दिदीबहिनीको साधारण सभा सम्पन्न

 बिहिबार, भदौ २८, २०८० | onlinenews

 

रामेछाप– रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापनाको दिन पारेर स्थापना दिवससँगै साधारण सभा आयोजना गरेको हो ।

वडामा रहेका आमा समूहलाई संस्थागत गरी दीगो बनाउने उद्देश्यले स्थापना भएको उक्त महिला सहकारी संस्था गतवर्ष स्थापना गरिएको हो । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहजीकरणमा दर्ता भएको सहकारीमा शेयर सदस्य सङ्ख्या १ सय रहेको छ ।

गत आर्थिक वर्षमा कुल पूँजी ५ लाख ५२ हजार रहेको कोषाध्यक्ष मिश्रामाया तामाङले जानकारी दिइन् । संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका कार्य गर्दै आएको समेत वित्तीय प्रतिवेदनमा उल्लेख छ । शेयर पूँजी १ लाख ६२ हजार, बचत तथा निक्षेप २ लाख ३ हजार ८ सय १७ रुपैयाँ रहेको कोषाध्यक्ष तामाङले बताइन् ।


साधारण सभामा बजेट तथा कार्यक्रम साथै वार्षिक योजना प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष रजनी मोक्तानले कर्जा लगानी ४ लाख ३० हजार रहेको जानकारी दिइन् । कार्यालय व्यवस्थापन, लेखा तथा खाता व्यवस्थापन, बचत सङ्कलन, ऋण लगानी र सरोकारवालासँग सम्पर्क समन्वय रहेको पनि उनले बताइन् ।

संस्थाले अन्तर्राष्ट्रिय सहकारी दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान, विश्व वातावरण दिवस मनाउदै आएको उनको भनाइ छ । शेयर सदस्य अभिवृद्धि गर्ने, सदस्य शिक्षा दिने, खर्च योजना बनाउने, १ घर १ सदस्य अभियान सञ्चालन गर्नेजस्ता कार्ययोजना रहेको अध्यक्ष मोक्तानले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा सुनापती गाउँपालिका उपाध्यक्ष गीता विष्टले महिला सहकारीको क्षमता विकास, पूँजीमार्फत सदस्यको आय वृद्धिमा पालिका संगसँगै रहने बताइन् । ५ वटै वडाहरुमा सामुदायिक विकास समाजको सहजीकरणमा गठन भइ सञ्चालनमा रहेका सहकारी महिला सशक्तिकरणका लागि सङ्गठित भएको बताइन् । गाउँपालिकामा प्रस्तावपत्र विकास गरी महिला लक्षित कार्यक्रम माग गर्न पनि अनुरोध गरिन् । महिला सहकारीसँग उपाध्यक्ष जहिले जहाँपनि साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रमका विषशेष अथिति समेत रहेका सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले महिला सशक्तिकरणका लागि सहकारी कोसेढुङ्गा भएको बताए । सदस्यहरुलाई आवश्यकता र आयआर्जन क्षमता पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा लाग्न आग्रह गरे । महिला सङ्गठिन भइ छरिएर रहेको पूँजीको उपयोग गर्दै सामाजिक विकासमा लाग्न आग्रह गरे ।

साधारण सभामा सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले बचतको सुरक्षा, विश्वासनियता कायम गर्दै पूँजी निर्माणमा सदस्य सङ्ख्या अभिवृद्धि गर्न जोड दिए । ऋण लगानी र असुली प्रकृया चुस्त दुरुस्त राख्दै नाफाभन्दा सेवा तथा सामाजिक अभियानमा केन्द्रीत हुन अनुरोध गरे । व्यक्तिगत तथा सामूहिक क्षमता अभिवृद्धि गर्दै स्वावलम्वी र आत्मानिर्भर हुन आग्रह गरे ।

प्रारम्भिक संस्थाबाट एक तह माथि जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा आवद्ध हुन समेत सुझाव दिए । वडा नं. ३ का वडाध्यक्ष कुलबहादुर थिङले दर्ता भएका सहकारी मध्ये सबैलाई वित्तीय, सामाजिक प्रगतिबारे जानकारी गराउने पहिलो सहकारी भएको बताए । वडाका हरेक कार्यक्रममा साथ सहयोग गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रम सञ्चालन संस्थाकी सचिव गीतामाया श्रेष्ठले गरेकी थिइन् ।

प्रतिकृया

Add