मन्थली साकोसको खुद नाफा ५८ लाख

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

 रामेछाप- रामेछाप जिल्लाकै ठुलो सहकारी संस्थाको रुपमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नामा कमाएको छ । शनिवार मन्थलीमा सम्पन्न मन्थली साकोसको २६ औँ वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष टीकाप्रसाद भट्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत् गर्दै सो कुरा जानकारी दिएका हुन् ।

सेयर पूँजी ९ करोड ५० लाख १९ हजार ९ सय तथा बचत ९१ करोड ७३ लाख ३९ हजार १ सय ४७ रुपैयाँ रहेको मन्थली साकोसले आर्थिक वर्ष ०७९/०८० मा ७१ करोड ३५ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ ऋण लगानी गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

मन्थली साकोसका सचिव हिमाल ढुङ्गेलले संस्थाको आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै हाल रहेको १५ हजार ८ सय २९ सेयर सदस्यमा बृद्धि गरी आगामी वर्ष २० हजार ८ सय २९ सेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताए ।
सचिव हिमाल ढुङ्गेलले संस्थाको जीवन सुरक्षा कोषअन्तर्गत मृतक सदस्यका परिवारलाई राहत स्वरूप उपलब्ध गराउँदै आएको २० हजार रुपैयाँ, दुर्घटना बिमाअन्तर्गत मृतक सदस्यका परिवारलाई बिमावापत दिँदै आएको एक लाख रुपैयाँ रकमलाई निरन्तरता दिने लगायतका ३० बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले मन्थली साकोसले भाखा नाघेका ऋण पूर्णरुपमा उठाउन नसक्दा एक्सेस ब्रान्ड प्राप्त गर्न ढिलाई भइरहेको बताए । एक्सेस ब्रान्ड प्राप्तिका लागि अन्य सूचकहरुमा भने संस्थाले उल्लेख्य प्रगति गरेको उनको भनाइ छ ।

मन्थली साकोसलाई एसियाली स्तरको गुणस्तरीय सहकारी संस्थाको रुपमा स्थापित गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा आवद्ध भई एक्सेस ब्रान्ड प्राप्तिका लागि निरन्तर काम भइरहेको पनि घिमिरले बताए ।
संस्थालाई वित्तीय रूपमा अझ सक्षम, भरपर्दो, दीगो, विश्वासिलो र सुरक्षित संस्थाका रूपमा विकास गरी सदस्यहरूको आर्थिक, सामाजिक विकास गर्ने संस्थाको लक्ष्य रहेको बताए । संस्थाको वार्षिक साधारणसभाको अवसरमा विभिन्न विधामा ८० जना सेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ ।

प्रतिकृया

Add