खाँडादेवी विकास कोष घाटामा

 बुधबार, कार्तिक १५, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लामा एक ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दीर विकासका लागि गठन भएको खाँडादेवी विकास कोष घाटामा गएको छ ।
खाँडादेवी विकास कोषको वार्षिक कार्यक्रममा प्रस्तुत् गरिएको आर्थिक विवरणले खाँडादेवी विकास कोष घाटामा रहेको देखाएको छ । २०७० सालमा स्थापना भएको खाँडादेवी विकास कोषको हालसम्मको आम्दानी १ करोड ११ लाख १५ हजार रुपैँया र खर्च १ करोड २३ लाख ९४ हजार रुपैयाँ भएको विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिएका थिए ।

कोषाध्यक्ष बुढाथोकीले प्रस्तुत गरेको आर्थिक विवरण अनुसार खाँडादेवी विकास कोष १२ हजार ७९ हजार रुपैयाँ घाटामा रहेको छ । मन्दिरमा चढाइएको विभिन्न सुन चाँदीका गहना अभिलेख राखी मन्दिरको लकरमा हालिएको पनि कोषाध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।

खाँडादेवी विकास कोषले हरेक वर्ष बडा दसैँ लगत्तै वार्षिक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत यस वर्ष सोमवार वर्षिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले खाँडादेवी मन्दिर सुरक्षाको लागि प्रहरी चौकी स्थापना तथा मन्दिरसम्म सडक पिच गर्नका लागि सङ्घीय सरकारसँग पहल गर्ने बताए ।

खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तामाङले खाँडादेवीलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए । आफू गाउँपालिका अध्यक्ष हुँदा खाँडादेवीको विकासका लागि १० करोड ६५ लाख रुपैयाँको गुरुयोजना बनेको र सोही अनुसार पुरातत्व विभागको ३ करोड लागतमा मन्दिर बनेको भन्दै बाँकी काम पनि गुरु योजना अनुसार नै हुनुपर्ने बताए ।

खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले खाँडादेवी क्षेत्रको विकासका लागि स्थानीय सरकारले गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्धता जनाइन् । स्थानीय सरकारसँग ठुला काम गर्न बजेट नहुने भन्दै उपाध्यक्ष घिसिङले प्रदेश र केन्द्र सरकारलाई सहयोग गर्न अनुरोध समेत गरिन् ।

खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले तीतेपातीको घारीले ढाकेको खाँडादेवी परिसरलाई अहिलेको अवस्थामा ल्याएको भन्दै पूर्वाधार विकासको काम अझै धेरै बाँकी रहेको बताए । मन्दीरको पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे ।

सोही कार्यक्रमकाबिच क्यान्सर पीडित शोभा तामाङलाई कोषको तर्फबाट उपचारको लागि ५० हजार रुपैँया सहयोग गरिएको थियो । त्यस्तै खाँडादेवी मन्दिरको भेटी चोरी गरी भाग्नेलाई पक्राउ गर्ने प्रहरीहरूलाई समेत कोषको तर्फबाट पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

प्रतिकृया

Add