विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण

 बुधबार, अशोज १०, २०८० | onlinenews

रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरको सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारले विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको छ ।

वडा कार्यालयसँगको समन्वयमा मन्थलीस्थित तामाकोसी अस्पताल र रन नेपाल यूकेको प्राविधिक सहयोग तथा विद्यालयको आयोजनामा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारका प्रधानाध्यापक भिम नेपालीले बताए ।

असोज ९ गते मङ्गलबार आयोजना गरिएको स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, छाती, पेट, जोड्नीहरु र छाला सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रअ नेपालीले जानकारी दिए ।विद्यालयमा पठनपाठनसँगै विद्यार्थीको स्वास्थ्यलाई समेत ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रअ नेपालीको भनाइ छ ।

स्वास्थ्य परीक्षणका क्रममा समस्या देखिएका विद्यार्थीहरुलाई सम्बन्धित अस्पतालमा गएर थप जाँच गरी औषधी लिन सम्बन्धित विद्यार्थीहरुको अभिभावकसँग छलफल गरी परामर्श दिइने विद्यालयले जनाएको छ । स्वास्थ्य शिविरमा विद्यालयमा अध्ययनरत ९२ विद्यार्थी मध्ये ७९ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयले जानकारी दिएको छ ।

प्रतिकृया

Add