स्वास्थ्यकर्मीको विरोध प्रदर्शन

 बिहिबार, अशोज ११, २०८० | onlinenews

 

रामेछाप- दुई हप्तायता शृङ्खलावद्ध रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनाको विरोधमा रामेछाप जिल्लाका चिकित्सक तथा स्वास्थ्यर्कीहरु पनि बिरोधमा उत्रिएका छन् । रामेछाप जिल्लाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कालो ब्यानरमा बिरोध र्याली निकाल्नुका साथै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

बिरामीको ज्यान बचाउन २४ सैँ घण्टा सेवामा खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि वास्तविकता नबुझी आक्रमण हुने गरेको भन्दै अस्पताल क्षेत्रमा शान्ति कायम गर्न साथै स्वास्थ्यकर्मीको सुरक्षा ग्यारेन्टी गर्न माग गरेका छन् ।
भाद्र २७ गतेयता हालसम्म ७ वटा जघन्य, गैरजिम्मेवार घटना घटेको भन्दै जसबाट चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालहरुले ठुलो क्षति व्यहोर्नु परेको नेपाल चिकित्सक सङ्घ रामेछापका संयोजक डा. सुमन कर्माचार्याले बताए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको ध्यान बिरामी बचाउनुमै केन्द्रित हुन्छ तर अस्ताल आएका सबै बिरामीलाई बचाउन सकिदैन डाक्टर कर्माचार्याले भने– आफ्नो सीप, ज्ञान, क्षमता र समयको मात्र होइन अरु विषेशता अध्ययन समेत गरेर बिरामीको ज्यान बचाउन हामी कर्तव्यनिष्ठ छौँ तर बिरामी मर्नु र बाच्नु हाम्रो हातमा हुदैन ।

आगामी दिनमा फेरि स्वास्थ्यकर्मीहरु सडकमा आउन नपरोस्, बिरोधमा उत्रिन नपरोस् भनेर बिरोध र्याली साथै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको उनले बताए ।
स्वास्थ्यकर्मीहरु आफ्ना कर्तव्य पूरा गर्न तयार रहेको भन्दै सबैले कानुनको पालना गर्नुपर्ने डाक्टर कर्माचार्याको भनाइ छ ।

बिरामीलाई अप्ठ्यारो पारौँ भन्ने सोच चिकित्सक तथा स्वासथ्यकर्मीहरु नहुने भन्दै राम्रो काम गर्दागर्दै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भइरहेको मन्थली अस्पतालका प्रमुख डाक्टर समीर क्षेत्रीले बताए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनाप्रति भत्सर्ना व्यक्ति गर्दै दोषिलाई कारबाही गर्न पनि उनले सरकारसँग माग गरे । यदि दोषीमाथि कारबाही नभए नेपाल मेडिकल एसोसिएसनको निर्णय अनुसार आन्दोलनका कार्यक्रम अघि बढ्ने उनको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले स्वास्थ्यकर्मीहरुको माग जायज रहेको भन्दै ज्ञापनपत्र गृहमन्त्रालयमा पठाइदिने बताइन् । स्वास्थ्यकर्मीहरुलाई आफ्नो कर्तव्यबाट पछि नहट्न र मनोबल नगिराउन पनि प्रजिअ निरौलाले आग्रह गरिन् । विरोधमा उत्रिकाएका स्वास्थ्यकर्मीहरु हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् ।

प्रतिकृया

Add