सेवा प्रभावकारी बनाउन रामेछाप प्रशासनको अभियान

 आइतवार, भदौ १७, २०८० | onlinenews

 

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले गाउँपालिका तथा नगरपालिका र वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउने उद्देश्यले ‘१६ वर्ष पारी, नागरिकता जारी’ अभियान सुरु गरेको छ । पालिका र वडा कार्यालयहरुको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा वडासम्मका जनप्रतिनिधि र कर्मचारीलाई जानकारी दिनु अभियानको उद्देश्य रहेको छ । पालिका तथा वडाहरुले गर्ने सिफारिसमा कागजात अपुरो तथा विवरण पूरा नखुलाई सिफारिस गरिदा सेवाग्राहीले दुःख पाउने गरेकाले सिफारिस गर्दा पुर्याउनु पर्ने प्रक्रिया, कागजाग र कानुनी विषयमा वडाका कर्मचारी तथा जनप्रतिनिधिलाई जानकारी दिने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । कतिपया वडाहरुले सिफारिस गरेको कागजातको ओसी समेत नराख्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शनिवार लिखु तामाकोसी गाउँपालिकाबाट सुरु भएको अभियान जिल्लाव्यापी सञ्चालन गरिने प्रशासनले जनाएको छ । स्थानीय स्तरमा हुने अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकार तथा वडाको सिफारिसमा प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिन, समाजमा अपराध न्यूनीकरण र सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले कार्यक्रमबाट गाउँपालिकाले गर्ने सेवा प्रवाहको विषयमा जनप्रतिनिधिलाई महत्वपूर्ण ज्ञान प्राप्त भएको बताए । कार्यक्रमबाट आफूले कानुनी तथा प्रशासनिक सेवा प्रवाहका विषयमा धेरै कुराहरु जानकारी पाएको बताए । एकले अर्कालाई दोष लगाएर समाजलाई उत्तेजित बनाउने काम भइरहेको भन्दै यसबाट सचेत हुन आवश्यक रहेको बताए । वस्तुस्थिति एकातिर र समाजको अपेक्षा अर्कातिर हुँदा समस्या भइरहको अध्यक्ष महतको भनाइ छ । सरकारले सेवा प्रवाह गरिरहेको तर सेवा प्रवाहबाट नागरिक सन्तुष्ट नरहेको भन्दै यसतर्फ सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए ।


त्यसैगरी रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले समयमै नागरिकता नबन्दा र नागरिकतामा पतिको नाम कायम गर्नै पर्नेे बुझाइको कारण महिलाहरु बढी झन्झटमा पर्ने गरेको बताइन् । नागरिकतामा पतिको नाम कायम गर्दा घरवार बिग्रदा वा अन्य कारणले पनि महिलाहरुलाई समस्या हुने गरेको भन्दै पतिको नाम कायम नगरे पनि आपूmले पाउने अधिकारबाट बञ्चित नहुँने कुरा नागरिकलाई जानकारी दिन र नागरिकतामा पतिको नाम नराख्नप्रति प्रोत्साहन गर्न पनि जनप्रतिनिधिहरुलाई अनुरोध गरिन् ।
नागरिकता बनाउने बित्तिकै आधा समस्या समाधान हुने भएकाले ‘१६ वर्ष पारी, नागरिकता जारी’ भन्ने नारा तय गरिएको प्रजिअ निरौलाले बताइन् । छोरा/छोरी १६ वर्ष पुग्ने बित्तिकै नागरिकता बनाइदिनु पर्छ भन्ने चेतना प्रत्येक नागरिकसम्म पु¥याउनु आवश्यक रहेको बताइन् । अज्ञानले नागरिकता नलिएकै कारण कतिपय नागरिकले धेरै दुःख खेप्नु परेको उनको भनाइ छ ।
छोरा÷छोरी १६ वर्ष पूरा हुने बित्तिकै नागरिकता बनादिनुपर्छ भन्ने कुरामा अभिभावक सचेत भएमा नागरिकताको कारण आउने समस्या दुर हुने बताइन् । सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजात तथा प्रक्रियाका बारेमा जनप्रतिनिधलाई जानकारी नहुँदा नागरिकले दुःख पाउने गरेकाले त्यस विषयमा जनप्रतिनिधिलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको प्रजिअ निरौलाको भनाइ छ । सार्वजनिक सेवा प्रवाह सामूहिक कार्य भएकाले कुनै पनि निकायले एक्लै गर्न नसक्ने भन्दै सबैले आ–आफ्नो ठाउँमा भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।


