कृषि ज्ञान केन्द्र रामेछापको करिब पौने ६ करोड बजेट फिर्ता

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

रामेछाप- कृषि ज्ञान केन्द्र रामेछापबाट गत आर्थिक वर्षमा करिब पौने ६ करोड बजेट फ्रिज भएको छ । ‘आर्थिक वर्ष २०७९/०८० को लागि विभिन्न ४ शीर्षकमा १२ करोड ४८ लाख ६६ हजार रुपैयाँ बजेट आएको ५४ दशमलव २० प्रतिशत अर्थात ६ करोड ७६ लाख ७७ हजार ३ सय ७२ रुपैयाँ मात्रै खर्च भएको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुनले जानकारी दिए ।

पुनका अनुसार गत आर्थिक वर्षमा ४५ दशमलव ८० प्रतिशत अर्थात ५ करोड ७१ लाख ८८ हजार ६ सय २८ रुपैयाँ बजेट फ्रिज गएको हो । गत आर्थिक वर्षमा प्रादेशिक कार्यक्रम अन्तर्गत ८ करोड ८३ लाख १ हजार बजेट प्राप्त भएकोमा ५ करोड ३५ लाख ३६ हजार, सङ्घीय सरकार कृषि विभागमार्फत ससर्त अनुदान मार्फत प्राप्त ३ करोड ४९ लाख १० हजार बजेटमा ८८ लाख ३२ हजार रुपैयाँ मात्र बजेट खर्च भएको पुनले जानकारी दिए ।

कृषिप्रधान देश नेपालको अर्थतन्त्रमा सुधार आउनका लागि कृषि क्षेत्रको प्रवर्धन मुख्य आधार हो । कृषि आधुनिकीकरण र प्रविधिमैत्री बन्न नसक्दा कृषि पेसामा आश्रित हजारौँ युवाहरु वैदेशिक रोजगारी जान बाध्य छन् । स्थानीय, सङ्घ र प्रदेश सरकारले कृषि पेसालाई प्रविधिमैत्री र आधुनिकीकरण गरी बिदेसिएका युवाहरुलाई नेपालमै रोक्ने कार्यक्रम गर्नुपर्ने हो तर कृषि क्षेत्र विकास लागि आएको करोडौँ रुपैयाँ बजेट फ्रिज जानु रामेछाप जिल्लाको लागि दुर्भाग्य हो ।

कृषि ज्ञान केन्द्र रामेछापले रामेछाप र दोलखालाई कार्यक्षेत्र बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आर्थिक वर्षका लागि योजनाहरुको संशोधन तथा परिमार्जत गरी किसानका लागि आएको बजेट किसानकै लागि उपभयोग हुने गरी योजना निर्माण गरिएको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख पुनले बताए । कृषि ज्ञान केन्द्र रामेछापले चालू आर्थिक वर्षका लागि चालूतर्फ ९ करोड ६४ लाख र पूँजीगततर्फ ५ लाख ५० हजार गरी ९ करोड ६९ लाखको बजेट तथा कार्यक्रम बनाइएको उनले बताए ।

प्रतिकृया

Add