमैत्री स्थानीय शासनयुक्त हुने छ । नगरको समृद्धिसँग जोडिएको यति महत्वपूर्ण विषयमा अन्तक्र्रिया तथा वडाहरुको बालसंरक्षणका सूचक मापन बारे छलफल भइरहँदा मन्थली नगरपालिकाको १४ वडा मध्ये केही वडाका बाहेक वडाध्यक्षहरु कार्यक्रममा सहभागि थिएनन् ।

बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकहरु मध्ये शुक्रवारको अन्तक्र्रिया कार्यक्रममा बालसंरक्षण सम्बन्धी ८ वटा सूचकहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष तथा वडा सदस्यले आफ्नो वडाको बालसंरक्षण सूचकको हालको अवस्थाका बारेमा अनुमानित तथ्याङ्क प्रस्तुत गरेका थिए । कार्यक्रममा अधिकांश वडाहरुबाट सहभागि नै थिएनन् ।
सो कार्यक्रममा वडाहरुको सहभागिता न्यून हुनुने आगामी जेठ मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य नगरले लिए पनि तयारीको अवस्था भने एकदम फितलो रहेको प्रष्ट भएको छ । कार्यान्वयन पक्ष फितलो भएपछि सपना देखेरमात्र समृद्धि नआउने सरोकारवालाहरु बताउँछन् ।
अन्तत्र्रिmया कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बालमैत्री स्थानीय शासन घोषणा तयारी अन्तर्गत नगरको सबै वडाहरुमा बाल समूह गठन, युवा समूह गठन, नगरपालिको १४ वटै वडाहरुमा सहजकर्ता परिचालन गरिएको बताए । सहजकर्ताहरुले वडाका प्रत्येक घरमा पुगेर विवरण सङ्कलन गरिसकेको नगरप्रमुख श्रेष्ठले बताए । पछिल्लो समय स्वास्थ्य, शिक्षाको सूचकको अवस्था मापन र सङ्घ संस्थाहरुको भूमिकाको विषयमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको बताए । बालमैत्री स्थानीय शासन घोषणा तयारी अन्तर्गत अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भएको र अझै ७५ प्रतिशत काम गर्न बाँकी रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । समयमै बालमैत्री स्थानीय शासन नगर घोषणा गर्र्नको लागि सबै वडाहरुले अपनत्व लिएर काम गर्नुपर्ने उनले बताए ।
बालमैत्री स्थानीय शासन तालिमको राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चतुर्वेदीले मन्थली नगरपालिकाले २०७९ पौष ९ र १० गते नीतिगत रुपमा प्रक्रियागत कार्यान्वयनका लागि अबलम्बन तथा अभिमुखीकरण कार्यक्रम नगरस्तरमा २ दिन र जेठ महिना सम्ममा १४ वटै वडामा एकएक दिनको बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत रुपले अबलम्ब गरी प्रतिवद्धता गरिसकेको बताए । शुक्रवार मन्थलीमा आयोजना गरिको बालमैत्री स्थानीय शासनयुक्त वडा, नगरपालिका, घोषणा तथा दीगोपनामा सञ्चारकर्मी तथा सङ्घ संस्थाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बालसंरक्षण सूचक प्राप्तिको तथा तयारीको लागि प्रारम्भिक सूचक मापन भएको बताए । यो अन्तक्र्रियाले सूचक प्राप्तिमा सकारात्मक सन्देश दिएको बताए ।
शुक्रवारको अन्तक्र्रियामा ५१ वटा सूचक मध्य ८ वटा सूचक मापन गर्दा बाल विवाह हुने गरेको, निकृष्ट बालश्रम रहेको, बालबालिकामा हिंसा र दुव्र्यवहार रहेको, समुदायमा आधारित बालसंरक्षण प्रणाली कमजोर रहेको पाइएको बताए । स्वास्थ्य, शिक्षा र सङ्घ संस्थाहरुसँग गरी तीन चरणमा भएको छलफलबाट आपूmले सूचकको अवस्था कमजोर पाएको उनको भनाइ छ । बालमैत्री शासन घोषणाको लागि पूरा गर्नुपर्ने ५१ वटा सूचक मध्ये मन्थली नगरपालिकाले ३२ वटा मात्र प्राप्ति गरेको चतुर्वेदीले बताए । ५१ वटा सूचक मध्ये ३८ वटा १०० प्रतिशत, ७ वटा न्यूनतम ८० प्रतिशत र ७ वटा सूचक ९५ प्रतिशत प्राप्त गर्नुपर्ने भएकाले आगामी जेठमा बालमैत्री स्थानीय शासन नगर घोषणा हुने सम्भावना कम रहेको बताए । यद्यपि वडाहरु भने क्रमशः बालमैत्री शासनयुक्त घोषणा हुँदै जाने बताए ।

प्रतिकृया

Add