वरिष्ठ समाजसेवी तथा साहित्यकार घिमिरेको स्मृति सभा

 बुधबार, कार्तिक १५, २०८० | onlinenews
Share this
रामेछाप– दुर्गम रामेछापका उकाली ओराली गर्दै निमुखा र दिनदुखीहरुको अभावमा सहयोगी बनेर ३०ं वर्ष रमाएका वरिष्ठ समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको सम्झनामा मङ्गलबार रामेछापको मन्थलीमा १० औँ स्मृति दिवस मनाइएको छ ।
विकासले पछि परेका सीमान्तकृत वस्तीमा विकास लिएर पुगेका घिमिरे समाजसेवाको क्षेत्रमा नेपालकै अगुवा थिए । उनले नै गैरसरकारी संस्था महासंघ नेपालको स्थापना गराए र गैससलाई नागरिकहरुको दरिलो खम्बाको रुपमा विकास गराए ।
बेलायतको घरबास र जागिर छोडेर दुर्गम रामेछापेलीको सहयोगी बन्न समाजसेवामा लागेका घिमिरेले तामकोसी सेवा समितिले गरेको समाजसेवाको योगदानको मूल्याङ्कनबाट प्राप्त अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्नका लागि अमेरिका जाँदा मल्टिपल माइलोमा क्यान्सरको सङ्क्रमण भोग्नु परेको थियो । उक्त सङ्क्रमणबाट थलिएका घिमिरेको २०७० साल कार्तिक १४ गते उपचारकै क्रममा काठमाडोैँमा निधन भएको थियो ।
रामेछापको मन्थलीमा २०४० सालमा तामाकोसी सेवा समिति स्थापना गरेर कृषि, सिचाइँ, खानेपानी, स्वास्थ्य, शिक्षा, आयआर्जन र सहकारीका माध्यमबाट उनले दक्षिणी रामेछापका तत्कालीन ३० भन्दा बढी गाविसलाई मुख्य कार्यक्षेत्र बनाएर विकास बाँढेका थिए । कुनै बेला साविकको जिल्ला विकास समितिको बजेट एकातिर र तामाकोसी सेवा समितिको बजेट अर्कोतिर थियो, समितिका कार्यकारी अधिकृत गोविन्दप्रसाद घिमिरे भन्छन् – समुदायलाई आफ्नो आवश्यकता बोध गराएर उनीहरुकै सहभागितामा गरिने विकासको मोडेल घिमिरेले अघि सारेका थिए । त्यही भएर त त्यस बेलामा तामाकोसी सेवा समितिले निर्माण गरेका कैयौँ खानेपानी योजनाहरु अझै टुटफुट छैनन् , उपभोक्ताले पानी खाइरहेका छन् । २० औँ वर्षअघि निर्माण भएका खानेपानी र सिचाइँका योजनामा पानी निरन्तर बग्नु भनेको दिगो विकासको नमुना नै हो, जुन घिमिरेको दुरदृष्टिकै कारण भएको घिमिरेको भनाइ छ ।
तामाकोसी सेवा समितिले २०४२ सालमा सुरु गरेको स्वास्थ्य सेवा विस्तार हँुदै हाल १५ सैयाको आधुनिक अस्पतालको रुपमा सञ्चालन हँुदै आएको छ । तामाकोसी अस्पतालका अध्यक्ष समेत रहेका घिमिरे भन्छन् – दुर्गमका नागरिकलाई समयमा नै स्वास्थ्य उपचार गराउनका लागि सुरु गरिएको सानो क्लिनिक आज यो अवस्थामा छ । उनले अस्पतालमा वार्षिक करिब ३० हजार बिरामीले उपचार गराउने गरेको बताए ।
अस्पतालमा समय समयमा विशेषज्ञ शिविरमार्फत विभिन्न शल्यक्रिया समेत हुने गरेको छ । जिल्लामा झन्डै ५ सय हाराहारीमा महिलाहरुको पाठेघरको शल्यक्रिया गरिएको छ । कैयौँ उपचार र स्क्रिनिङ गरी जटिल रोग लाग्नबाट बचाइएको छ । अस्पतालका निर्देशक डा. सुमन कर्माचार्य भन्छन् – स्वर्गीय जगदीश घिमिरेको चेतनाकै कारण आज यो अवस्थामा पुग्न सकिएको हो ।
समाज सेवासँगै घिमिरेले दुर्गममा साहुसँग चर्को ब्याजदरमा ऋण काढेर व्यवहार चलाउने सर्वसाधारणलाई बचतको अभियानमा गाँसेका थिए । जिल्लामा झन्डै १ सय हाराहारीका समूहलाई सहकारीको रुपमा विकास गर्नमा घिमिरेको योगदान छ । घिमिरे संरक्षक भएको मन्थली बचत तथा ऋण सहकारी संस्था आज सबा अर्बको पूँजि परिचालन गर्ने भएको छ । जिल्लाका कैयौँ अन्य सहकारी समेत करोडौँको बचत तथा ऋण परिचालन गर्न सक्ने भएका छन् । धेरैले बचतबाट ऋण लिएर व्यवसाय गरी आयआर्जन गर्दै आर्थिक रुपान्तरण गरेका छन् ।
घिमिरे जिवित हँुदै स्थापना गरी जगदीश घिमिरे प्रतिष्ठान, तामाकोसी सेवा समिति, मन्थली बचत तथा ऋण सहकारी संस्था र तामाकोसी अस्पतालले आयोजना गरेको १० औँ स्मृति सभामा पनि विभिन्न व्यक्तिहरुले उनले समाजसेवामा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा घिमिरेको साहित्यको चर्चा पनि उत्तिकै बलियो ढङ्गले उठाइएको थियो । क्यान्सर रोगले थलिएर ओच्छ्यान परेका बेला घिमिरेले लेखेको अन्तरमनको यात्रा नामक पुस्तकले मदन पुरस्कार जितेको थियो । अन्तरमनको यात्रा नेपालमै दुर्लभ कृति हो, साहित्यकार समेत रहेका डा. सुमन कर्माचार्यले भने – त्यो लेबलको कृति नेपाली बजारमा अरु छैनन् । उनले अन्तरमनको यात्रामा ज्ञान, विज्ञान, साहित्य, पत्रकारिता, समाजसेवा, विचार, विश्लेषण, नीति सबै रहेको भन्दै उक्त विधा नौलो र अद्वितीय रहेको दाबी गरे । स्वर्गीय घिमिरे समाजमा देखिएका विकृति विसङ्गतिका विरुद्ध खरो रुपमा कलम चलाउने लेखक, साहित्यकार र पत्रकारको रुपमा चर्चित थिए । उनले कान्तिपुर पब्लिकेसनबाट प्रकाशित हुने नेपाल साप्ताहिकमा नियमित चेतना भया नामको स्तम्भ लामो समयसम्म लेखेर ख्याति कमाएका थिए ।
युवा अवस्थामा उनले लेखेको लिलाम र साविती उपन्यासबाट नेपाली साहित्यमा उदाएका स्वर्गीय जगदीश घिमिरे बिचको अवधि समाजसेवामा बिताएर आखिरीमा फेरि साहित्य क्षेत्रमा नै फर्केका थिए । उनले नेपाली साहित्यमा दर्जनौँ कृति दिएका छन् । नेपालको एकीकरणदेखि माओवादी द्वन्द्वसम्मको कुरालाई समेटेर लेखेको उपन्यास सकस समेत चर्चित कृतिमा मानिन्छ । तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले कविता वाचन गरेका थिए ।
Share this

प्रतिकृया

Add