सोह्र वर्ष पारी नागरिकता जारी अभियानमा सक्रिय प्रजिअ निरौला

 शनिबार, भदौ २३, २०८० | onlinenews

 

सन्तोष ढुङ्गेल


रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सोह्र वर्ष पारी नागरिकता जारी अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ । १६ वर्ष पार गरेका सम्पूर्ण नेपाली नागरिकले सहजै नागरिकता पाउन र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सहज रुपमा नागरिकले प्राप्त गरुन् भन्ने उद्देश्यले अभियानलाई पालिका स्तरीय बनाइएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन ।
गत शनिवार लिखु तामाकोसी गाउँपालिकाबाट सुरु भएको अभियान भदौ २३ गते आज खाँडादेवी गाउँपालिकामा सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र सरोकारवालासँग प्रजिअ निरौलाले नागरिकता लगायत पालिका र वडाहरूबाट गरिने सिफारिसका बारेमा छलफल गरेकी थिइन् । पछिल्लो समय अशक्त र अपाङ्गलाई घर–घरमै नागरिकता लगायत सेवा प्रवाहमा सक्रिय निरौला बिदाको दिनको पनि वास्ता नगरी नगरिकको सेवा सुविधाको सहजताको लागि गाउँ–गाउँ मै ब्यस्त हुने गरेकी छिन् । जिल्लाका आठ वटै स्थानीय निकायमा अभियान सञ्चालन गरिने पनि प्रजिअ निरौलाले बताइन् ।
यस्तै अपराध नियन्त्रण सम्बन्धी घटना लगायत अन्य जानकारीको सूचना प्रहरीलाई समयमै दिनसके घटना नियन्त्रण र अपराधीलाई सजिलै पक्राउ गर्न सकिने प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । दुई महिनाको अवधिमा रामेछापमा ८ जनाले आत्महत्या गरेको समेत पराजुलीले जानकारी दिए । कार्यक्रममा सहभागी राजनैतिक दलका नेता तथा सरोकारवाला निकायका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालयको अभियानको मुक्तकण्ठले प्रसंसा गरेका थिए ।

प्रतिकृया

Add