गठबन्धन बाध्यता हो : कोइराला

 सोमवार, भदौ २५, २०८० | onlinenews

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले अहिलेको सत्ता गठबन्धन बाध्यता भएको बताए । सरकार बनाउनको लागि गठबन्धन बाध्यता भएको उनको भनाइ छ । नेपाली काँग्रेसको भविष्य उज्ज्वल रहेको भन्दै एमाले र माओवादी मिले पनि काँग्रेसलाई फरक नपर्ने बताए । काँग्रेस एक्लै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
काँग्रेस एकजुट भएमा कसैको सहारा आवश्यक नपर्ने भन्दै काँग्रेसले गुट उपगुट त्यागेर एकजुट हुन आवश्यक रहेको बताए । गुट उपगुटकै कारण पार्टी कमजोर भएको भन्दै गुटको अन्त्य गरेर कसैको सहाराबिना एक्लै लड्न तयार रहनु पर्ने बताए ।

नेपाल प्रेस युनियन रामेछापले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कोइरालाले नेपाल प्रेस युनियनको हालै सम्पन्न अधिवेशनलाई लक्षित गर्दै भने, यहाँ पनि समस्या आएको छ, त्यसलाई पुनः निर्वाचन गराइदिनुस् ।

जुनसकै पार्टी विचारले चल्ने भन्दै विचार छाडेको दिन पार्टी ध्वस्त हुने बताए । ‘‘काँग्रेसले एकजुट भएर विचारको आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले हराउन सक्दैन”, उनले भने । ‘एकजुट भएमा काँग्रेसको भविष्य उज्ज्वल छ, कोइरालाले भने । डा.कोइरालले नेपालको विकास र समृद्धिको आधार कृषि, हाइड्रोपावर, पर्यटन र युवाशक्ति मुख्य भएको बताए । देश विकासका लागि देशमै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेश जानबाट रोक्न सुक्नुपर्ने बताए ।
नेता कोइरालाले कोसी प्रदेश सरकारको विषयमा सर्वोच्चले आदेश गर्नु गलत भएको बताए । राजनीतिक मुद्दालाई अदालतमा लैजान नहुने उनको भनाइ छ । राजनीतिले विषयले अदालतमा प्रवेश पाउँदा राजीतिक दिशा नै मोडिन सक्ने कोइरालाको भनाइ छ ।

उनले भने राजनीति, राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन । तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु गलत भएको उनको भनाइ छ । धरानबाट सुरु भएको धार्मिक विवादको प्रसङ्गमा उनले धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नहुँने बताए । धर्म स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । स्वेच्छाले कसैले धर्म परिवर्तन गर्न सक्छन् तर लोभ आश्वासन दिएर धर्म परिवर्तन गराउन पाइँदैन, उनले भने ।

प्रतिकृया

Add