रामेछापमा पहिलो पटक धार्मिक सभा

 शुक्रबार, अशोज १२, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक धार्मिक सभा आयोजना गरिएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा धर्मको विषयलाई लिएर विवाद उत्पन्न भइरहेको बेला हिन्दु धर्मावलम्बीहरुले रामेछाप जिल्लामा धार्मिक सभा आयोजना गरेको हो । राष्ट्रियता र हिन्दु धर्म रक्षा अभियान अन्तर्गत धार्मिक सभा आयोजना गरिएको विश्व हिन्दु महासङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले बताए ।

धर्म परिवर्तन गर्नु अर्काको दास बन्नु भएको भन्दै हिन्दु धर्म परिवर्तन गरी अन्य धर्म अङ्गालेकाहरुलाई आफ्नै घरमा फर्किन पनि अध्यक्ष अधिकारीले आग्रह गरे । हिन्दुहरुले सबै धर्मको सम्मान गर्ने बताउँदै हिन्दु धर्ममाथि हस्तक्षेप गरिए आपूmहरु हात बाँधेर नबस्ने अध्यक्ष अधिकारीको भनाइ छ । आफूहरु जाइनलाग्ने तर हिन्दु धर्ममाथि आइलागेमा आफूहरु मार्न र मर्न समेत तयार हुने बताए । अन्य धार्मावलम्बीहरुलाई आफ्नो थान्कोमा बस्न आग्रह गर्दै हिन्दु धर्मलाई नहेप्न चेतावनी समेत दिए ।

हिन्दु सबै धर्महरुको अभिभावक धर्म भएको र हिन्दु धर्म सहनशील भएकै कारण नेपाल धार्मिक हिंसाबाट जोगिएको उनको भनाइ छ । मुस्लिम धर्म मान्नेहरुले अल्लाह र क्रिस्चियनहरुले इसु ख्रिस्टबाहेक अरु देवता नमान्ने तर हिन्दुले ३३ कोटि देवताहरु मान्ने बताउँदै हिन्दु धर्मको अनुयायी र ओमकार परिवार भएकोमा गर्व गर्नुपर्ने बताए ।

हिन्दु दर्शनबाट नेपालमा लोकतन्त्र स्थापना भएको बताउँदै हिन्दु धर्म लोकतन्त्रको जननी भएको समेत अध्यक्ष अधिकारीले दाबी गरे । लोकतन्त्र बहुईश्वरी दर्शनबाट प्राप्त भएको हो, एकईश्वरको दर्शनले नेपालमा लोकतन्त्र ल्याएको होइन, उनले भने । हिन्दु धर्मले अन्य कुनै पनि धर्मलाई घृणा नगर्ने बताउँदै हिन्दु धर्म अन्य धर्मको समेत अभिभावक भएकाले हिन्दु धर्ममा उनीहरुको समेत दायित्व रहेको बताए ।

विश्व हिन्दु महासङ्घ नेपाल रामेछापद्वारा आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै संस्कृत विश्व विद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाले पुरोहितहरुले कर्मकाण्ड गर्दा मिलाउनु पर्ने वाचन, लय र विधिका बारेमा चर्चा गरेका थिए । चढाएको कुरा पितृले पाउने कि नपाउने भन्ने कुरा पुरोहितमा भरपर्ने उनको भनाइ छ । पुरोेहित ज्ञानी भएन भने जजमानलाई पनि धसाउँछ र आफू पनि धसिन्छ, कोइरालाले भने । कामको आधारमा जात जाति विभाजन गरिएको भन्दै छुवाछुत नगर्न पनि उनले आग्रह गरे । कुकुरले छोएको त खानुपर्छ भने हाम्रा दाजुभाइले छोएको किन नखाने, पानी किन नचल्ने, उनले भने यहाँ दमाई, सार्की, कामी कोको हुनुहन्छ, पकाएर दिनुस्, म खान्छु । हाम्रा पुर्खाहरुले गरेको गलत कामलाई हामीले मान्नु हुँदैन, उनले भने ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि शुक्रवार बिहान प्रभातफेरी निकालिएको थियो । ¥याली भँैसेश्वर चोक, खाँदवारी, मदनआश्रित चोक, बिपीचोक देवकोटाचोक हुँदै मन्थली बजार परिक्रमा गरी होटल एल्लो हाउसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा नेवाः खल, मगर सङ्घ, माझी समुदाय र ओमकार परिवार रामेछापले आफ्नो पहिचान सहितका जातीय झाँकी प्रस्तुत गरेका थिए ।

प्रतिकृया

Add