नेविसङ्घ कपको तयारी पूरा

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

रामेछाप– नेपाल विद्यार्थी सङ्घ रामेछापको आयोजनामा जिल्लाको सर्वाधिक नगद राशिको बागमती प्रदेश स्तरीय प्रथम नेविसङ्घ कप पुरुष भलिबल प्रतियोगिता तयारी पूरा भएको छ । नेविसङ्घले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ जिल्लामध्ये ९ जिल्लाका टिमले सहभागिताको लागि नामावली दिइसकेको आयोजनकले जानकारी दिएको छ । शनिवार अबेरसम्म टिम दर्ताका लागि समय रहेकोले थप टिमको सहभागिता हुन सक्ने जनाइएको छ ।

प्रतियोगिताको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले खेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको समापन मङ्गलवार हुने र उक्त कार्यक्रममा सङ्घीय सरकारका अर्थ मन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथिको रुपमा आउने बताइएको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा समेतको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २ लाख, द्वितीय हुनेलाई नगद १ लाख ५० हजार, तृतीय हुनेलाई नगद १ लाख र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका जिल्ला अध्यक्ष विनोद बुढाथोकीले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था रहेको उनले बताए ।

प्रतिकृया

Add