अधुरै योजनाको रकम भुक्तानी

 बुधबार, भदौ २७, २०८० | onlinenews

 

रामेछाप- डिभिजन बन कार्यालय रामेछापले योजनाको काम सम्पन्न नहुँदै रकम भुक्तानी गरेको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोकासँगैको ढोकामा निर्माणाधीन पार्कको काम सम्पन्न नहुँदै भुक्तानी दिएको खुलासा भएको हो ।

करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको पार्कको काम नै नसकी कार्यालयका प्रमुख ओमसागर भण्डारी र सहायक बन अधिकृत देवेन्द्र यादव समेतको मिलेमतोमा भुक्तानी दिएको खुलासा भएको छ ।
कार्यालयको बजेट २५ लाख रुपैयाँ र श्रमदानबाट १० प्रतिशत हुन आउने १ लाख रुपैयाँ गरी २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गतेसम्म सम्पन्न गर्ने गरी जिम्मा लिएका थिए ।
तर पार्क निर्माणको काम सम्पन्न नहुँदै निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयले सबै रकम गत असारमै उपभोक्ता समितिको नाममा भुक्तानी गरेको थियो ।


२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना नेपाली सेनाका जवानहरुले डडेलोमा परेर ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा १३ मध्ये कमाण्डरको शालिक राख्ने र अन्यको नाम शिलालेखमा रहने गरी स्टिमेट भएको थियो । तर, कार्यालयले प्राविधिकले तयार गरेको स्टिमेटको ख्यालै नगरी रकम भुक्तानी दिइएको पाइएको हो ।

यस बारेमा डिभिजन बन कार्यालय रामेछापमा सम्पर्क गर्दा निमित्त प्रमुख मनिलाल कान्दनले यस बारेमा आपूmलाई कुनै जानकारी नभएकोले सहायक बन अधिकृत देवेन्द्र यादवसँग सम्पर्क गर्न आग्रह गरे ।
सहायक बन अधिकृत यादवसँग सम्पर्क गर्दा उनले सैनिक कमाण्डरको स्ट्याचुसहितको योजनाको स्टिमेट गरिदिने रामेछाप नगरपालिकाले योजना सम्पन्न भएको भनी पठाएको कागजाज र प्रतिवेदनका आधारमा कार्यालयले रकम भुक्तानी गरेको बताए । उनले भने– काम बाँकी बस्नुमा कार्यालयको कुनै दोष छैन । पार्कको वरिपरि पर्खाल (कम्पाउन्ड) लगाउने र ढोका हाल्ने काम भने सम्पन्न भएको उनले बताए ।

प्रतिकृया

Add