वडाले गर्ने कतिपय एउटै सिफारिसमा दुई थरि मसी प्रयोग हुने, वडा अध्यक्षको हस्ताक्षर फरक पर्ने, फोटो प्रमाणित नगर्ने जस्ता समस्या आउने गरेको प्रजिअ निरौलाले बताइन् । वडाले दिने केही सिफारिसका बारेमा जनप्रतिनिधि र वडाका कर्मचारीहरुमा समेत अन्योल हुँदा सेवाग्राहीले दुःख पाउने गरेको प्रजिअ निरौलाको भनाइ छ । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले यस्ता कार्यक्रमहरु वडा स्तरसम्म लैजानु पर्ने बताए । जिल्ला प्रशासनले आयोजना गरेको कार्यक्रम राजनीतिक पार्टीहरुलाई महत्वपूर्ण सिकाइ भएको भन्दै जनप्रतिनिधिहरुको लागि झनै महत्वपूर्ण भएको बताए । जनप्रतिनिधिले राम्रो काम गर्दा लोकतन्त्रको सार्थकता हुने र राजनीतिक पार्टीहरुको समेत गरिमा उचो रहने भएकाले नागरिकको काम सहज र सरल तरिकाले गर्न आग्रह गरे ।
त्यस्तै नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले यस्ता कार्यक्रमहरु राजनीतिक पार्टीहरुले पनि आफ्ना सङ्गठनमार्फत जनतामा पु¥्याउनु आवश्यक रहेको बताए । आगामी दिनमा नेकपा एमालेको तर्फबाट समेत यस्ता सचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताए । राजनीतिक पार्टी, जनप्रतिनिधि र कर्मचारीले मैले सबै कुरा जानेको छु भन्ने घमण्ड गर्दा पनि नागरिकले दुःख पाउने गरेको उनको भनाइ छ ।
लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिनले जनप्रतिनिधि कानुनी विषयमा जानकार भएमा सेवा प्रवाह गर्न सहज हुने भन्दै यस्ता सचेतनामूलक कार्यक्रम वडासम्म लैजान गाउँपालिकाले प्रयत्न गर्ने बताइन् । अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीले समाजमा हुने अपराध अन्तर्गत लागू औषध, लैङ्गिक हिंसा, साइबर सुरक्षा, बलात्कार, आत्महत्या जस्ता घटनाहरु न्यूनीकरण र रोकथाममा प्रहरी, जनप्रतिनिधि र नागरिक समाजको भूमिकाबारे जानकारी गराएका थिए ।


आपराधिक घटना नियन्त्रण र अपराधका घटना अनुसन्धानमा समुदायले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । प्रहरीको एक्लो प्रयासबाट मात्र आपराधिक घटना नियन्त्रण हुन नसक्ने भएकाले नागरिकको सहयोग महत्वपूर्ण हुने बताए ।
जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी गराएका थिए । उनले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, नाता प्रमाणित, राहदानी, विवाह दर्ता, जन्म दर्ता र संस्था दर्ता गर्दा पूरा गर्नुपर्ने प्रक्रिया तथा आवश्यक कागजातको बारेमा जानकारी दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै एकले अर्कोलाई दोष नलगाइ सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा नागरिकलाई सहज सेवा दिन सकिने बताए । लिखु तामाकोसी गाउँपालिकाबाट सुरु गरिएको अभियान जिल्लाका सबै पालिकाहरुमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add