कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

 बिहिबार, कार्तिक १६, २०८० | onlinenews

 

रामेछाप- यही कार्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ । पहिलो चरण्को भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी कार्तिक १७ र १८ गते खुवाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा गइ आफ्ना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहको अनुरोध छ ।
सो अभियान अन्तर्गत रामेछापको मन्थली नगरपालिकामा भिटामिन ‘ए’, बालभिटा र जुकाको औषधी गरी करिब ९ हजार बालबालिकालाई खुवाउने लक्ष्य रहेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक केशबराज फुँयालले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख फुँयालका अनुसार मन्थली नगरपालिकामा ४ हजार बालबालिकाले भिटामिन ‘ए’ खाने छन् भने ३ हजार ६ सय बालबालिकाले जुकाको औषधी र १ हजार तीन सय बालबालिकाहरुलाई बालभिटा खावाइने छ । ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइने फुँयालले जानकारी दिए । अघिल्ला वर्षहरुमा कार्तिकको २ र ३ गते खुवाउने गरिएकोमा यस वर्ष सो अवधिमा वडा दसैँ परेकाले १७ र १८ गते खुवाउन लागिएको फुँयालले बताए ।

मिटामिन तथा जुकाको औषधी खुवाउन मन्थली नगरपालिका अन्तर्गत कर्मचारी र स्वास्थ्यकर्मी गरी १ सय ४८ जना र स्वास्थ्य स्वयम्सेविकाहरु १ सय ६५ जना परिचालित हुने पनि स्वास्थ्य शाखा प्रमुख फुँयालले जानकारी दिए । नगरपालिकाको १४ वटै वडाको साविक तोकिएको केन्द्रमा स्वयम्सेविकाहरु पुगेर भिटामिन तथा जुकाको औषधी खुवाइने उनले बताए ।

प्रतिकृया

Add