स्थानापतिमा २१ फिटको त्रिशूल स्थापना

 सोमवार, अशोज १, २०८० | onlinenews

 

रामेछाप- नेपालको तेस्रो तथा पूर्वी नेपालको दोस्रो पशुपतिनाथको रूपमा परिचित रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ ।
हिन्दु नारीको मुख्य पर्व हरितालिका तिजको अवसर पारेर मन्दिरको प्राङ्गणमा तामाको त्रिशूल गाडिएको हो । पत्रकार सन्तोष ढुङ्गेलको अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाहरुसँग आर्थिक सङ्कलन गरी ४५ केजी तौल भएको २१ फिट उचाइको त्रिशूल स्थापना गरिएको हो । सो त्रिशूल निर्माणको लागि १ लाख ६० हजार रुपैयाँ र अन्य व्यस्थापनमा ५० हजार गरी २ लाख १० हजार रुपैयाँ खर्च भएको ढुङ्गेलले बताए । हालसम्म १ लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको र अन्य दाताहरुले पनि सहयोग दिने क्रम रहेको उनले बताए ।

नेपालकै एक ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापना गर्ने उद्देश्यले गत वर्षको शिवरात्रीको दिनदेखि अभियान सुरु गरिएको र हरितालिका तिज २०८० मा त्रिशूल स्थापना गर्न सफल भएको अगुवा सन्तोष ढङ्गेलले बताए । तिजको अघिल्लो दिन शनिवार त्रिशूल विधिवत रुपमा स्थापना गरिएको थियो भने हरितालिका तिजको दिन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पूजाआजा गरी शुभारम्भ गरेका हुन् । बहिरा महादेवको नामले पुजिने ऐतिहासिक स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापनाका साथै अखण्ड ध्वनि र अखण्ड ज्योतिको पनि शुभारम्भ गरिएको छ ।


काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा पुजिने रामेछाप जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । स्थानापति महादेव मन्दिरमा प्रत्येक वर्ष हरितालिका तिज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो वर्षको तिजमा पनि विभिन्न जिल्लाका हजारौँ भक्तजनहरूले दर्शन गरेका छन् । रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा, काठमाडौँलगायतका जिल्लाबाट दर्शनार्थीहरु आएको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले जानकारी दिए ।

‘सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभइ अहिले दैनिक रूपमा यो मन्दिरमा दर्शन गर्ने र घुम्न आउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको वडाध्यक्ष आरणले बताए । मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि आकर्षक सिँढी निर्माण गरेको छ । सदरमुकाम मन्थलीबाट वडा नं. ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर पनि स्थानापति महादेव मन्दिर पुग्न सकिन्छ । स्थानीयका अनुसार तीन सय वर्षभन्दा पुरानो स्थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको कुरा पाइने जनविश्वास रहेको छ ।

रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल स्थानापति महादेव मन्दिर परिसरमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । ‘स्थानापति महादेव मन्थली नगरपालिका र जिल्लाको मात्रै नभएर देशकै ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिरमा नगरले गुरुयोजना निर्माण गरी काम गरिरहेको छ । गुरु योजनाअनुसार काम गर्न चालू आर्थिक वर्षमा नगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

 

प्रतिकृया

Add