संस्कृति संरक्षणमा जुटे नेवार समुदाय

 बिहिबार, भदौ १४, २०८० | onlinenews

 

रामेछाप – रामेछापका नेवार समुदाय आफ्नो संस्कृति तथा परम्परा संरक्षणमा जुटेका छन् । नेवाः खल र नेवाः देय दबूको संयुक्त आयोजनामा रामेछापको मन्थली नगरपालिका तथा आसपासका नेवार समुदाय आफ्नो संस्कृति रीतिरिवाज संरक्षणमा जुटेका हुन् ।

नेवार समुदायले जातीय संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछापको सदरमुकाम मन्थलीमा पहिलो पटक गाईजात्रा मनाएको छ । बिहिवार परेको गाईजात्रा नेवाः खल र नेवाः देय दबू रामेछापको संयुक्त आयोजनामा तासा निकाल्नुका साथै विभिन्न कार्यक्रमहरु गरी मनाइएको हो । गाईजात्रामा एक वर्षभित्र मृत्यु भएकाहरुको सम्झनामा मृतकको फोटोेसहित तासा निकाल्ने परम्परा अनुसार मन्थलीमा पहिलो पटक तासा निकालिएको नेवाः देय दबू रामेछापका कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले जानकारी दिए । गाईजात्राको दिन एक वर्षभित्र मृत्यु भएका मृतकको फोटोसहित निकालिने र्‍यालीलाई तासा भनिन्छ ।

बिहिवार गाईजात्रको अवसरमा नेवारी बाजागाजा तथा नृत्यसहित र्‍याली निकालिएको छ । र्‍याली मन्थलीको बसपार्कबाट सुरु भई, कटहरबोट, मन्थलीको मुख्य बजार, देवकोटा चोक, मदनआश्रित चोक, खाँदबारी भैँसेश्वर हुँदै बजार परिक्रमा गरी पुनः बसपार्कमा पुगेर समापन गरिएको थियो । र्‍यालीमा एक वर्षभित्र मृत्यु भएका मृतकको फोटोसहित स्थानीयहरु सहभागी भएका थिए । र्‍यालीमा नेवार बाहेक अन्य समुदायका मानिसहरु पनि सहभागी भएका थिए । र्‍यालीले बजार परिक्रमा गर्ने क्रममा बजारका विभिन्न स्थानमा नेवारी नृत्य समेत प्रस्तुत गरेको थियो ।

त्यसैगरी बिहिवार साँझ लाखे नाँच निकालेका छन् । लाखे नाँच देवकोटा चोकाबाट सुरु भइ कटहरबोट पुगी पुनः देकोकाटा चोकमा आएर समापन भएको थियो ।
त्यसैगरी १६ गते बसपार्कबाट बिहान ११ बजे रोपाइँ जात्रा सुरु हुने बताइएको छ । रोपाइँ जात्राअन्तर्गत रोपाहार, बाउसे, गोरू, हली, जोकरहरू, हास्य कलाकारलगायतको सहभागिता रहने नेवाः खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिए । रोपाइँ जात्रा बसपार्कबाट सुरु भएर मन्थली बजार, खाँदबारी हुँदै जिल्ला समन्वय समितिको पछाडि नृत्यसहितको कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

त्यसैगरी २० गते बिहान ९ बजे राधाकृष्णको मन्दिर अगाडिबाट कृष्णको रथयात्रा, भजन टोली, भद्र भलाद्मी, लट्ठी नाँच, मिसा पूच, ल्याम पूच नेवारी पोषाकमा सहभागी हुने कार्यक्रम रहेको छ । रथयात्रा बसपार्क हुँदै खाँदबारी पुगेर पुन मन्दिरमा आई समापन गरिने नेवा खलका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार २१ गते साँझ देवकोटा चोकमा लाखे नाँच र कृष्णले लाखेलाई मारेपछि यस वर्षको जात्रा सकिने छ ।

प्रतिकृया

Add