श्वेतगङ्गाको ज्यादती, स्थानीय त्रसित

 बिहिबार, कार्तिक १६, २०८० | onlinenews

 

रामेछाप– लिखु ३ जलविद्युत आयोजना (श्वेतगङ्गा हाइड्रोपावर) ले स्थानीयमाथि ज्यादती गर्दै आएको छ । हाइड्रोपावरको ज्यादतीबाट प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी नै नदिइ आफूखुसी ड्याम खोल्ने र थुन्ने गर्दा स्थानीय त्रासमा परेका छन् । पूर्व सूचनाविना आयोजनाले मङ्गलबार साँझ एक्कासी ड्याम खोल्दा नदी किनारमा जलाउँदै गरेको शवसमेत बगाएको छ ।

ओखलढुङ्गाको साविक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईको मङ्गलबार निधन भएपछि साँझ नदी किरानामा जलाइरहेको अवस्थामा एक्कासी नदीमा पानीले वारिपारि ढाकेर आएपछि मलामीहरुको भागाभाग भएको थियो ।
नदीले लास बगाएपछि अन्तिम संस्कार गर्न समेत पाएनन् । एकासी ठुलो नदी आयो हामी भागेर ज्यान बचाउन सफल भयौँ तर लास नदीले बगाएर गायब बनाएको मलामी आएका लालप्रसाद भट्टराईले भने । नदीमा धेरै तलसम्म पुगेर लास खोज्यौँ तर फेला परेन, उनले भने । यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्तो घटना कैयौँ पटक घटिसक्यो, उनले भने आयोजनाको लापरवाहीले नदीमा आउन डर मर्नु बनाएको छ ।

गाम्नाङटारका भट्टराईहरूको आर्यघाट लिखु गाउँपालिका–६ तीतोखानीस्थित डुँडे खोलाको दोभानमा छ । सोही घाटमा लास जलाइरहेको बेला मङ्गलवार आयोजनाले एक्कासी पानी छोडेको हो ।
श्वेतगङ्गाले यसअघि नियमानुसार छाड्नुपर्ने १० प्रतिशत पानीसमेत नछाडी हिउँदमा खोला सुकाउँदै आएको छ । हिउँदे बाली लगाउने बेलामा आयोजनाले छोड्नु पर्ने पानी समेत नछोडी नदी सुकाउँदा स्थानीयले हिउँदे बाली लगाउन पाउँदैनन भने जलचरहरू समेत लोप भइसकेका छन् ।

रामेछापको लिखु तामाकोसी र ओखलढुङ्को लिखु गाउँपालिकाको सीमानामा रहेको जलबिद्युत नियम अनुसार छोड्नुपर्ने पानी समेत नदीमा नछोडेपछि अघिल्लो हिउँदमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले अनुगमनका क्रममा नियम अनुसार नदीमा पानी नछोडेर कारबाही गर्ने चेतावनी समेत दिएकी थिइन् । तर, गाउँपालिका उपाध्यक्षको चेतावनीलाई आयोजनाले एक कानले सुनेर अर्को कानले उडाइदिए ।

आयोजनाका प्रमुख रबिन्द्र तिमिल्सिनाले आयोजनासँग स्थानीयको कुनै गुनासो नरहेको बताए । उनले भने जलाउँदै गरेको लास यदि ड्यामको पानी खोल्दा बगाएको भए हामीलाई जानकारी हुन पर्ने हो तर हामीलाई जानकारी छैन ।
समाजका अगुवा भनिनेहरु सबै आयोजनासँग मिलेकाले सर्वसाधारणले आयोजनाको विरोध गर्न सक्ने अवस्था नरहेको स्थानीयको गुनासो छ । आयोजनाको बिरोध गर्यो भने हामीलाई गाउँबाट उठिबास लगाउने अवस्था छ, एक स्थानीयले भने हाइड्रोपावरको ज्यादती सहेर बस्नु बाध्य छौँ । पानी सबै ड्याममा हुल्छ, खोलामा गाइवस्तुले समेत पानी खान पाउँदैनन्, उनले भने, सिचाइँ गर्ने पानी नभएर खेतीयोग्य जमिन समेत बाँझै बसेको छ । आयोजनाले कतिखेर पानी खोल्छ र सिचाइँ गरौँ भन्ने अवस्था छ, एक स्थानीयले गुनासो गरे ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बिना जानकारी जलविद्युत् आयोजनाले ड्याम बन्द गर्न र खोल्न नमिल्ने बताइन् । यदि बिना सूचना विद्युत गृहले ड्याम खोल्ने र बन्द गर्ने गरेको हो भने यस विषयमा आयोजनासँग कुरा गर्ने र आवश्यक परे कारबाहीको दायरामा समेत ल्याउने बताएकी छन् । जलविद्युत् आयोजनाले पानी कम्तिमा १० प्रतिशत जुनसुकै समयमा पनि छोड्नु पर्ने बताउँदै नछोडेको हो भने ओखलढुङ्गासँग सहकार्य गरेर कानुनी प्रक्रियामा अघि बढाउने पनि प्रजिअ निरौलाले बताइन् ।

प्रतिकृया

Add