संविधान दिवस : रामेछाप जिल्लामा अहिलेसम्मकै वृहत र्याली

 बिहिबार, अशोज ४, २०८० | onlinenews

 

रामेछाप – संविधान दिवस २०८० रामेछाप जिल्लामा विगतका वर्षहरु भन्दा यो वर्ष भव्य रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा रामेछाप जिल्लामै पहिलो पटक वृहत र्याली निस्किएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको संयोजनमा मनाइएको संविधान दिवसमा विभिन्न जाति, धर्म, समुदाय, र संस्थाहरुको तर्फबाट आ–आफ्नो संस्कृति झल्कने झाँकीसहित प्रभातफेरि र्यालीमा सहभागि भएका थिए ।
संविधान दिवस मनाउने विषयमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनीता निरौलाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको थियो । सोही बैठकको निर्णयअनुसार रामेछाप जिल्लामा संविधान दिवसको अवसरमा भदौ २९ गतेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

संविधान दिवसको अवसरमा बुधवार मन्थली क्याम्पस अगाडिबाट निस्किएको र्याली देवकोटा चोक, कृषि विकास बैँक, मन्थली नगरपालिका, बसपार्क, ट्राफिक चोक हुँदै तीनलाल पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा नेवार, तामाङ्, माझी, मगर, हिन्दु महासङ्घ, कृश्चियन लगायतका विभिन्न जातीय तथा धर्मिक संस्थाहरुले झाँकी प्रदर्शन गरेका थिए । त्यसैगरी रामेछाप तेक्वान्दो सङ्घले खेल प्रस्तुत गरेको थियो भने मन्थली मध्यमिक विद्यालय, तामाकोसी अङ्ग्रेजी बोर्डिङ स्कुल, लिटिर स्टार अङ्ग्रेजी बोर्डिङ स्कुल र कर्कलादेवी अङ्ग्रेजी बोर्डिङ स्कुलतको तर्फबाट संविधान दिवसको सन्दर्भमा प्रवचन तथा साँस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनीता निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद युवराज चौलागाई, आनन्दकुमार श्रेष्ठ लगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संविधान दिवसको कार्यक्रम अन्तर्गत भदौ २९ र ३० गते जनप्रतिनिधि, पत्रकार, प्रहरी, अस्पताल, शान्तिदीप युवा क्लव, निजामती कर्मचारी, प्राविधिकतर्फका कर्मचारी र बैँक एसोसिएसनको सहभागितामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।


त्यसैगरी भदौ ३० गते मन्थली स्थित ॐ शान्तिको भवनमा सफल एवम् आनन्दमय जीवनका लागि सकारात्मक विचार कार्यक्रम र साथै जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी र शान्तिदीप युवा क्लवको सहभागितामा मैत्रीपूर्ण भलिबल प्रतियोजिता सञ्चालन गरिएको थियो ।
असोज २ गते बिहान मन्थलीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संविधान दिवसलाई भव्य रुपमा मनाउन आयोजना गरिएको सबै कार्यक्रममा सरोकारवाला निकाय तथा सर्वसाधारणले उत्साहजनक सहभागिता जनाएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले बताइन् ।
संविधान दिवसका दिन बुधवार प्रभातफेरि र्याली निकालिएको छ । संविधान दिवस मुल समारोह समिति रामेछापको आयोजनामा बुधवार बिहान मन्थली माविबाट सुरु भएको प्रभातफेरी मन्थली बजार परिक्रमा गरी बसपार्क ट्राफिकबिट हुँदै तीनलाल स्मृति पार्कमा पुगेर औचापरिक कार्यक्रम गरिएको थियो ।
सङघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको वास्तविक राज्य व्यवस्थामा परिणत गर्नुपर्ने कार्यक्रममा सहभागि नेताहरुको भनाइ छ । संविधान दिवस विशेष कार्यक्रमको सौन्दर्यीकरण तथा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम अन्तर्गत असोज ४ गते बिहीवार बिहान ७ बजे मन्थली बजार, विभिन्न कार्यालय र चोकहरू तथा धार्मिक, सांस्कृतिक सम्पदाहरूको सरसफाइ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया

Add