रामेछापको मन्थीमा नेवा खलले गाईजात्रा मनाउँदै

 मङ्लबार, भदौ १२, २०८० | onlinenews

रामेछाप– नेवा खलले रामेछापको सदरमुकाम मन्थलीमा यस वर्ष गाईजात्रा मनाउने भएको छ । श्रावण कृष्ण प्रतिपदाको दिन मनाइने यो पर्व मलमास तथा पुरुषोत्तम महिना परेको वेलामा भाद्र कृष्ण प्रतिपदाको दिन मनाउने गरिन्छ ।
यस वर्ष भदौ १४ गते पर्न गएको गाईजात्रा नेवा खलले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । गाइजात्राको दिन बिहान यस वर्ष मृत्यु भएका व्यक्तिको फोटोसहित घरघरबाट निस्किएर ¥यालीमा सहभागी हुने कार्यक्रम रहेको छ । ¥याली बिहान ११ बजे मन्थलीको बसपार्कबाट सुरु भई मन्थली बजार, खाँदबारी हुँदै बजार परिक्रमा गरी पुनः बसपार्कमा पुगेर समापन हुने नेवा खलका अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिए । यस वर्ष मृत्यु भएका व्यक्तिहरुको फोटोसहित निकालिने ¥यालीमा जुनसुकै जातका मानिस पनि सहभागी हुनसक्ने छन् । यस वर्ष मृत्यु भएका करिब पाँच परिवार ¥यालीमा सहभागी हुने नेवा खलका अध्यक्ष श्रेष्ठले बताए । ¥यालीको साथमा मृतकको फोटो, आफन्तजन, भजन टोली, धिमे नृत्य, भद्र भलाद्मी, मिसा पूच, ल्याम पूचको सहभागिता रहने छ ।

मिसा पुचः नेवा देया दबुसँगको समन्वयमा नेवा खलले आयोजना गर्ने गाईजात्रको अवसरमा नेवारी सँस्कृति अनुसार भजन तथा धिमे नाँच पनि प्रस्तुत गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाईजात्रा कार्यक्रममा इच्छुक मानिसहरु रामेछाप जिल्लाभरिबाटै सहभागी बन्न सक्ने पनि श्रेष्ठले बताए ।

यसैबिच सोमवार लाखे नाँच निकालिएको थियो । लाखे नाँच भदौ २१ गतेसम्म मन्थलीको कटहरबोट आकासे, बसपार्क, हाटेचउर, देवकोटा चोक, खाँदबारी हँुदै भैसेश्वरसम्म घुमिसक्ने नेवाः खलले जनाएको छ ।
त्यसैगरी १६ गते बसपार्कबाट बिहान ११ बजे रोपाइँ जात्रा सुरु हुने बताइएको छ । रोपाइँ जात्रा अन्तर्गत रोपाहार, बाउसे, गोरू हली, जोकरहरू, हास्य कलाकारलगायतको सहभागिता रहने आयोजकले जनाएको छ । रोपाइँ जात्रा बसपार्कबाट सुरु भएर मन्थली बजार, खाँदबारी हुँदै जिल्ला समन्वय समितिको पछाडि नृत्यसहितको कार्यक्रम रहेको पनि नेवा खलले जनाएको छ ।

त्यसैगरी २० गते बिहान ९ बजे राधाकृष्णको मन्दिर अगाडिबाट कृष्णको रथयात्रा, भजन टोली, भद्र भलादमी, लठ्ठी नाँच, मिसा पूच, ल्याम पूच नेवारी पोषाकमा सहभागी हुने कार्यक्रम रहेको छ । रथयात्रा बसपार्क हुँदै खाँदबारी पुगेर पुन मन्दिरमा आई समापन गरिने नेवा खलका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार २१ गते साँझ देवकोटा चोकमा लाखे नाँच र कृष्णले लाखेलाई मारेपछि यस वर्षको जात्रा सकिने छ ।

यो पर्व नेवार समुदायमा धुमधामसँग मनाउने चलन छ । जात्रामा भाग लिने सबैले आआफ्नै तर्फबाट दर्शकहरुलाई हसाउँने र खुसी बनाउने प्रयास गरिएको हुन्छ । यो पर्वको सुरुवात कहिलेदेखि भएको हो भन्नेमा विद्वान एकमत भएको देखिदैन । तर पदम पुराणमा उल्लेख भएअनुसार गाईजात्रा पर्व राजा प्रताप मल्लले सुरु गरेका हुन् । नेपालको ऐतिहासिक प्रमाण अनुसार काठमाडौँका तत्कालीन राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यु शोकमा विह्वल भएकी रानीको चित्त बुझाउन र उनलाई खुसी बनाउन यो परम्पराको थालनी गरेका थिए ।

राजा प्रताप मल्लको घोषणाअनुसार छोरी मरेको भए गाईको भेषमा र छोरा मरेको भए जोगीको भेषमा प्रत्येक घरबाट झाँकी निकालेर सहर घुम्नु पर्ने, साथै विभिन्न किसिमका झाँकी, नृत्य र बाजागाजालाई पनि समावेश गर्नु पर्ने, जात्रामा भाग लिने सबै टोलीहरु राजाको दरबारको बाटो भएर सबै सहर घुम्नु पर्ने आदेश भएको थियो । यही प्रचलन आजसम्म चलिआएको छ । मान्छेको जीवन चीरस्थायी छैन भन्ने कुरा तत्कालीन रानीलाई कुरा गरेर बुझाउन नसकेपछि राजाले यो पर्व चलाएर रानीलाई सम्झाउन सफल भएका थिए । गाईजात्रामा सरिक भएकाहरु दरबारको बाटो हुँदै जाँदा रानीले मेरो छोरामात्र मरेको होइन रहेछ, सहरभरि अरू जनताका छोराछोरीहरु पनि मरेका रहेछन् भनेर चित्त बुझाएको बताइन्छ । त्यसपछि राजा प्रताप मल्लले प्रत्येक वर्ष गाईजात्रा मनाउने घोषण गरेका थिए ।

प्रतिकृया

Add